कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि संसद बैठक आह्वान गरेर उपसभामुख सिर्जना दनुवार सुटुक्क काठमाडौं उडेकी छन्।
आज दिउँसो १ बजेका लागि तय भएको प्रदेश सभा बैठकबारे छलफल गर्न बिहान ८ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर उपसभामुख दनुवार आफू भने काठमाडौं उडेकी हुन्।
यति एयरलाइन्सको बिहान ८ बजेको फ्लाइटबाट उनी काठमाडौं प्रस्थान गरेको विराटनगर विमानस्थल स्रोतले जानकारी दिएको छ।
उनी झन्डावाल गाडी नचढी विराटनगर विमानस्थल पुगेकी हुन्। उनले विमानस्थलमा भीआइपी कक्ष समेत प्रयोग नगरेको विमानस्थलका एक अधिकारीले जानकारी दिए।
उपसभामुख दनुवारले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी हुन प्रदेश सभा परिसर पुगेका सांसदहरू अलमलमा परेका छन्। आफूहरू उपसभामुखलाई कुरेर बसिरहेको एक सांसदले बताए।
उपसभामुख काठमाडौं उडेपछि प्रदेश सभा बैठकबारे सांसदहरू अन्योलमा छन्।
सभामुख रहेका बाबुराम गौतमले यसअघि नै थापाको मुख्यमन्त्री पद जोगाउन राजीनामा गरेका थिए।
सभामुख र उपसभामुख दुबै नहुँदा प्रदेशसभा ज्येष्ठ सदस्यले चलाउने प्रावधान छ।
एमाले र राप्रपाका ज्येष्ठ सांसदहरुले आइतबारै सचिवालयमा बिदा मागेका छन्।
एमाले सांसदहरू रोहिदबहादुर कार्की (७१), मालतीकुमारी लिम्बू (६७), रामप्रसाद महतो (६७), तारादेवी ढकाल (६६), खड्गबहादुर बस्नेत (६७), किशोरचन्द्र दुलाल (६५) र ज्ञानेन्द्र सुवेदी (६४) ले बैठकमा अनुपस्थित हुने सूचना प्रदेशसभा सचिवालयमा दिएका थिए।
यस्तो अवस्थामा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि तय भएको प्रदेशसभा बैठक अनिश्चित बनेको छ।