१५ वर्षपछि स्वनिर्वासनबाट स्वदेश फर्किएका थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रलाई जेल चलान गरिएको छ।
समाचार संस्था रोयटर्सका अनुसार मंगलबार थाइल्यान्ड आइपुगेका सिनावात्रालाई सर्वोच्च अदालत लगिएको थियो। भ्रष्टाचार र पदीय शक्तिको दुरूपयोग गरेको अभियोगमा दोषी ठहर गरिएको थियो। अब उनी ८ वर्ष जेल बस्नुपर्ने भएको छ।
सन् २००६ मा थाई सैनिकले कू गरेर प्रधानमन्त्री सिनावात्राको सरकारलाई हटाएको थियो। त्यसपछि सेनाले उनलाई भ्रष्टाचार र थाई राजसंस्थाको अपमान गरेको आरोपमा मुद्दा चलाएको थियो। अदालतबाट दोषी ठहर हुनुअघि नै सिनावात्रा सन् २००८ मा देश छोडेर स्वनिर्वासनमा गएका थिए।
सिनावात्रा परिवारले स्थापना गरेको दल फेउ थाई पार्टी थाइल्यान्डमा लोकप्रिय छ। गत मेमा भएको चुनाव उक्त पार्टी १४१ सिटमा जित हात पारेर तल्लो सदनमा दोस्रो ठूलो दल बनेको थियो।
सन् २०११ को चुनावपछि फेऊ थाई पार्टीले बहुमत ल्याएपछि उनकी बहिनी यिनलक सिनावात्रा प्रधानमन्त्री बनेकी थिइन्।
सन् २०१४ थाई सेनाले फेरि कू गरेर सत्ता हत्याएको थियो।