प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले बिहीबार सुर्खेतमा समाजवादी मोर्चाको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै भने- भ्रष्टाचारविरोधी अभियान चलाउँदा सरकार टिक्छ कि टिक्दैन भन्ने चिन्ता छैन!
नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले पछिल्ला भाषणहरूमा अक्सर यही कुरा दोहोर्याएका छन्।
भ्रष्टाचारविरूद्ध र सुशासनका पक्षमा काम गर्दै जाँदा सरकार ढल्न पनि सक्ने तर आफूले सुशासनमा सम्झौता नगर्ने उनले बताउँदै आएका छन्।
बिहीबारै उनकै पार्टीका नेता, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि सरकारले सुरू गरेको सुशासनको अभियान असफल बनाउने प्रयत्न भइरहेको बताए।
सुर्खेतमा प्रधानमन्त्री प्रचण्ड र काठमाडौंमा गृहमन्त्री श्रेष्ठले एउटै लयको अभिव्यक्ति दिए पनि उनीहरूलाई असफल बनाउन खोज्नेहरू को हुन् भन्नेबारे केही बोलेनन्।
उनीहरूले सार्वजनिक रूपमा नभने पनि पछिल्लो समय केही घटनाले सरकार र प्रधानमन्त्री प्रचण्ड दबाबमा परेको खुलासा भइसकेको छ। सुशासनमा सम्झौता नगर्ने बताएका प्रधानमन्त्रीले दबाबमा परेर नक्कली भुटानी शरणार्थी प्रकरणबारे अनुसन्धानको नेतृत्व गरिरहेका प्रहरी अधिकृतहरू सरुवा गरेका छन्।
हिरासतमा रहेका नक्कली भुटानी शरणार्थी प्रकरणका दुई प्रमुख योजनाकार केशव दुलाल र सानु भण्डारीमाथि फेरि बयान लिने र अनुसन्धान सुरू हुने भएपछि सत्ता गठबन्धनको सबभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यस प्रकरणमा काम गरिरहेका प्रमुख प्रहरी अधिकृतहरू फेरबदल गर्न प्रधानमन्त्री प्रचण्डलाई दबाब दिएका थिए।
देउवाले काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी श्याम ज्ञवाली र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीलाई त्यहाँबाट सरुवा गराउन दबाब दिएका थिए। देउवा पत्नी तथा सांसद आरजु राणाले पनि प्रचण्डलाई भेटेर यो प्रकरणमा फेरि अनुसन्धान अघि बढाउन लागेकोमा असन्तोष पोखेकी थिइन्।
त्यसको केही दिनपछि एआइजी ज्ञवाली र एसएसपी केसीको सरुवा भएको छ।
सभापति देउवा र केन्द्रीय सदस्य आरजु राणाको पटक पटकको दबाबमै प्रधानमन्त्री प्रचण्डले 'ब्याक डेट' राखेर गृहमन्त्री श्रेष्ठलाई समेत जानकारी नदिई एआइजी ज्ञवालीको सरुवा गरेको खुलेको छ।
साउन ३० गते बसेको मन्त्रिपरिषद बैठकले निर्णय गरेको भन्दै एआइजी ज्ञवालीको सरुवा गरिएको थियो। तर, त्यसदिन मन्त्रिपरिषद् बैठकमा प्रहरी सरुवासम्बन्धी प्रस्ताव जाने त परको कुरा, सामान्य छलफलसमेत नभएको प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले बताएका छन्।
'३० गतेको मन्त्रिपरिषद बैठकमा प्रहरी सरुवासम्बन्धी छलफल भएकै होइन। प्रधानमन्त्रीले पछि प्रहरी प्रमुख बसन्त कुँवर र मुख्यसचिव बैकुण्ठ अर्याललाई प्रहरी सरुवाको प्रस्ताव तयार गर्न लगाएर ब्याक डेटको निर्णय गरेर सरुवा पत्र दिनुभएको हो,' ती अधिकारीले भने। मन्त्रिपरिषद्का केही सदस्यले पनि त्यो दिन प्रहरी एआइजीहरूको सरुवाबारे कुनै छलफल नभएको पुष्टी गरे।
भदौ १ गते गृहमन्त्री श्रेष्ठ गोरखामा भएका बेला प्रधानमन्त्री प्रचण्डले एआइजीको सरुवा गराएका हुन्। निर्णय भइसकेपछि मात्र सरुवाको खबर गृहमन्त्री श्रेष्ठलाई थाहा भएको गृहमन्त्रीनिकट स्रोतले जनाएको छ। यो खबर पाउँदा पनि श्रेष्ठ गोरखामै भएको स्रोतले बतायो।
त्यसको तीन दिनपछि एसएसपी केसीको पनि प्रहरी मुख्यालयमा काज सरुवा भएको थियो।
'पहिले पनि नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गरिरहेका प्रहरी अधिकृतहरूलाई हटाउनुपर्छ भन्ने उहाँहरूको माग थियो। यसपालि फेरि अनुसन्धान सुरू भएपछि, त्यो आरजु राणासम्मै पुग्छ भनेर होला, एकदमै दबाब दिनुभयो। गठबन्धन रहने कि प्रहरी अधिकृतहरू सरुवा गर्ने भन्ने विकल्पका बीचमा प्रहरी अधिकृतहरू सरुवा भए,' बालुवाटार स्रोतले भन्यो।
प्रधानमन्त्रीनिकट स्रोतका अनुसार दुलाल र भण्डारीमाथि फेरि अनुसन्धान हुने भनिएपछि साउनको अन्तिम साता देउवा दम्पती प्रधानमन्त्री प्रचण्डलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार गएका थिए। बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, प्रधानमन्त्री पुत्री तथा स्वकीय सचिव गंगा दाहाल र देउवा दम्पतीबीच निकै लामो संवाद भएको थियो। उक्त संवादमा आरजुले आफूलाई प्रहरीले जुनसुकै बेला पक्रिन सक्ने भन्दै अब नेपालमा बस्न नसक्ने बताएकी थिइन्।
आरजु एकदमै भावुक भएर प्रधानमन्त्री प्रचण्ड समक्ष प्रस्तुत भएकी स्रोतले बतायो। उनले देउवाको उमेर पनि भएको र पार्टीमा जिम्मेवारी पनि भएकाले नेपालमै बसे पनि आफू भने अब नेपालमा बस्न सक्ने अवस्था नभएको बताएकी थिइन्। देउवाले पनि आफूले बारम्बार भन्दा पनि ज्ञवाली र केसीलाई नहटाएको भन्दै गठबन्धन टुट्ने धम्की प्रधानमन्त्रीलाई दिएका थिए।
'त्यस दिन चार जनाबीच निकै लामो छलफल भएको थियो। ज्ञवाली र केसीलाई हटाउने कि, गृहमन्त्री श्रेष्ठलाई नै हटाउने या गठबन्धन नै टुट्ने भन्नेसम्मको छलफल भयो। अनि ज्ञवाली र केसीलाई हटाएर, दीपक थापालाई ल्याउने विषयमा सहमति भयो,' प्रधानमन्त्री निकट स्रोतले सेतोपाटीसँग भन्यो, 'नभए त यो सरकार त्यही बेला ढलपल भइसकेको थियो।'
त्यो भेटको भोलिपल्ट प्रधानमन्त्री प्रचण्डले रक्षामन्त्री पूर्णबहादुर खड्का र गृहमन्त्री श्रेष्ठलाई बोलाएर अघिल्लो दिन देउवा दम्पतीसँग भएको छलफलबारे बिफ्रिङ गरेका थिए।
प्रचण्डको कुरामा रक्षामन्त्री खड्का सहमत भए पनि गृहमन्त्री श्रेष्ठले काम गरिरहेका अधिकृतको सरुवा गर्दा प्रहरीको मनोबल खस्किने भन्दै सरुवाबारे पुनर्विचार गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको स्रोत बताउँछ।
त्यसपछि गृहमन्त्री श्रेष्ठको देउवा दम्पतीसँग पनि छुट्टाछुट्टै भेट भएको थियो। त्यो भेटमा पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गरिरहेका प्रहरी अधिकृतको सरुवालाई नै मुख्य एजेन्डा बनाइएको थियो।
प्रहरी स्रोतका अनुसार आरजु राणाले प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई पनि बारम्बार फोन गरेर उनीहरूलाई हटाउन दबाब दिइरहेकी थिइन्।
गठबन्धन नै धरमरमा परेपछि र गृहमन्त्री श्रेष्ठको पनि असहमति भएपछि प्रधानमन्त्री प्रचण्डलाई मुश्किल परेको थियो। त्यसैले उनले श्रेष्ठ काठमाडौंमा नभएका बेलामा 'ब्याक डेट' (अगाडिकै मिति) मा मन्त्रिपरिषदले निर्णय गरेको माइन्युट बनाएर एआइजी ज्ञवालीको सरुवा गराएका हुन्।
उनको मात्र सरुवा भएको नदेखियोस् भनेर सरकारले अरू एआइजीहरूको पनि सरुवा गरेको थियो। ज्ञवालीले चार महिनाअघि मात्र काठमाडौं उपत्यकाको प्रहरी प्रमुखका रूपमा जिम्मेवारी पाएका थिए। जिम्मेवारी पाएलगत्तै उनले जारी रहेको भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा सक्रियता देखाएका थिए। पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गर्ने निर्णय उनैले गरेका थिए।
लामो समयसम्म काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा थन्किएको फाइल खोलेर एसएसपी मनोज केसीले भुटानी शरणार्थी प्रकरणका मुख्य योजनाकारहरू केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मालाई पक्रिएर अदालतमा उपस्थित गराएका थिए। उनीहरू पक्राउ परेपछि नै यो प्रकरणमा छानबिन अघि बढेर पूर्वगृहमन्त्री खाणसहित ‘हाइ प्रोफाइल’ राजनीतिज्ञ र कर्मचारीहरू पक्राउ परेका हुन्। उनीहरू अहिले न्यायिक हिरासतमा छन् र अदालतमा मुद्दा जारी छ।
भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा मुख्य भूमिका खेलेका ज्ञवाली र केसीलाई सरुवा गरेपछि प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच फेरि हार्दिकता बढेको बालुवाटार स्रोतको भनाइ छ। सरकार बीचमै ढल्छ कि भन्ने भयबाट पनि अहिले प्रधानमन्त्री प्रचण्ड मुक्त हुँदै गएको उनी निकटस्थहरू बताउँछन्।