रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आउने अक्टोबरमा चीनको भ्रमण गर्ने भएका छन्।
पुटिनले चिनियाँ राष्ट्रपति सी चिनफिङले दिएको भ्रमण निम्तो आफूले स्वीकारेको बताएको रूसी सञ्चारमाध्यमले जनाएका छन्।
अहिले चिनियाँ विदेश मन्त्री वाङ यी मस्कोमा छन्। यीसँगको भेटमा पुटिनले राष्ट्रपति सीको भ्रमण निम्तो स्वीकारेको बताएका हुन्।
छिमेकी युक्रेनमाथि आक्रमण गरेका पुटिनले त्यसयता बिरलै विदेश भ्रमण गरेका छन्। गत वर्ष उनी इरान भ्रमणमा गएका थिए।
पुटिनविरूद्ध अहिले अन्तर्राष्ट्रिय अपराध अदालत (आइसिसी)ले पक्राउ पुर्जी जारी गरेको छ। पक्राउ पर्ने डरले पुटिन दक्षिण अफ्रिकामा भएको भारत, चीन, दक्षिण अफ्रिका, रूस र ब्राजिल सम्मिलित ब्रिक्सको शिखर सम्मेलन गएका थिएनन्।
हालै भारतमा भएको जी २० को शिखर सम्मेलन पनि पुटिन सहभागी भएनन्।
रूसले युक्रेनमाथि आक्रमण गरेपछि चिनियाँ राष्ट्रपति सीले गत जेठमा पहिलो पटक रूसको भ्रमण गरेका थिए।