मन्त्री दुर्घटनामा परी ज्यान गएको विषयमा सुदूरपश्चिम प्रदेश सरकारले अहिलेसम्म छानबिन गर्न सकेको छैन। स्वर्गीय पृथ्वीबहादुुर सिंह र उनका परिवारका दुई जना सदस्यको ज्यान जाने गरी भएको गाडी दुर्घटनाबारे प्रदेश सरकारले अहिलेसम्म छानबिन प्रतिवेदन सार्वजनिक गर्न नसकेको हो।
२०८० साल असार ५ गते डडेल्धुराबाट बझाङ जाने क्रममा दुर्घटनामा परेर तत्कालीन समयका सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री सिंह घाइते भएका थिए।
उनलाई ढिलो गरी हेलिकप्टरमा उपचारको लागि बाँकेस्थित मेडिकल कलेज कोहलपुर लगिएकोमा त्यही मृत्यु भएको थियो।
२०८० असार ७ गते बसेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद्को १६१ औं बैठकले दुर्घटनाका सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन ७ सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गंगाबहादुर खरेलको संयोजकत्वमा गठन भएको समितिले के छानबिन गर्यो भन्ने सार्वजनिक गरिएको छैन।
सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको कार के कारणले दुर्घटना भएको थियो भन्नेबारे छानबिन गर्न समिति पनि बनेको थियो।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता उपसचिव नवराज ओझाले समितिले छानबिन प्रतिवेदन मुख्यमन्त्री कमलबहादुर शाहलाई हस्तान्तरण गरिसकेको जानकारी दिए। तर, मुख्यमन्त्री शाहले प्रतिवेदन सार्वजनिक गरेका छैनन्।
मन्त्रिपरिषद्ले सो प्रतिवेदनबारे छलफल पनि गरेको छैन। दुर्घटनामा घाइते भएका तत्कालीन मन्त्री सिंहका पिएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक धर्मराज जोशी उपचारका क्रममा छन्।
उनीहरूसँग पनि छानबिन समितिले सोधपुछ गरेको बुझिएको छ। दुर्घटनाको वास्तविक कारण भने खुलाइएको छैन।