इसराइलले हमासका प्रमुख कमाण्डर मध्येका एक जना मारिएको दाबी गरेको छ।
गजाको जबालिया शरणार्थी शिविरमा हवाई आक्रमणमा हमासका कमाण्डर इब्राहिम बियारी मारिएको आइडिएफ (इसराइली डिफेन्स फोर्स)ले दाबी गरेको हो।
बियारीसँगै दर्जनौं हमास लडाकुहरू मारिएको आइडिएफका प्रवक्ता लेफ्टिनेन्ट कर्नल जोनाथन कोरनिकसलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ।
हमास लडाकुहरू शरणार्थी शिविर क्षेत्रका घरमा बसेर इसराइलविरूद्ध गतिविधि गरेको आइडिएफको दाबी छ।
‘हमासलक्षित आक्रमणमा धेरै गैरलडाकु पनि हताहती भएका समाचारहरू आएका छन्, हामी त्यसबारेमा पनि बुझिरहेका छौं,’ प्रवक्ता कोरनिकसले रोयटर्ससँग भनेका छन्।
आइडिएफको दाबीलाई हमासले भने इन्कार गरेको छ। उसले जबालिया शरणार्थी शिविरमा हमासका कुनैपनि लडाकु नरहेको दाबी गरेको छ।
हमासका प्रवक्ता हजिम क्वास्सेमले शरणार्थी शिविरमा आक्रमण गर्दा ५० नागरिक मारिएको बताएका छन्।
आइडिएफले इब्राहिम बियारीलाई नै लक्षित गरी जबालियामा आक्रमण गरेको बताउँदै आएको छ।
उसका अनुसार बियारी हमासको जबालिया बटालियन कमाण्डर हुन्।
अक्टोबर ७ (असोज २० गते) इसराइलमाथि आकाश र जमिनबाट आक्रमण गर्ने योजनामा बियारीकै मुख्य भूमिका रहेको आइडिएफको दाबी छ।
गाजाबाट हमास लडाकु सखाप पार्ने योजनासहित इसराइलले त्यहाँ आकाश र जमिनबाट आक्रमण गरिरहेको छ।