पछिल्लो तीन वर्षमा पहिलोपटक सार्वजनिक कार्यक्रममा निस्किएका नागरिक आन्दोलनका अगुवा देवेन्द्रराज पाण्डेले केही दिनअघि कुराकानी सिलसिलामा भने, ‘पुष्पकमल दाहाल, शेरबहादुर देउवा र केपी शर्मा ओली भएको ठाउँमा रवि लामिछाने पनि उभिन पुगेको देखेर म निराश भएँ।’
मैले पाण्डेलाई सोधेँ, ‘उनीहरूसँग लामिछानेलाई देखेर तपाईं किन निराश हुनुभएको नि?’
पाण्डेले जवाफ दिए, ‘अब लामिछाने पनि उनीहरूकै कित्तामा उभिएपछि के नयाँ, के वैकल्पिक?’
पाण्डेले यस्तो टिप्पणी गरेकै दिन कात्तिक १६ गते प्रतिनिधिसभामा उभिएर स्वयं लामिछानेले भनेका थिए, ‘मैले सांसद भएर एक वर्षमा गरेको कामभन्दा धेरै त सञ्चारकर्मीका रूपमा गरेको थिएँ।’
‘छ महिना समय र करिब ६ करोड खर्चेर यो सदनले एउटा कानुन पास गर्यो सभामुख महोदय,’ लामिछानेले भने, ‘योभन्दा धेरै प्रभावकारी काम त म टेलिभिजन सञ्चारकर्मी हुँदा गर्थें। नागरिकका समस्या सुल्झाउन योभन्दा धेरै प्रभावकारी काम गरेको मलाई सम्झना आउँछ।’
राजनीतिमा आएको करिब डेढ वर्ष र सांसद भएको करिब एक वर्षमा लामिछानेबाट आएको यो अभिव्यक्तिमा निराशा झल्किन्छ।
अहिलेका सबै नेता असफल भएको भन्दै चुट्की भरमा राजनीतिको मैलो पखाल्छौं र नागरिकको जीवनमा कायापलट गर्छौं भनेर राजनीतिमा हामफालेका लामिछानेले यो दलदल सफा गर्न जुन आकारको उनको दल छ त्यसबाट सम्भव छैन भन्ने बल्ल बुझेका देखिन्छन्।
उनले बुझेको र आत्मसमीक्षा गरेको अर्को पनि कुरा छ। त्यो हो, उनी आफैंले सुरू गरेको राजनीतिक शैली सही र दीर्घकालीन थिएन।
‘अराजकताले राजनीति चल्दैन भनेर मैले बुझेको छु। कहीँ न कहीँ यसमा योगदान गरेँ कि भन्ने मलाई महसुस नभएको होइन,’ लामिछानेले सेतोपाटीसँगको कुराकानीमा भने, ‘विषयवस्तु उठानमा जुन एग्रेसन र प्रिजेन्टेसनमा जुन एग्रेसन थियो, त्यसले अराजकताका लागि केही न केही योगदान गरेँ कि भन्ने महसुस हुन्छ। महसुस हुनुको अर्थ जिम्मेवारीबोध हुनु पनि हो।’
गत वर्ष पुस ११ गते पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको यही सरकारमा उपप्रधान तथा गृहमन्त्री बनेका लामिछानेले माघ १३ गते राजीनामा दिएका थिए। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछानेले कायम नरहेको नागरिकता प्रयोग गरी प्रतिनिधिसभा चुनाव लडेको भन्दै उनको सांसद पद बदर गरिदिएपछि उनी पद छाड्न बाध्य भएका थिए।
माघ २२ गते लामिछानेको दल रास्वपाले सरकारमा रहेका आफ्ना अरू मन्त्रीहरू पनि फिर्ता बोलाउने निर्णय गरेसँगै रास्वपाको ४० दिने सत्तायात्रा टुंगिएको थियो। त्यस बेला सरकारमा जानु र बाहिरिनु दुवै समयको खेला भएको लामिछानेको भनाइ छ।
त्यसै दिनको पत्रकार सम्मेलनमा लामिछानेले विभिन्न मिडिया तथा पत्रकारहरूविरूद्ध अशोभनीय र आपत्तिजनक अभिव्यक्ति दिएका थिए।
नागरिकता प्रकरणमा पत्रकारहरूले समाचार लेखेर नै आफू सत्ताबाट बाहिरिनुपरेको हो भन्ने लामिछानेको बुझाइ थियो, सायद। उनको अभिव्यक्तिले सामाजिक सञ्जालको अराजकतालाई बढावा दियो, लामिछाने र नेपाली मूलधारका मिडियाहरूबीच तीतोपना पैदा गर्यो।
लामिछानेलाई अहिले लाग्छ, आफूले त्यतिखेर मिडियामाथि उठाएको प्रश्न सही भए पनि अभिव्यक्ति शैली र चयन गरिएका कतिपय शब्द उचित थिएनन्।
‘मलाई लाग्छ अभिव्यक्त गर्न जानिएन होला, कतिपय तौरतरिका पनि पोलिटिकल थिएन कि!’ उनले भने।
उनले कुराकानीकै सिलसिलामा यो पनि भने, ‘प्रश्नभन्दा पर त को छ र!’
लामिछानेले माघ १५ गते नयाँ नागरिकता लिएपछि आफैंले पहिलो चुनाव लडेको चितवन-२ बाट उपचुनावमा प्रतिस्पर्धा गरेर विजयी भए। राजनीति सुरू गरेको छोटो समयमै राजनीतिक जीवनका आरोह-अवरोह र उतारचढाव उनले खुब व्यहोरे। तर उनको उतारचढावका धेरै कारण उनकै आन्तरिक जीवनसित सम्बन्धित छन्।
ती उतारचढावको प्रतिक्रियास्वरूप लामिछानेले दिएका अभिव्यक्तिले समाजलाई विभाजित गर्न थोरबहुत भूमिका खेलेको उनी स्वयं स्वीकार गर्छन्।
गत वैशाखमा भएको उपनिर्वाचन आसपास चितवनकी एक युवतीले 'लामिछानेलाई पनि देखिसकियो, उनले अब केही गर्न नसक्ने' प्रतिक्रिया दिएकी थिइन्। त्यसपछि रास्वपाका कार्यकर्ता र लामिछानेका शुभचिन्तकले सार्वजनिक ठाउँ र सामाजिक सञ्जालहरूमा उनको खुब आलोचना गरेका थिए।
यसरी लामिछानेलाई कतै कसैले केही भन्न हुँदैन भन्ने भाष्य बन्दै गइरहेका बेला उनले ती युवतीलाई केही नभन्न सामाजिक सञ्जालमार्फत् नै आह्वान गरेका थिए। पछि उनलाई भेटेर माफी पनि मागे।
‘हिजो जुन जिम्मेवारीमा थिएँ, आज त्योभन्दा गह्रुंगो जिम्मेवारीमा आएको छु। अराजकतापूर्ण ढंगले सामाजिक सञ्जालमा प्रस्तुत नहुन मैले बारम्बार अपिल गर्दै आएको छु,’ लामिछानेले भने, ‘चितवनमा एक जना बहिनीले मेरो विरोध गर्दा उनलाई ट्रोल गरियो, मैले उनीसँग घुडा टेकेर माफी नै मागेको थिएँ। यस्ता धेरै घटना छन्, जसमा मैले गल्ती भयो कि भनेर महसुस गरेको छु। यसरी त समाज अघि जान सक्दैन नि!’
उनले अगाडि भने, ‘हिजो म पनि समाजको पेसाकर्मी थिएँ नि। यहाँको बेथिति, विसंगतिले अरूलाई पोलेजस्तै मलाई पनि पोल्थ्यो, पीडाको अभिव्यक्ति आउँथ्यो। तर अब म त प्रश्न गर्ने भन्दा पनि समाधान दिने हेतुले बाचा गरेर राजनीतिमा आएको हुँ। अब त्यसलाई परिपक्व पार्ने पनि मेरै जिम्मेवारी हुन्छ जस्तो लाग्छ।’
लामिछानेको मुखबाट आफ्ना अभिव्यक्तिले निम्त्याएको अराजकतामा पश्चाताप सुनेपछि मलाई सुन्न मन लागेको अर्को कुरा थियो, रास्वपाको राजनीतिक मार्गचित्र।
थरिथरि पृष्ठभूमिबाट आएका रास्वपाका नेताहरू आफूहरूको राजनीतिक लाइन के हो भन्नेमा कताकता अलमलजस्तै देखिन्छन्।
पार्टीको आधिकारिक राजनीतिक दस्तावेज अहिलेसम्म ल्याइनसकेको यो पार्टीभित्र अलमल हुनु नौलो होइन। तैपनि पछिल्लो समय रवि यही राजनीतिक प्रणालीभित्रबाट परिवर्तन खोज्नुपर्छ भन्नेमा स्पष्ट भएझैं देखिन्छन्।
उनलाई अहिलेको संविधानले तोकेको राजनीतिक व्यवस्थाप्रति कुनै गुनासो छैन पनि। तर यही राजनीतिक प्रणालीका आडमा भइरहेका भीमकाय गल्तीहरूबाट आममानिसजस्तै लामिछाने पनि असन्तुष्ट छन्।
‘हाम्रो निराशा राजनीतिक प्रणालीसँग देखिन्छ,’ लामिछानेले भने, ‘तर राजनीतिक प्रणाली अहिलेसम्म बिग्रिएको छैन। नेताहरू सच्चिएलान् जस्तो पनि लाग्दैन।’
राजनीतिक पद्धतिलाई सही ढंगले सदुपयोग गर्ने नेता पाउन नसक्नुलाई मुलुककै विडम्बनाका रूपमा लिनुपर्ने लामिछाने बताउँछन्।
‘देशको आयु र मान्छेको आयुमा धेरै फरक छ। हामी आफ्नो आयुसँग तुलना गर्छौं, पाँच वर्ष हाइस्कुल पढेको मान्छे अहिले कलेज वा युनिभर्सिटी गएको हुनाले हामीलाई लामो लाग्छ मात्रै,’ लामिछानेले भने, ‘देश र समाजको आयु त्यस्तो हुँदैन, समाजको चेतना विकास बिस्तारै हुने रहेछ।’
लामिछानेको यो भनाइपछि म तपाईंहरूलाई लामिछाने उदयको पृष्ठभूमितिर फर्काउँछु।
चुनाव बेला जता पुग्दा पनि काँधमा राष्ट्रिय झन्डा बोक्न नछाड्ने रविलाई त्यस बेला काँधमा झन्डा बोक्नु र जिम्मेवारी बोक्नु फरक कुरा हुन् भन्ने हेक्का नै थिएन। छिनभरमै सारा परिवर्तन गरिदिने भन्दै चर्को आवाजमा गर्ने उनको महात्वाकांक्षी भाषणले आकाश छुन्थ्यो।
चुनावअघि कञ्चनपुरमा भएको एक सभामा लामिछानेले भनेका थिए, 'म जहाँ रहन्छु, अन्याय, बेथितिविरूद्ध बोलिरहन्छु। नागरिकका समस्या थुप्रै छन्, ती समस्या समाधान गर्छु। मेरो नेतृत्वमा सरकार बने २४ घन्टाभित्रै बेथितिको भ्वाङ पुर्छु।'
अहिलेको समीक्षा सुनेर चुनावअघिका भाषण र आश्वासन सम्झिएपछि मैले लामिछानेलाई सोधेँ, ‘उसो भए चुट्की भरमा सब गर्छु भनेर किन आएको त?’
उनले आफू पनि यही समाज र यहीँ विकसित संस्कारको हिस्सा हुँ भनेर बल्ल बुझेको जवाफ दिए।
‘हामी आएर छुट्टै समुदाय बनाउने होइन, हामी पनि यही प्रक्रियाका अंश हौं, हामी पनि यही समाजका अंग हौं,’ उनले भने।
लामिछानेका अनुसार, उनी आजकल परिपक्व बन्दै गएका छन्।
‘जुन कुराले हामीलाई यहाँ ल्यायो, त्यही कुराले त्यहाँ लान्छ भन्नेमा मलाई विश्वास छैन। आधार त होला तर यसपछाडिको बाटो त्यही हुन सक्दैन,’ लामिछानेले भने, ‘मैले सञ्चारकर्मीका रूपमा बुझेको र अरूले तत् तत् पेसामा रहेर बुझेको समाजलाई राजनीतिक आँखाले बुझ्न र राजनीतिक डालोमा ल्याउन अलिकति समय स्वाभाविक रूपमा लाग्छ। हामीलाई अझ बढी लाग्छ। रास्वपा नन-पोलिटिसियनहरूको पोलिटिकल पार्टी हो, जसले पोलिटिकल हुनैपर्छ। हाम्रा समस्या बुझ्नुभयो नि?’
समस्या छ भन्ने बुझेपछि समाधान पनि पत्ता लाग्छ। सायद लामिछानेले आफूहरूको राजनीतिक मार्ग कोरिसकेका छन् र त्यसलाई दस्तावेजीकरण गर्न उनको पार्टीको महाधिवेशन छिट्टै हुँदैछ। त्यसअघि नेपाली राजनीतिक इतिहासका दस्तावेजहरू पढिरहेको उनी बताउँछन्।
‘म बिपीलाई पढिरहेको छु। सत्ता कसरी सिफ्ट भएको छ भनेर थाहा पाउन इतिहासका किताबहरू पढिरहेको छु,’ लामिछानेले भने, ‘मैले पूर्वअर्थमन्त्रीहरू रामशरण महतको पहिलो बजेट, युवराज खतिवडाको पनि पहिलो बजेट, बाबुराम भट्टराई र भरतमोहन अधिकारीको बजेट पढिरहेको छु।’