नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको अभियोगमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई थुनामा पठाएर मुद्दा सुनुवाइ अघि बढाउने कि धरौटीमा छाड्ने भन्नेमा उच्च अदालत पाटनका दुई न्यायाधीशबीच राय बाझिएको छ।
न्यायाधीश जनक पाण्डेले नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका खाणलाई ३० लाख रुपैयाँ धरौटीमा छोड्नुपर्ने आदेश गरेका छन् भने अर्का न्यायाधीश प्रकाश खरेलले खाणलाई थुनामै पठाउनुपर्ने आदेश दिएपछि राय बाझिएको हो।
३० लाख धरौटी मागेर खाणलाई छोड्नुपर्ने आदेश दिँदा न्यायाधीश पाण्डेले पाँच वटा आधार लिएका छन्।
पहिलो आधार, पीडितहरूले खाणलाई पैसा दिएको भनेर जाहेरी र बयानमा उल्लेख गरेका छैनन्।
दोस्रो आधार, खाणले प्रहरी र अदालत दुबै ठाउँको बयान गर्दा अभियोग इन्कार गरेका छन्।
तेस्रो आधार, शिविरमा बाँकी रहेका भुटानी शरणार्थीहरूको अन्तिम रेकर्ड राख्न बनाइएको कार्यदल (बालकृष्ण पन्थी कार्यदल) को प्रतिवेदनबारे खाणले चासो देखाएको भनेर कसैले बयान गरेका छैनन्।
चौथो, आङटावा शेर्पाले केशव दुलाल र सानु भण्डारी पक्राउ परेपछि उनीहरूलाई भेटेर खाणलाई नपोल्न भनेको र त्यसका लागि पैसा फिर्ता लैजानु भन्ने सन्देश आदानप्रदान गरेको घटना विवरण कागजमा उल्लेख थियो। पछि यो कुरा उनले प्रहरीको दबाबमा आएर भनेको भन्दै सरकारी वकिलसमक्ष बयान गर्दा फिर्ता लिएका थिए।
पाँचौं, यो घटनाका मुख्य योजनाकार केशव दुलालले खाणलाई नभेटेको र रकम पनि नदिएको भन्दै बयान गरेका छन्। पूर्वगृहसचिव टेकनारायण पाण्डे र दुलालबीच ‘मन्त्रीज्यूलाई गिफ्ट दिएको’ भन्ने कुराकानी भएको संवाद प्रहरीले फेला पारेको थियो। त्यो बेला गृहमन्त्री खाण नै भएको र उनैलाई गिफ्ट अर्थात 'रकम बुझाएको' भन्ने अभियोग दाबी थियो। उक्त दाबीलाई दुलालले बयान गर्दा इन्कार गरेकाले खाणलाई थुनामा पठाउने आधार नदेखिएको न्यायाधीश पाण्डेको रायमा उल्लेख छ।
‘यसरी प्रतिवादी बालकृष्ण खाणविरूद्ध किटानी जाहेरी नपरेको, निज अनुसन्धान अधिकारी एवं अदालत समक्ष कसुरमा इन्कार रहेको, सहप्रतिवादीहरूले यी प्रतिवादी कसुरमा संलग्न रहेको भनि पोल नगरेको तथा मिसिल संलग्न अन्य तत्काल प्राप्त प्रमाणहरूबाट यी निवेदक प्रतिवादी बालकृष्ण खाणलाई थुनामा नै राखी मुद्दा पुर्पक्ष गर्नुपर्नेसम्मको आधार, कारण र अवस्थाको विद्यमान रहेको नदेखिँदा,’ न्यायाधीश पाण्डेले भनेका छन्, ‘जिल्ला अदालतले थुनामा पठाउने गरी गरेको आदेश बेरितको देखिँदा बदर गरिदिएको छ। पछि प्रमाण परीक्षण र मूल्यांकन गर्दै जाँदा ठहरेबमोजिम हुने नै देखिँदा अहिलेको लागि बालकृष्ण खाणलाई ३० लाख नगद धरौटी, जमानत वा बैंक जमानत लिई तारेखमा राखि मुद्दाको पुर्पक्ष गर्नू।'
खाणलाई धरौटीमा छोड्न न्यायाधीश पाण्डेले गरेको आदेशसँग असहमति जनाउँदै न्यायाधीश खरेलले छुट्टै आदेश लेखेका छन्। उनले खाणलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश सही भएको भनेका छन्।
खाणलाई थुनामा पठाउनुपर्ने टुंगोमा पुग्न उनले तीन वटा आधार लिएका छन्।
पाण्डे र दुलालबीचको मोबाइल संवादलाई पहिलो आधार लिएका छन्। उक्त संवादमा ‘मन्त्रीज्यूलाई दिने गिफ्ट’बारे उल्लेख थियो। उक्त गिफ्टमा पैसा भएको र त्यो उनीहरूले खाणलाई दिएको भन्ने सरकारी वकिलको दाबी थियो।
दोस्रो, न्यायाधीश खरेलले आङटावा शेर्पाको मौकाको बयानमा दिएको घटना विवरणलाई नै आधार बनाएका छन्। शेर्पाले केशव दुलाल र सानु भण्डारी पक्राउ परेपछि उनीहरूलाई हिरासतमा गएरै भेटेर खाणलाई नपोल्नु, बरू पैसा फिर्ता लैजानु भन्ने सन्देश आदान प्रदान गरेको सुरूमा उनले प्रहरीलाई दिएको बयानमामा उल्लेख थियो। पछि यो कुरा उनले प्रहरीको दबाबमा आएर भनेको भन्दै सरकारी वकिलसमक्ष बयान गर्दा फिर्ता लिएका थिए।
तेस्रो, खाणका स्वकीय सचिव नरेन्द्र केसीको साथमा पाइएको लिखित नोट। टेकनारायण पाण्डेले हिरासतबाट पठाएको लिखित नोट केसीको साथमा फेला परेको थियो। आफू पक्राउ पर्नेबित्तिकै केसीले उक्त नोट च्यातेको प्रहरीले बताएको थियो। पछि त्यो जोडेर प्रहरीले प्रमाणको रूपमा पेश गरेको थियो।
त्यो नोटले पनि खाणको संलग्नता पुष्टि गर्ने न्यायाधीश खरेलको आदेशमा उल्लेख छ।
‘प्रतिवादी टेकनारायण पाण्डे र केशव दुलाल बीचको मोबाइल मेसेज प्रतिवादी नरेन्द्र केसीबाट बरामद भएको प्रतिवादी टेकनारायण पाण्डेले प्रतिवादी नरेन्द्र केसीलाई लेखी दिएको कागज, प्रतिवादी आडटावा शेर्पाको घटनाविवरण कागज तथा सहप्रतिवादी टेकनारायण पाण्डेको ततिम्बा बयान समेतका तत्काल प्राप्त प्रमाणबाट प्रतिवादी बालकृष्ण खाण अभियोग दावीको कसुरमा अहिले नै निर्दोष रहेछन् भनी विश्वास गर्न मिल्ने मनासिव आधार नदेखिएको हुँदा माननीय न्यायाधीश जनक पाण्डेबाट अक्षरुपी ३० लाख धरौटी लिई मुद्दाको पुर्पक्ष गर्ने गरी भएको आदेशसँग सहमत हुन सकिएन,’ न्यायाधीश खरेलको रायमा भनिएको छ, ‘प्रतिवादी बालकृष्ण खाणलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने गरी काठमाडौं जिल्ला अदालतबाट भएको आदेश मनासिव देखिँदा परिवर्तन गरिरहनु परेन।’
खाणबाहेक अरू प्रतिवादीका हकमा भने आफू न्यायाधीश पाण्डेसँग सहमत रहेको उनको राय छ।
खाणलाई थुन्ने कि छोड्ने बारे अब एक न्यायाधीशको इजलासले (तेस्रो इजलास) निर्णय गर्ने छ। खाणको विषयमा आदेश गर्न अर्को हप्ता पेशी तोकिने उच्च अदालत पाटनका प्रवक्ता तिर्थराज भट्टराईले बताएका छन्।
अदालतले भुटानी शरणार्थी नेता टेकनाथ रिजालसँग १५ लाख, हज समितिका अध्यक्ष शमशेर मियाँसँग १० लाख, पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसीसँग १० लाख, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपसँग ३० लाख, हरिभक्त महर्जन र रामशरण केसीसँग १५-१५ लाख रुपैयाँ धरौटी माग गरेको छ।
उनीहरूले मागेबमोजिम धरौटी बुझाए मात्रै थुनामुक्त हुनेछन्। रकम बुझाउन नसकेमा काठमाडौं जिल्ला अदालतले मुद्दाको अन्तिम किनारा नलगाउँदासम्म थुनामै बस्नुपर्ने हुन्छ।
लक्ष्मी महर्जन, टंक गुरूङ, केशव तुलाधर र आशिष बुढाथोकीलाई साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको छ।
काठमाडौं जिल्ला अदालतले आशिष बुढाथोकीलाई पुर्पक्षको लागि थुनामा राखेको थियो। उक्त आदेशलाई उच्चले बदर गरी साधारण तारेखमा छाड्न आदेश दिएको हो। उनी पनि आइतबार छुट्नेछन्।
यस्तै जिल्ला अदालतले लक्ष्मी महर्जनसँग ५ लाख, टंक गुरूङसँग १० लाख र केशव तुलाधरसँथ १५ लाख धरौटी माग गरेको थियो। जिल्लाको आदेश बदर गर्दै उनीहरू तीनै जनालाई पनि अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको हो।
पूर्वगृहमन्त्री खाणको हकमा भने दुई न्यायाधीशहरूबीच मत बाझिदा अर्को इलजासले निर्णय गर्ने भएको हो। त्यसका लागि अर्को साता पेशी तोकिनेछ।
उच्च अदालतका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार न्यायाधीश जनक पाण्डेले ३० लाख धरौटीमा खाणलाई छाड्न पर्ने राय दिएका थिए। तर न्यायाधीश प्रकाश खरेलले उनलाई पुर्पक्षको लागि थुनामै राख्नुपर्ने राय दिएपछि मत बाझिएको हो।
अब यसको निर्णय एकल न्यायाधीशको इजलासले गर्ने प्रवक्ता भट्टराईले बताए। त्यसको पेशी अर्को साता तोकिनेछ।
अदालतले नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डे, सानु भण्डारी, केशव दुलाल, इन्द्रजित राई, सागर राई, गोविन्दकुमार चौधरी, सन्देश शर्मा र आङटावा शेर्पालाई थुनामै राख्न आदेश दिएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका २० जनाविरूद्ध ठगी, लिखत कीर्ते, राज्यविरूद्धको अपराध र संगठित अपराधमा गत जेठ १० गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।
अदालतले गत असार १ गते १७ जनालाई थुनामा पठाएर ३ जनालाई धरौटी माग गरेको थियो। यसमा सरकारी वकिल कार्यालयले ३० जनालाई प्रतिवादी बनाएको थियो।
यी पनि:
नक्कली भुटानी शरणार्थी प्रकरण: धरौटीमा छाड्न आदेश दिएका सात जना आज नछुट्ने
बालकृष्ण खाणबारे अर्को इजलासले निर्णय गर्ने
नक्कली भुटानी शरणार्थी प्रकरण: बालकृष्ण खाणलाई छाड्ने कि थुन्ने भन्ने विषयमा बाझियो राय
नक्कली भुटानी शरणार्थी प्रकरण: टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश, टोपबहादुर थुनामै