तृणमूल कांग्रेस (टिएमसी) की सांसद महुआ मोइत्राको लोकसभा सदस्यता रद्द भएको छ।
उद्योगपतिसँग नगद र उपहार लिएको आरोपपछि शुक्रबार लोकसभाको बहुमतले उनको सभाको सदस्यता रद्द गरेको एनडिटिभीले जनाएको छ।
महुआले उद्योगपति दर्शन हिरानन्दानीसँग नगद र उपहार लिएको आरोप लागेको थियो। त्यसबापत मोइत्रामाथि हिरानन्दानीलाई संसदको वेबसाइटमा 'लगइन' गर्न दिएको आरोप लागेको हो। त्यसरी लगइन गर्दै हिरानन्दानीले गौतम अदानी र अदानी ग्रुपविरूद्ध प्रश्न पठाएको आरोप छ। मोइत्राले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रश्न गर्न दुई करोड भारतीय रुपैयाँ लिएको आरोप पनि छ। तर उनले उक्त आरोप अस्वीकार गरेकी छन्।
यसबारे अधिवक्ता जय अनन्त देहाद्राइले उजुरी गरेका थिए। उक्त उजुरी भारतीय जनता पार्टीका सांसद निशिकान्त दुबेले लोकसभाका सभामुख बिर्लासमक्ष पुर्याएका थिए।
उजुरी परेसँगै आचरण समितिले छानबिन गरी उनको सदस्यता रद्द गर्नुपर्ने राय सभामुखसमक्ष पेश गरेको थियो। शुक्रबार लोकसभा बस्नुअघि मध्याह्न १२ बजे आचरण समितिको बैठक बसेको थियो। उक्त बैठकमा उनी विरूद्धको एक रिपोर्ट पेस गरिएको थियो। त्यसपछि बसेको लोकसभामा सभामुख ओम बिर्लाले समितिको निष्कर्षलाई स्वीकार गरेको बताए।
‘सांसद महुआ मोइत्राको सांसदको रूपमा आचारण अनैतिक र अशोभनीय थियो भन्ने समितिको निष्कर्षलाई यो सभाले स्वीकार गर्छ,’ सभामुख बिर्लाले भनेका थिए,‘त्यसैले उनी सांसद भइराख्न उपयुक्त हुन्न।’
यसरी लोक सभाबाट सांसदबाट निष्कासित हुँदा मोइत्रालाई बोल्ने मौका भने दिइएको थिएन। सदन सकिएपछि उनले लेखेको विज्ञप्ति एक नेताले पढेर सुनाएका थिए।
‘त्यस प्रतिवेदनमा पैसा वा अन्य कुनै उपहार लिएको कुनै प्रमाण छैन। निष्कासन गर्ने सिफारिस सबै उजुरीको आधारमा थियो,’ उनले भनेकी छिन्।