वि.सं २०६५ र २०७४ सालमा पनि सरकारको नेतृत्व गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले त्यसबेला जम्मा ९/९ महिनामात्रै सरकार सञ्चालन गर्न पाए।
यसपालि भने वर्षदिन कटाएर आफ्ना पुराना रेकर्ड ब्रेक गरेपछि उनी स्वाभाविक रूपमा पुलकित छन्। सम्भवत: त्यही कारण हो सरकार सञ्चालनको १२ औं महिना टेकेलगत्तै प्रधानमन्त्री अलिकति आक्रोशित र अलिकति क्रियाशील देखिएका थिए।
केहीदिन अघिमात्रै पनि उनले अब आफू बिहान १० बजे नै कार्यालय जाने र सरकारको नियमित कामको अनुगमन गर्ने बताएका थिए। भलै उनको त्यो घोषणा एक साता पनि टिकेन।
सिलसिलामा क्रम भंग गर्ने, नयाँ शैलीसहित अगाडि बढ्ने र परिवर्तनका निम्ति धक्का दिने उद्घोष गर्दै आएका प्रधानमन्त्री प्रचण्डले राष्ट्रका नाममा गरेको सम्बोधन भने पुरानै सिलसिलाभन्दा पर रहेन। सरकारले यथेष्ट काम गरेको र अनगिन्ति रेकर्ड ब्रेक गरेको दाबी गर्दागर्दै उनले आफ्ना केही कमजोरीहरू लुकाउन सकेनन्। सम्बोधनका क्रममा भने प्रधानमन्त्री प्रचण्ड केही हदसम्म आत्मविश्वासी देखिए।
त्यही आत्मविश्वास प्रकट गर्न प्रचण्डले सुरूमै भने- म आजको सम्बोधनलाई समाचारमा कस्ता शीर्षक दिइएला भन्ने चिन्ता नगरी आफ्ना केही विश्लेषण, केही समीक्षा, केही अनुभूति र केही संकल्प खुला हृदयले यहाँहरूसामु राख्ने अनुमति चाहन्छु।
एक्कासि नौवटा उद्योगका बिजुली काटिएपछि उद्योगीहरू सरकारसँग रूष्ट छन्। उनीहरूले प्रधानमन्त्रीसँग संवादको तयारी गरिरहेका छन्। संयोग नै मान्नुपर्छ प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकारको उपलब्धिको सिलसिला देशलाई लोडसेडिङमुक्त बनाएकोबाटै सुरू गरेका छन्।
‘म दोस्रोपटक प्रधानमन्त्री हुनु अघिसम्म देशमा १८ घन्टासम्म लोडसेडिङलाई नियति नै मानिएको थियो। जबकि ठूलो जनसंख्या त्यतिखेर विद्युतको पहुँचभन्दा बाहिर नै थियो‚’ प्रधानमन्त्रीले भनेका छन्, ‘आज लगभग सिंगो देशमा विद्युतको पहुँच पुगेको छ। वर्षायाममा पनि विद्युत आयात गर्नुपर्ने अवस्थाबाट आज देश विद्युत निर्यात गर्ने ठाउँमा पुगेको छ।’
उपलब्धिमात्रै सुनाउँदिनँ भन्दाभन्दै प्रधानमन्त्री प्रचण्डको अधिकांश समय सरकारबाट एक वर्षमा भए/गरेका कामको व्याख्या गर्दैमा बितेको छ।
मन्त्रालयपिच्छे नै भएका कामको फेहरिस्त पस्किएका प्रधानमन्त्री प्रचण्ड सरकारले काम गरेन भन्नेहरूसँग रूष्ट देखिएका छन्। उनले समाजमा हीनताबोध र नकारात्मकताको डढेलो लागेको बताएका छन्।
मन्त्रीहरू‚ आफ्नो सचिवालयका पदाधिकारी र सरकारका उच्चपदस्थ कर्मचारीहरूलाई साक्षी राखेर राष्ट्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘सकिन्न, बन्दैन, हुँदैन भन्ने नकारात्मकताले जरैदेखि समाजको सिर्जनात्मकता मारिरहेको छ। एकाथरी तत्वले त नियोजित रूपमै यो मानसिकतालाई मलजल गरिरहेका छन्‚ आदरणीय जनसमुदाय, म आज यो प्रश्नबाट सम्बोधन सुरू गर्न चाहन्छु कि के देशमा साँच्चै केही नभएकै हो? के देश पूर्ण रूपमा सम्भावनाहीन बन्दै गएको हो?’
नकारात्मकता र हीनभावनाले सम्भव काम पनि असम्भव बनाइरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले आफ्नै छेउको उज्यालोलाई पनि पत्याउन छोडिएको भन्दै गुनासो गरेका छन्। तर मुलुकमा कति सम्भावना छ, सम्भावनासम्म पुग्न नागरिक कति सक्षम भएका छन् र यो पछिल्लो एक वर्ष नागरिकको निराशाको बिन्दु कहाँ पुगेको छ प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा उप्काएनन्।
सरकारले गरेका अधिकांश नियमित प्रगतिलाई उपलब्धिका रूपमा प्रस्तुत गरेका प्रधानमन्त्री प्रचण्डले जनतालाई त्यसले कति प्रभाव पार्यो या पार्न सकेन भन्नेतर्फ सचेत देखिएनन्।
संघीयताको बचाउ गर्न एकात्मक शासनको सहारा
मुलुकमा संघीयता आएको ८ वर्ष भइसक्यो। संघीयता कार्यान्वयनका लागि सरकारले आधारभूत रूपमा बनाउनुपर्ने कानुनसमेत बनाउन नसक्दा प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू सिंहदरबार आएको आयै छन्। आश्वासन पाउने तर काम नहुने हुँदा उनीहरूमा दिनदिनै निराशा बढ्दो छ। काम नभएकै कारण कतिपयले संघीयतामाथि प्रश्न गर्दै आएका छन्। मंगलबार प्रधानमन्त्रीले भने संघीयताको बचाउ गर्न पुरानो एकात्मक प्रणालीकै सहारा लिए।
‘अहिले एकाथरीले व्यवस्थाप्रति वितृष्णा जगाउन गलत र भ्रामक प्रचारको सहारा लिएका छन्। अहिलेभन्दा हिजो एकात्मक शासन राम्रो थियो भन्ने तिनको भाष्य बिल्कुल गलत छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘संघीयताले जनप्रतिनिधि बढे, खर्च बढ्यो भन्ने भाष्य बनाउन खोजिएको छ। तर सत्य के हो भने एकात्मक राज्य व्यवस्थामा कूल एक लाख पचपन्न हजार ८ सय ६२ जनप्रतिनिधि थिए भने अहिले जम्मा अठ्ठाइस हजार ४ सय त्रिपन्न जनप्रतिनिधि छन्।’
हिजो एउटा गाविसमा ४७ जना जनप्रतिनिधि थिए, ती अहिले सामान्यतः वडामा रूपान्तरण भएका छन् र जम्मा पाँच जना जनप्रतिनिधि रहेको भन्दै उनले सोधे- ‘तर तिनले गरेका कार्यहरूले जनतालाई कति धेरै छुन्छ भन्ने उदाहरण त गत कात्तिकको जाजरकोट भूकम्पपछि बिहान ३ बजेदेखि नै भूकम्प पीडितको खोज, उद्धार र राहतमा खटेका जनप्रतिनिधिको सक्रियताले देखाउँदैन र?’
यद्यपि प्रचण्डले यिनै सरकारहरूको तदारूकताको अभावका कारण भूकम्पपछि त्रिपालमुनि बसेका नागरिकको कठ्यांग्रिएर मृत्यु भएको तथ्यांक भने बताउन बिर्सिए।
मन्त्री र सचिवहरूलाई चेतावनी
पछिल्लो समय प्रधानमन्त्री प्रचण्डले सरकारका मन्त्री र सचिवहरूसँग एक्लै एक्लै संवाद गर्दै आएका थिए। सिंहदरबारमा मन्त्रीहरूलाई निर्देशन दिने र सार्वजनिक कार्यक्रममा गएर चित्त बुझ्दो काम नगरे उनीहरूलाई निष्कासन गर्ने बताउँदै आएका प्रचण्डले मंगलबार पनि त्यही दोहोर्याए।
परिवर्तनको सुरूआत यही साता प्रधानमन्त्री कार्यालयबाट गर्ने घोषणा गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘म आज जनतालाई साक्षी राखेर माननीय मन्त्रीहरूलाई पनि भन्न चाहन्छु, हामीलाई असफल हुने छुट छैन। उनले कार्यसम्पादन कमजोर भएको अवस्थामा कसैलाई माफ गर्नसक्ने अवस्था र मनस्थितिमा आफू नरहेको भन्दै मन्त्रीहरूलाई थप क्रियाशील हुन निर्देशन दिए।
‘हामी सबै आ–आफ्नो भूमिकामाथि न्याय गर्नैपर्ने नैतिक दबाबमा छौं। कार्यक्षमता प्रमाणित गर्न सकेनौं भने कसैले पनि अब ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनुपर्छ‚’ प्रधानमन्त्री प्रचण्डले भने‚ ‘यो मैले अरूलाई दिएको उपदेशमात्र होइन, आफैंसँग गरेको बाचा पनि हो। देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके मैले पनि पद ओगटिरहन जरूरी छैन।’
गठबन्धनमाथि भरोसा
पोहोर पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुँदा प्रचण्डलाई एमाले, रास्वपा, राप्रपालगायत दलको समर्थन थियो। त्यसबेला उनले प्रतिनिधि सभा चुनावमा आफैंले बनाएको गठबन्धनलाई धोका दिएका थिए। तर पछि एमाले लगायतका दलहरू सरकारबाट बाहिरिएपछि चुनावी गठबन्धनका दलहरूले नै प्रचण्डको सरकारलाई समर्थन गरे। त्यही गठबन्धनको सहारामा प्रधानमन्त्रीले तेस्रो कार्यकालमा एक वर्ष प्रधानमन्त्री बन्ने आफ्नै रेकर्ड ब्रेक गरेका हुन्। त्यसैले वर्षदिनको सम्बोधनका क्रममा पनि गठबन्धनप्रति नतमस्तक देखिए।
‘म मलाई विश्वासको मत दिने र निरन्तर साथ दिने सबै माननीयहरू, सिंगो संसद र राजनीतिक दलहरूप्रति आभार प्रकट गर्दछु,’ प्रधानमन्त्रीले भने, ‘गठबन्धन सरकार भन्ने बित्तिकै ठूलो तानातानी, अस्थिरता र अराजकताको चित्र आउँछ तर म गठबन्धनका सबै घटक र नेतृत्वप्रति आभारी छु किनकि अहिले न स्थायित्वमा कुनै प्रश्न छ, न सरकारमा कुनै तानातानी।’
प्रधानमन्त्री प्रचण्डले आफैंले पनि चाहेअनुसार काम गर्न नसकेको भन्दै आत्मसमीक्षा भने गरेका छन्।
नागरिक‚ राजनीतिक दल र आफ्नै मन्त्रीहरूको आलोचना गर्दा उनले आफूलाई पनि प्रश्नभन्दा पर भने राखेका छैनन्।
‘देश कति बन्यो भन्ने होइन, कति बन्न सक्थ्यो भन्ने आत्मसमीक्षामा छु‚’ प्रधानमन्त्री प्रचण्डले भने,‘यही चिन्ता र आत्मसमीक्षाका साथ म सार्वजनिक घोषणा गर्दछु, अब सरकारको कार्यशैली बदलिनेछ।’