जेलमा रहेका पूर्व पाकिस्तानी प्रधानमन्त्री इमरान खानले एआईको प्रयोगमार्फत् भर्चुअल शक्ति प्रदर्शनमा सम्बोधन गरेका छन्।
एआईको प्रयोग गरी बनाइएको ४ मिनेटको भिडिओ आइतबार साँझ भर्चुअल शक्ति प्रदर्शनमा देखाइएको थियो।
उक्त भिडिओमा एआई तस्बिर, पाकिस्तानी तहरिक-इ- इनसाफ (पिटिआइ)ले पहिले गरेका र्याली र खानका भाषणका तस्बिरहरू राखिएको थियो।
भिडिओमा अडिओ भने एआईले बनाएको थियो। उक्त अडिओमा शब्द भने जेलभित्र रहेका खानले लेखेको अल्जजिराले जनाएको छ।
पिटिआइले आयोजना गरेको भर्चुअल शक्तिप्रदर्शनमा युट्युब, फेसबुक र ट्विटरहरूमा देशका विभिन्न क्षेत्रबाट ५० लाख बढी भ्युज आएको बताएको छ।
पाकिस्तानी सरकारले र्याली गर्न निषेध गरेपछि त्यसलाई रोक्न पिटिआइले भर्चुअल कार्यक्रम राखेको हो। पाकिस्तानमा आउँदो फेब्रुअरी ८ तारिखमा चुनाव हुँदैछ।
‘सार्वजनिक स्थानमा जुलुस निकाल्न हाम्रो पार्टीलाई अनुमति छैन। हाम्रा मानिसहरू अपहरणमा परेका छन् र उनका परिवारमाथि दुर्व्यवहार भएको छ,’ एआई प्रयोग गरी बनाइएको भिडिओमा खानले भनेका छन्, ‘इतिहासले तपाईंहरूको बलिदानलाई याद राख्नेछ।’
यसरी भर्चुअल सम्बोधन रोक्न सरकारले इन्टरनेट सेन्सरसिप गरेको पनि पिटिआइले सरकारमाथि आरोप लगाएको छ। लाइभ चलिरहँदा इन्टरनेटमा समस्या आएको थियो।
इमरान खान गत अगष्टदेखि जेलमा छन्। उनी सन् २०१८ देखि सन् २०२२ सम्म प्रधानमन्त्री रहँदा सरकारी उपहारहरू बेचेको आरोप छ। त्यस मुद्दामा धरौटीमा छुटे पनि पछि राज्यको गोप्य सूचना चुहाएको भन्दै जेलमै राखिएको थियो।
खानले आफूमाथि लगाइएका आरोपहरू अस्वीकार गर्दै सरकारले फसाउन खोजेको आरोप लगाएका छन्।