विकास बाक्लिँदै गरेको र बस्ती पातलिँदै गरेको मध्यपहाडमा प्रमुख प्रतिपक्षी एमालेले यसपालि लगातार १८ दिन यात्रा गर्यो। करिब दुई हजार किलोमिटर यात्रा गर्दा एमालेले विभिन्न समुदाय, पेसा र क्षेत्रका नागरिकहरूसँग साक्षात्कार गर्यो।
बैतडीको झुलाघाटदेखि पाँचथरको चिवा भन्ज्याङसम्म यात्रा गरेको एमालेका शीर्ष नेताहरूले मध्यपहाड यात्रालाई मुलुक बुझ्न गरिएको नयाँ प्रयोगका रूपमा व्याख्या गरेका छन्।
एमालेको मध्यपहाड यात्रा, सरकारबारे सो पार्टीको धारणा र राष्ट्रिय सभा निर्वाचनबारे सेतोपाटीका बिनु सुवेदीले एमालेका उपाध्यक्ष विष्णु पौडेलसँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत छः
मध्यपहाडको यात्रा भर्खरै सकेर फर्किनुभएको छ। के देख्नुभयो?
केही समयदेखि मध्यपहाडी क्षेत्रबाट बसाइँसराइ र आप्रवासनको समस्या मुलुकले बेहोर्दै आएको छ। मध्यपहाडी क्षेत्रका मानिसहरूको बसाइँ सर्ने क्रम तीव्र भएपछि त्यसको मुख्य कारण पत्ता लगाउने हाम्रो ध्येय थियो। अब मध्यपहाडी क्षेत्रमा भौतिक विकास र मानवीय विकासलाई केन्द्रित नगर्ने र पूर्वाधारको विकास नगर्ने हो भने बसाइँसराइको क्रम अझ तीव्र हुन्छ भनेर हामीले बुझेका छौं।
हामीले मध्यपहाडी क्षेत्रमा पुष्पलाल मार्गको परिकल्पना पनि यही बुझेर गरेका हौं। अहिलेसम्म आइपुग्दा धेरैतिर काम भएको छ। केही ठाउँमा काम बाँकी छ। मध्यपहाडी पुष्पलाल लोकमार्गको सन्दर्भमा 'टेक्निकल रोड अडिट' गरौं भनेर साथीहरूले अध्ययन पनि गर्नुभएको छ। त्यसको रिपोर्ट आएपछि के गर्ने भनेर अझ विस्तृतमा छलफल गर्छौं।
सरसर्ती हेर्दा यहाँहरूले के देख्नुभयो?
दुई-तीनवटा काम गर्नुपर्छ भन्ने लागेको छ यसमा।
एउटा, लोकमार्गको 'अलाइनमेन्ट' सकेसम्म छोटो बनाउनुपर्छ। कतिपय ठाउँमा बाटो अनावश्यक घुमेको छ, त्यसलाई छोटो बनाउनुपर्छ र बस्ती केन्द्रित गर्नुपर्छ।
दोस्रो, कतिपय ठाउँमा पुल र सुरूङ बनाउनुपर्ने छ। यसले समयको लागत पनि घट्छ, प्रतिफल पनि महत्त्वपूर्ण हुन्छ र आमरूपमा यसले मध्यपहाडको मेरूदण्डको काम गर्छ।
यस्तै अरू लिंकरोड, खानेपानी, सिँचाइ, जलस्रोत र जलविद्युतका आयोजना पनि अघि बढाउनुपर्छ। यसरी त्यहाँको बसाइँसराइको चाप रोक्न सक्छौं। देशको अर्थतन्त्र सुदृढ बनाउन यो मध्यपहाडी मार्गले महत्त्वपूर्ण योगदान गर्न सक्छ भन्ने पनि हामीलाई लागेको छ।
पूर्वाधार र विकासको सन्दर्भमा यो यात्राले हामीलाई धेरै अनुभव प्राप्त भएको छ। यसअघि पनि विभिन्न नेताहरू, विभिन्न ठाउँमा, विभिन्न समयमा गइरहेकै थिए। तर नेतृत्वको सिंगो टिम पश्चिमदेखि पूर्वसम्म भौतिक र मानवीय अवस्था बुझ्न र जनता र कार्यकर्ताहरूले कसरी सोचिरहेका छन्, त्यहाँका आवश्यकता के छन्, त्यहाँका समस्या के छन् भनेर बुझ्न र सुझाव संकलन गर्न यो धेरै महत्त्वपूर्ण कार्यक्रम सम्पन्न भएको छ।
बैतडीदेखि पाँचथरसम्मै अध्यक्ष (केपी ओली) भाषण सुन्दा त खाली सरकारलाई मात्रै गाली गरेको सुनियो। सरकारलाई गाली नै गर्न मध्यपहाड यात्रा गर्नुपर्थ्यो र?
यो सरकारले प्रशंसा गर्नुपर्ने काम के गरेको छ र गर्नु त? सरकारको विरोध नै गर्नुपर्छ भन्ने सोच त हाम्रो थिएन। तर सरकारले कुनै एउटा समर्थनयोग्य काम गरेको छैन। जे गरेको छ, विरोधै गर्नुपर्ने काम गरेको छ। त्यसैले सरकारको काम-कारबाहीको विरोध नै गर्नुपर्ने अवस्था आयो।
एउटा जिम्मेवार प्रतिपक्ष भएकाले सरकारले गरेको गलत कामका बारेमा जनतालाई जानकारी दिनु कर्तव्य पनि हो। सरकारले गलत काम गरेकाले गलत कामको विरोध गर्यौं नै। तर हामी अरू विषयमा पनि बढी केन्द्रित भयौं। खासगरी त्यहाँ भौतिक र मानवीय विकासको अवस्था के छ र अब के गर्नुपर्छ भन्नेमा ज्ञापनपत्र र मागपत्र लिँदै राजनीतिक दल, संघसंस्था, उपस्थित जनसमुदायसँग जिवन्त ढंगले छलफल गर्यौं। यसले विस्तृत नीति बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ।
मध्यपहाडको आर्थिक समृद्धिको बाधक के रहेछ त, के थाहा पाउनुभयो?
हामीले समग्रमा अध्ययन गर्यौं। एउटा त, हामीले मध्यपहाडी पुष्पलाल लोकमार्गको अवस्था के हो भनेर बुझ्यौं। विचार, विश्लेषण गर्दै अगाडि बढ्यौं।
अर्को लिंकरोड, खानेपानी, कृषि, शिक्षा, स्वास्थ्य र रोजगारी केन्द्रित आयोजनाका बारेमा पनि व्यापक छलफल गरेका छौं। स्वाभाविक रूपमा मध्यपहाडी क्षेत्रका कतिपय ठाउँमा बसाइँसराइको चापले जनसंख्या घटेको छ। त्यो स्थिति कसरी रोक्ने, त्यहाँको उत्पादनका सम्भावना के हुन् भनेर पनि हामीले खोज्यौं।
विभिन्न ठाउँमा विभिन्न सम्भावनाहरू छन्। कृषि उत्पादनलाई प्रोत्साहित गर्ने, व्यावसायीकरण गर्ने, उत्पादन बजारसम्म पुर्याउने र किसानलाई उचित मूल्य पुर्याउने जस्ता अवस्था कसरी सिर्जना गर्ने विषयमा केन्द्रित गरेर राज्यका नीति र कार्यक्रम पनि तय हुनुपर्छ।
हामी त स्वाभिवक रूपमा 'वेटिङ गभर्मेन्ट' हौं। अहिले हामीले प्रतिपक्षीका हिसाबमा आवाज उठाउँछौं। भोलि सरकारमा जान्छौं र हामीले अघि सारेका विषय कार्यान्वयन गर्छौं। यसरी देशको महत्त्वपूर्ण उत्पादनको क्षेत्रका रूपमा मध्यपहाडलाई विकास गर्न सकिन्छ।
मध्यपहाडबाट बसाइँ सर्ने भनेको या त तराईमा या त सहरमा। हामी सहरबजार र मधेसबाट बसाइँ सरेर मध्यपहाडी जिल्लामा जान सक्ने अवस्था सिर्जना गर्छौं। खासगरी बसाइँसराइको नकारात्मक वृद्धिले हामीलाई चिन्तित बनाएको छ। त्यसैले यहाँ विभिन्न पेसा-व्यवसायका मानिसका लागि आवश्यक अवसर सिर्जना गरेर बसाइँसराइ रोकिने मात्रै होइन, अन्तबाट बसाइँ सरेर आउने अवस्था पनि सिर्जना गर्छौं।
त्यसका लागि बाटो मात्रै बनेर हुँदैन। बाटो नै अझै बनेको छैन, सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तन र विकास हुन पनि जरूरी छ नि, होइन?
त्यसैले त मैले भनेको छु नि; स्वास्थ्यमा, शिक्षामा, रोजगारीमा बहुआयामिक कार्यक्रम र योजनाहरू लिएर जानुपर्छ।
तर त्यो त निकै परको कुरा भएन र?
धेरै परको कुरा पनि होइन। यदि गतिलो सरकार हुन्छ भने त आजै पनि गर्न सक्छ। तर यो सरकारबाट हामीले आशा गर्न सक्दैनौं। हामीले अहिले तयारी गर्छौं। ठाउँमा पुगेपछि कार्यान्वयन गर्छौं।
यहाँहरू सरकारमा नभएको दुई वर्ष मात्रै भयो। अवसर नपाएर पहाडबाट मधेस र गाउँबाट सहरमा मान्छेहरू सर्न थालेको त निक्कै अघिदेखि हो। पहिलेपहिले यहाँहरूले सोच्नुभएको थिएन यस्तो कुरा?
सोचेका थियौं। सोचेकै भएर त मध्यपहाडी लोकमार्गको परिकल्पना गरेर त्यसलाई अगाडि बढाएको हो। तर यसलाई अझ विकासका पूर्वाधारका भौतिक मानवीय दृष्टिकोणले अगाडि बढाउने अनुभूति गरेका छौं।
यहाँहरूको यात्रामा कतै एकदमै विकसित त कतै साह्रै पिछडिएका क्षेत्रहरू पनि देख्नुभयो। विकासको असन्तुलनबारे पनि केही अनुभूति या छलफल भयो?
हामीकहाँ विकासका दृष्टिकोणले असन्तुलनको अवस्था लामो समयदेखि रहँदै आएको छ। तर विकासको परिकल्पना एमाले सरकारकै पालामा भएको हो। हामीले सधैं सन्तुलित र सामरिक विकासको परिकल्पना गरेका हौं। सुदूरपश्चिम विकासका दृष्टिकोणले पछाडि परेको छ। कर्णाली विकासका दृष्टिकोणले पछाडि परेको छ। हिमाली र पहाडी जिल्लाहरू पछाडि परेका छन् भन्ने मान्यता छ। तर यो विकासको असन्तुलन चिर्ने, हटाउने र सन्तुलित विकास अगाडि बढाउने काम राज्यले अघि बढाउनुपर्छ।
उदाहरणका लागि, सुदूरपश्चिम प्रदेशमा जुन प्रकारको विकास असन्तुलन थियो, त्यो अवस्था 'ब्रेक थ्रु' गर्ने सन्दर्भमा एमालेले धेरै महत्त्वपूर्ण काम गरेको छ। मध्यपहाडी पुष्पलाल लोकमार्गको काम त भइहाल्यो। त्यस अतिरिक्त हामीले प्रत्येक जिल्ला र सदरमुकाम जाने बाटो बनाउने काम गर्यौं। महाकाली करिडोरजस्ता आयोजना सुरूआत गरेका छौं। हाइड्रोपावर, विश्वविद्यालय, स्वास्थ्य संस्था जस्ता कुरा पनि छन्। पूर्वाधार र मानवीय विकासका क्षेत्रमा हामीले एकसाथ काम गरेका छौं।
यी विकास अर्थतन्त्र र त्यहाँका अवस्थितिको कुरा भयो। गत चुनावमा पाउनुभएको लोकप्रिय मतको २३ प्रतिशत त यिनै जिल्लाबाट छ। आफ्नै पकड क्षेत्रमा यात्रा गर्नुको राजनीतिक सन्देश चाँहि के हो?
यो सिंगो मुलुक नै हाम्रै हो नि! हाम्रो यात्रा पूर्वाधार र समायावधिका दृष्टिले भिन्न प्रकृतिको हो। नेपालको राजनीतिमा एउटा विशिष्ट घटना हो यो। हाम्रो यो यात्रालाई इतिहासकारहरूले कहिल्यै बिर्सिन नसक्ने घटनाका रूपमा स्मरण गर्नेछन्, लेख्नेछन् भन्ने मलाई लाग्छ।
तर यहाँ मात्रै यात्रा गरेका छौं भन्ने होइन। २०७४ को निर्वाचनको पूर्वसन्ध्यामा हामीले झापादेखि कन्चनपुरसम्मको यात्रा गरेका हौं। त्यस बेला धेरै ठूला सांघातिक हमलाको पनि सामना गर्नुपर्यो।
हामी देशका सबै भागलाई मसिनो गरी बुझ्न चाहन्छौं। निरन्तर बुझ्ने शृंखलाको अन्त्य हुँदैन। हामी देशको अवस्थाका बारेमा आवधिक रूपमा निरन्तर अपडेट हुनुपर्छ। त्यस क्रममा यो यात्रा धेरै महत्त्वपूर्ण छ। एमाले मध्यपहाडमा बलियो छ भन्नुको अर्थ अन्त कमजोर छ भन्ने होइन। जनमत निरन्तर परिवर्तन हुन्छ। आज मधेस प्रदेशमा सर्भे गर्नुभयो भने त्यहाँको सबैभन्दा बलियो पार्टीका रूपमा एमालेलाई पाउनुहुन्छ। परिणाम आउन त चुनाव नै हुनुपर्छ।
तुलनात्मक रूपमा अन्तभन्दा मध्यपहाडमा यहाँहरू बलियो हुनुहुन्छ भन्ने तथ्यले पनि देखाउँछ। बलियो नै भएको ठाउँमा किन जानुपरेको?
मधेसमा पनि हामी गएका छौं। क्रियाशीलताका हिसाबले जनताका माझमा जाने, पार्टी निर्माण गर्ने, जनताको सुखदुःख बुझ्ने काम हामीले गरेका छौं।
यहाँहरू जब कोशी प्रवेश गर्नुभयो, अलिअलि अवरोध भयो, किन?
हामीले पनि समाचार सुन्यौं अवरोध भयो भनेर। तर अवरोधको अनुभूति हामीले गरेनौं। यद्यपि एकाध प्रायोजित घटना भए। त्यसलाई अवरोध भयो भनेर चर्चा गरेको हामीले पायौं। तर मैदानमा जहाँ हामी हिँडिरहेका थियौं, ती ठाउँमा कहीँ पनि महसुस गरेनौं।
तपाईंहरू कोशी प्रवेश गर्नुअघि नै प्रहरीले आन्दोलनकारीलाई समाउँदै थुन्दै गरेर पनि अवरोधको अनुभूति नभएको होला नि?
प्रहरीले कता के गरे, उनीहरूले आफ्नो जिम्मेवारी निर्वाह गरेका होलान्। तर हामी यो मुलुकको जिम्मेवार राजनीतिक दल हौं। सबभन्दा बलियो पार्टी हौं। हामीलाई देशका कुनै पनि भागमा हाम्रा विचार र विश्लेषण लिएर जनताकहाँ जाने अधिकार छ। त्यसैले हामीले हाम्रो कार्यक्रम तय गर्यौं। तय भएको कार्यक्रम विभिन्न ठाउँमा गर्यौं। त्यस बेला सुरक्षा निकायले आफ्नो कर्तव्यबोध गरेर आफ्नो काम गरेको होला। अवाञ्छित क्रियाकलाप कसैले गर्छ कि भनेर होसियारी अपनाएको होला। त्यो प्रहरीको कर्तव्यको कुरा हो।
तर कोशी प्रदेशमा कोशी नामकै सवालमै एउटा समूह असन्तुष्ट छ। एमालेसँग झन् असन्तुष्ट छ नि?
असन्तुष्टहरू को को, कहाँ छन् थाहा भएन। हाम्रो अध्यक्षले स्पष्टसँग भन्नुभएको छ, हामी लोकतन्त्रमा विश्वास गर्छौं, लोकतान्त्रिक प्रणालीमा विश्वास गर्छौं। हामीले बनाएको संविधान लोकतान्त्रिक संविधान हो।
एउटा कुरा, हामी मधेस प्रदेश नामको पक्षमा थिएनौं। कुनै लुकेको कुरा छ र? तर प्रदेश सभाले पारित गर्यो। हामीले मान्यौं।
अब कसैलाई कोशी प्रदेशको नाम मनपरेको छैन भने जनतामा जानुपर्यो। जनताबाट अनुमोदित भएर आउनुपर्यो। नाम फेर्ने हैसियत लिएर आउनुपर्यो, अनि फेर्नुपर्यो। हुलहुज्जत गरेर नाम फेरिन्छ र? सम्भव छ? कसैले मान्छ त्यो कुरा?
अब संघीय सरकारको कुरा गरौं। यो सरकार वर्ष दिनको हुँदैछ। यो सरकारलाई हेर्दा काम कस्तो पाउनुभएको छ?
कुनै सूचकबाट हेर्दा पनि सरकार सफल हुन सकेन। सबै सूचकमा असफल छ। अझ आर्थिक दृष्टिकोणले त यो सरकार चरम असफल हो। असफल भएको छ तर असफल भएको स्वीकार गर्दैन यो सरकारले।
अघिल्ला सरकारले भन्दा त काम गरेकै देखिन्छ त?
काम त गरेको होला। उपलब्धि खोइ त? के भएको छ, त्यो भन्न सक्दैनन्। राजस्वले साधारण खर्च पनि धान्न सकेको छैन। पहिलो त्रैमासिकमै ठूलो मात्रामा आन्तरिक ऋण उठाएर कर्मचारीलाई तलब दिने अवस्था छ। पुँजीगत खर्च अत्यन्तै ओरालो लागेको छ। विकास निर्माण या त ठप्प छन् या खारेज भइरहेका छन्। राजस्व परिचालन चिन्ताजनक अवस्थामा छ। लगानीकर्ताहरू नेपालमा लगानी गर्ने वातावरण छैन भन्ने कुरा गर्छन्। निजी क्षेत्र सन्तुष्ट छैन।
यो खालको अवस्था छ र चौतर्फी रूपमा संकट छ। उत्पादन अर्को वर्षसम्म ऋणात्मक हुने हो कि भन्ने छ। शान्ति सुरक्षाको अवस्था त्यस्तै छ। कुनै क्षेत्र छैन जहाँ सरकारले गर्यो भन्न सकियोस्। हामीले मात्रै होइन, स्वयं सत्तारूढ दलका नेताहरूले नै यो सरकार असफल भयो भनिरहेका छन्।
तर भ्रष्टाचारका ठूला ठूला फाइल खोल्यौं, सुन तस्कर समात्यौं, अरू काम पनि गरिरहेका छौं भनिरहेकै छ नि सरकारले?
सरकारले भ्रष्टाचारका फाइल खोलेर मात्रै हुँदैन, टुंग्याउनुपर्छ।
अर्को, दिनकै क्विन्टल सुन आउँदो रहेछ। त्यो सुन तस्करीबारे अध्ययन गर्न स्वतन्त्र आयोग बनाऔं भन्दा त्यत्रो दिनसम्म सदनमा अवरोध गर्नुपर्यो। यस्तो स्थिति छ। त्यसैले कुनै सूचकमा सरकार सफल छैन। म त यो सरकार सम्पूर्ण रूपमा असफल भइसकेको देख्छु।
कसरी असफल हुन्छ? एक वर्ष बिनाअवरोध पार गर्यो। अझै एक वर्ष निर्धक्क जाने देखिन्छ!
सरकार रहन्छ कि रहँदैन भन्ने अलग विषय हो। सरकार सफल भयो कि असफल, सरकार कसरी चलिरहेको छ भन्ने फरक कुरा हो नि।
वास्तवमा असफल भएपछि त्यो सरकारको विकल्प खोजिनुपर्ने हो। सत्तारूढ दलका नेताहरूले नै सरकार असफल भयो भनिरहनुभएको छ। असफल भयो भन्ने र सरकार बोकिरहने दृश्य हामीले देखिरहेका छौं। त्यसकारण सरकार कति दिन रहन्छ, अलग विषय हो। सरकार कहिलेसम्म रहन्छ भन्ने कुरा संसदको अंकगणितले निर्धारण गर्छ। तर सरकार चाहिँ असफल भएको छ।
मध्यपहाडी यात्राबाट फर्केपछि यहाँहरूलाई नै यो सरकार ढालौं, अर्को सरकार बनाऔं भन्ने जोश पो आएको छ कि?
यो जोशले तय गर्ने विषय होइन। संसदभित्रको अंकगणितले तय गर्ने कुरा हो। हामीले त सुरूमा एउटा पहलकदमी लियौं। पुष्पकमल दाहाल 'प्रचण्ड' को नेतृत्वमा सरकार बनायौं। उहाँले सहमति तोडेर पुरानै गठबन्धनमा फर्किनुभयो। गठबन्धनले तमासा देखाइरहेको छ।
सरकार असफल भएको निष्कर्ष निकालेपछि केले प्रतिस्थापन गर्नुपर्छ भन्ने छलफल पनि भयो होला?
त्यसका लागि सबभन्दा पहिले यो गठबन्धन टुट्नुपर्यो नि। गठबन्धनका नेताहरूले गुनासो गर्ने तर सरकार बोकेर हिँड्ने गर्न भएन नि! टुट्नु पर्यो नि गठबन्धन! गुनासो गरेर बस्ने हो र? जिम्मेवारी पनि लिने, गुनासो पनि गरेर बस्न त भएन।
तपाईंहरू पनि त जोड्न र तोड्न त माहिर नै हुनुहुन्छ नि?
तोड्ने कुरामा, अहिले सरकारका गतिविधि हेर्दा ऊ आफैं टिक्न नसकेर झर्न खोज्दैछ। हामीले सरकार परिवर्तनका लागि कुनै मेहनत गरिहालेका छैनौं। किनभने गठबन्धनभित्रको अवस्था सुक्ष्म ढंगले हेरिरहेका छौं। साथीहरूमा यो भएन, यसरी त साह्रै बर्बाद भयो, जनतामा निराशा बढ्यो भन्ने चिन्ताले काँध छोएको छ।
गुनासो बोकिरहने कांग्रेसका नेता र आलोचना गरिरहने तर प्रतिपक्षीको हस्तक्षेपकारी भूमिका नदेखाउने तपाईंहरूका बीचमा के फरक छ र?
सरकारका सन्दर्भमा एमालेले पहल गर्ने भनेको संसदको अंकगणितका आधारमा हो। यो प्रकारको सरकारको जनादेश पनि होइन। जनादेश एकातिर छ। सरकारमा बसेका दलहरू गुनासो गरिरहेका छन् तर अलग हुने आँट गर्दैनन्। हामी भने सरकारका गलत काम, ज्यादती र असफलता चिर्दै सशक्त ढंगले अगाडि बढ्ने हो। अगाडि लैजाने हो। सदन चलेको बेला छलफल र बहसको विषय हुन्छ, त्यो काम हामीले गरेका छौं, गर्छौं नै।
सदन भनेको राष्ट्रिय सभा पनि हो। अब राष्ट्रिय सभा निर्वाचन हुँदैछ। त्यस्तै एमालेका ९ सांसदको पदावधि सकिँदैछ। गठबन्धनविरूद्ध त्यहाँ पनि लड्नुपर्ने छ। तयारी के छ?
राष्ट्रिय सभामा हामीले हाम्रो अवस्था अनुसार तयारी गरेका छौं।
एक्लै लडेर तपाईंहरूले जित्ने अवस्था पनि त छैन?
चुनावमा एक्लै र दुक्लै भन्ने हुँदैन। यो त मतदाताले मतदान गर्ने हो।
तर जनप्रतिनिधिले मतदान गर्ने भएकाले अरू चुनावजस्तो त हुँदैन नि?
जनप्रतिनिधिको मतदान त गोप्य मतदान हो नि!
सबै तस्बिरः निशा भण्डारी/सेतोपाटी