लुम्बिनी प्रदेशमा भागमा परेको एक जना मन्त्री कसलाई छान्ने भनेर सुरू भएको नेपाली कांग्रेसभित्रको किचलो अझै सकिएको छैन।
कांग्रेसभित्रको आन्तरिक किचलोका कारण विगत आठ महिनादेखि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन।
नेपाली कांग्रेसका तर्फबाट डिल्लीबहादुर चौधरी वैशाख १४ गते मुख्यमन्त्री बनेका थिए। यो बीचमा उनले पटकपटक सरकारलाई पूर्णता दिने प्रयास गरे पनि पार्टीभित्रको किचलो व्यवस्थापन गर्न नसक्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेन।
‘उहाँले बजेटपछि नै सरकारलाई पूर्णता दिन प्रयास गर्नुभएको थियो,’ कांग्रेसका एक नेताले भने, ‘तर पार्टीभित्र कुन गुटको मन्त्री बनाउने भनेर टुंगो लाग्न नसक्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन।’
शुक्रबार बिहान तुलसीपुर आएका नेकपा माओवादीका नेता तथा लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले आइतबार सरकार बिस्तार हुने बताएका छन्।
‘हाम्रो पार्टीबाट कृष्णा केसीलाई पठाउने टुंगो लागिसकेको छ,’ उनले भनेका छन् ‘कांग्रेसबाट को हुने भन्ने मलाई थाहा हुने कुरो भएन।’
कांग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले मुख्यमन्त्री चौधरीले आफूलाई बिहीबार नै मन्त्रालय विस्तार गर्न लागेको कुरा गरेको र शुक्रबार पनि त्यही दोहोर्याएको बताए।
‘उहाँले यसो भन्दै आएको धेरै भयो,’ उनले भने ‘तर, आज पनि सरकार विस्तार गर्ने अवस्था देखिँदैन।’
लुम्बिनी सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष पाण्डेले शुक्रबार मात्र नभइ आइतबारका दिनसमेत सरकार बिस्तार हुन सक्ने आधार नदेखिएको सेतोपाटीलाई बताए ।
कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले मन्त्रिपरिषद् विस्तारबारे मुख्यमन्त्रीले आफूसँग छलफल नगरेको बताए।
‘मन्त्रीमा को जाने भन्ने थाहा भएन । दम भए मुख्यमन्त्रीले आफ्नो तरिकाले मन्त्री बाँडफाँट गरे हुन्छ। हामीसँग किन राय सल्लाह लिनुपर्यो,’ पुनले भने, ‘उहाँले पार्टीसँग समन्वय गर्ने, सल्लाह गर्ने गरेको पो! यो सरकार कांग्रेस पार्टीको हो कि हैन भन्ने कुरा त उहाँले बुझ्नु पर्ने हो।’
मन्त्रीमा प्युठानका रोज राणाको नाम पनि चर्चामा छ। यसबारे पनि सभापति पुनले आफूलाई थाहा नभएको बताए। उनले मुख्यमन्त्री चौधरीले पार्टीसँग समन्वय नगरी मनलाग्दी गरे सोच्नुपर्ने बताए।
प्रदेश सभापति पुन संस्थान इतर समूहका हुन्। लुम्बिनी प्रदेशमा संस्थापन पक्षधर मानिने मुख्यमन्त्री चौधरी र दाङकै राजु खनाल गरी हालसम्म दुई जना मात्रै सरकारमा सहभागी छन्।
दुबै एउटै पक्षका भएपछि नेता शेखर कोइराला र महामन्त्री गगन थापा समूह रूष्ट छ । उसले यतिखेर आफ्नो पक्षको नेतालाई मन्त्री बनाउने अडान लिएको हुँदा सरकार विस्तारमा विलम्ब भइरहेको हो।
यो पनि-
लुम्बिनीमा कांग्रेस र माओवादीबीच मन्त्रालय भागबण्डामा रस्साकस्सी
मन्त्रिमण्डल विस्तारको कुरा गर्न मुख्यमन्त्री चौधरी काठमाडौंमा, देउवाले भने- प्रधानमन्त्री फर्किएपछि छलफल गरौंला