अर्थविद् तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष स्वर्णिम वाग्लेले मुलुकले अहिले भोगिरहेको अर्थिक संकट जडको अहिलेको नभइ १५ बर्ष पुरानो भएको बताएका छन् ।
रिपोर्टर्स क्लव नेपालले मंगलबार तुलसीपुरमा आयोजना गरेको व्यवसायीसंग अर्थसम्वाद कार्यक्रममा वाग्लेले सन २००८ देखि बैंकले सजिलो रुपमा कर्जा जारी गर्दै गएपछिको परिणाम अहिलेको अवस्था आएको बताएका हुन्।
सन २००० तिर वर्सेनि केही दर्जनको संख्यामा मात्रै युवा विदेशिने गरेको आकँडा रहेपनि सन् २००६ पछि विदेशिने युवाको संख्या बढेको उनले बताए।
उनीहरुले पठाएको रेमिटेन्सका कारण देश टाप पल्टिनबाट जोगिएको वाग्लेको भनाइ थियो । युवा विदेशिनुलाई गलत भन्न नमिल्ने पनि उनको तर्क थियो।
माओवादी द्वन्द्व, भूकम्प, कोभिड र कुशासनका बीचपनि त्यही रेमिटेन्सले देशको अर्थतन्त्र जोगाउँदै आएको वाग्लेले बताए ।
हुन्डी लगाएत अनौपचारिक रुपमा घर घरमा भित्रने रकम बाहेक औपचारिक रुपमा वार्षिक दस अर्ब रेमिटेन्स राष्ट्र बैंकमा मात्रै थुप्रने गरेपछि सन २०१५ तिर राष्ट्र बैंकले मर्जरको नीति अगाडि सार्नुपरेको उनले बताए ।
‘दुई अर्बको सट्टा आठ अर्ब बैंकको सिलिङ राख्दा बैंकहरु थप एग्रेसिभ हुन वाध्य गरायो,’ वाग्लेले भने ‘ त्यसले गर्दा कर्जा छेलोखेलो हुन गयो र आज कुल करिब ६० अर्ब अर्थतन्त्रको आकार बराबर कर्जा प्रवाह भएको छ।’
त्यो कर्जा घर जग्गामा बढी लगानी भएको र त्यसमा राजनीति, कालोधन, माओवादी युद्धको धन, बैंकमा जम्मा भएको धन, कृषिमा लगानी गर्ने भनिएको पैसा सबै घर जग्गा कारोबारमा गएपछि अहिले समस्या निम्तिएको उनले बताए । त्यस्तै अर्कौ तर्फ उत्पादन घट्दै जानु, प्रतिस्पर्धी क्षमता कम हुनु, आयातमा जोड दिनु जस्ता कारण अहिलेको स्थिति सिर्जना भएको अर्थविद वाग्लेले बताए ।
‘यहाँ उत्पादन नगर्ने र उपभोगका लागि सबै आयात गर्ने प्रवृत्तिले अहिलेको समस्या आएको हो,’ उनले भने।
बिस्तारै छेलोखेलो कर्जालाई सरलीकरण गर्दै जानुपर्नेमा वाह्य संकटले गर्दा राष्ट्र बैंकले एकाएक ब्रेक लगाउँदा अहिलेको असहज अवस्था सिर्जना भएको उनले तर्क गरे ।
यस्तो अवस्थामा दुर्गा प्रसाइँले जस्तो टेबुल ठटाएर ऋण मिनाह गर भन्ने प्रवृत्ति गलत भएको वाग्लले बताए ।
सिमेन्ट उद्योगको विद्युत् कटौती हुनुमा कुलमान घिसिङ वा कसलाई दोष दिने भन्ने कुरा राजनीतिक बेथितिकै जड मान्नु पर्ने उनले बताए।
उद्योगी व्यवसायीले पुराना राजनीतिक दलहरुलाई कब्जामा लिएको र उनीहरुले झन्डै ३० बर्ष पैसा ठेलेर ठिक पार्ने नीति लिएको बताए। एनसेलको काण्ड त्यसैको परिणाम मान्नु पर्ने उनको भनाइ छ।
‘४० अर्ब पुँजीगत राजनीतिक लाभकर किन नतिर्ने चार अर्ब मात्रै सबै राजनीतिक दललाई घुसका रुपमा बाढ्यौं भने सबै सेटिङ गरिहाल्छु भन्ने बिचौलिया जन्मिनु राजनीतिक बेथितिको पराकाष्टा हो,’ उनले भने ।
अहिले विदेशिएका युवा शक्ति कुनै दिन देश फर्किने र त्यसपछि देश फेरि बन्नेमा उनको विश्वास छ । युवा मातृ भूमिमा फर्काउन आशाको दियो जलाउन आवश्यक रहेको भन्दै अहिलेको नैराश्य र युवा पलायन रोकिने आशा व्यक्त गरे।
अन्य दलहरूले मिसन २०८४ भन्न नसुहाउने पनि उनको तर्क थियो ।
‘२० सिट हुँदा त यसरी हल्लाइरहका छौ भने हाम्रो एक सय ४० को बहुमत आएको दिन यो देशमा हामीले के गरौंला,’ उनले भने ‘ त्यसैले मिसन ०८४ हाम्रो ट्रेलर हो र अरुले मिसन ०८४ भन्न लाज मान्नुपर्छ ।’
नेपाल चार्टर एकाउण्टेन्स संघ (ऐक्यान) का पूर्वअध्यक्ष सिए भरत रिजालले ७९ प्रतिशत आयात भारत र चीनबाट हुने हुँदा बढ्दो ब्यापार घाटा सन्तुलन गर्न जरुरी रहेको औंल्याए ।
मुलुकको ६० प्रतिसत जनसंख्या कृषिमा निर्भर रहेपनि राज्य तथा निजी क्षेत्रले कृषिको आधुनिकरणमा दिनुपर्ने जति चासो नदिदा कृषिमा चाहेजति उत्पादन नहुनुले पनि देशको आर्थतन्त्र कमजोर बनेको उनले बताए ।
अर्कोतर्फ ठूला उद्योगी व्यापारीले राज्यलाई कर नतिरी ब्यूरोक्रेसी, मन्त्री तथा प्रधानमन्त्रीलाई गुहार्ने जस्ता प्रवृत्तिले राज्य कमजोर बनेको सिए रिजालले बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका योजना आयोगका उपाध्यक्ष नहकुल केसीले उद्योगी व्यवसायीसंग मिलेर अहिलेको आर्थिक संकट टार्न आफूहरु तयार रहेको बताए। दुई लाख रोजगारी सिर्जना गर्ने, साना तथा मझौला उद्योगहरु स्थापना गर्ने, कृषि, पर्यटनको विकासमा प्रदेश सरकारले ध्यान केन्द्रित गर्दै लैजाने नीति लिएको उनले बताए ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण शर्माले लुम्बिनी प्रदेशका २५ वटा सिमेन्ट उद्योग मध्य चार वटा संचालनमा रहेको र उनीहरुको विद्युत लाइनपनि काटिएको हुँदा व्यापारी निराश रहेको बताए ।