गत वर्षको वैशाख ३० गते स्थानीय तहको चुनावको दिन थियो। स्थानीय एक नेता मतदान गर्न (भोट हाल्न) जाऔँ भन्दै चम्फुरामका घरमा गाडी लिएर पुगे।
कहिल्यै पनि बोलचाल नभएका ती नेता गाडी लिएर घर पुगेको देख्दा चम्फुरामलाई अचम्म लाग्यो।
चम्फुराम नेताको गाडीमा बसेर मतदान केन्द्रसम्म पुगे। ती नेताले मतदान गर्न सहयोग गरे।
चम्फुरामले भने, ‘मलाई केही थाहा थिएन। भोट हाल्ने ठाउँमा पुगेपछि उहाँले सिकाउनु भयो। मैले उहाँले भनेअनुसार नै भोट हालेँ।’
धनगढी–उपमहानगरपालिका–१३, श्रीलंका सुकुम्बासी बस्तीका ५६ वर्षीय चम्फुराम चौधरीको बायाँ गोडा चल्दैन। उनी हिँड्न सक्दैनन्।
हिँडेर मदानस्थल पुग्न नसक्ने भएकाले ती नेता उनलाई लिन पुगेका थिए।
पाँच वर्षअघि आफ्नै घरमा काम गरिहरँदा दाउराले गोडामा चोट लागेको थियो। चोट ठूलो थिएन। घरेलु उपचारमा भर परे। दिन बित्दै जाँदा घाउ निको हुनुको साटो बल्झिँदै गयो। गोडा चल्न छाड्यो, उनी अशक्त भए।
केही पैसा जोरजाम गरेर उपचारका लागि अस्पताल गए तर निकै ठूलो भइसकेको घाउ निको पार्न धेरै पैसा खर्च हुने भयो। उनीसँग पैसा भएन, अस्पताल जान छोडे।
उनी लौरोको सहारले घर वरिपरि थोरै हिँडडुल गर्छन्। काम गर्न नसक्ने भएका छन्। भन्छन्, ‘खुट्टो (गोडा) यस्तो भएपछि कामकाज बन्द छ, केही गर्न सक्दिनँ, कमाउने बाटो रोकिएको छ।’
चम्फुरामकी श्रीमती दिनभरि ज्याला मजदुरी गर्छिन्। उनीहरूका जोठा छोरा घर बनाउने काममा मिस्त्री काम गर्छन्। अर्का छोरा भारतीय समुद्रमा माछा मार्ने काम गर्छन्।
जेठा छोराबुहारी अलग्गै बस्छन्। उनको कमाइ उनकै परिवार चलाउन ठिक्क हुन्छ। भारतमा काम गर्ने कान्छा छोरा कहिलेकाहीँ पैसा पठाउँछन्।
‘छोराहरूसँग पैसा भए पो मलाई दिन्छन्। उनीहरूलाई आफ्नै लागि ठिक्क हुन्छ,’ चम्फुराम भन्छन्, ‘श्रीमतीको पनि उमेर धेरै भइसक्यो, धेरै काम गर्न सक्दिन। घर चलाउनै समस्या छ। उपचार गर्न पैसा छैन।’
त्यसअघिका निर्वाचन (२०७४ साल) मा उनी हिँडेरै मतदान स्थल गएका थिए। प्रतिनिधि सभा र प्रदेश सभा तथा स्थानीय तह निर्वाचनमा मतदान गरेका थिए।
२०७४ सालको निर्वाचनका समयमा नेताहरूले पूर्वकमैया र सुकुम्बासीलाई जग्गाको लालपूर्जा दिने, नदीमा तटबन्ध बनाएर डुबान हुन नदिने, रोजगारी दिने लगायत थुप्रै आश्वासन दिएका थिए। गत वर्षको वैशाखमा भएको स्थानीय चुनावमा पनि केही नेताहरू उनको घरमै पुगे अनि उस्तै आश्वासन दिए।
‘नेताहरूले आफ्नो वाचा पूरा गरिदिए हुन्थ्यो जस्तो लाग्छ तर बोल्नेमात्रै हुन्, पूरा गर्ने कोही होइनन्,’ उनी भन्छन्, ‘चुनावमा भोट हाल्ने दिन हाम्रो गन्ती गर्छन्, हामीलाई खोज्दै आउँछन्, त्यसपछि गायब हुन्छन्।’
चम्फुरामका आमाबाबु कमैया थिए। उनी कमैया भएरै जन्मे। उनले १२ वर्षको उमेरमा आमाबाबुका साथ जमिनदारको घरमा काम सुरु गरे। बहिनी ११ वर्षको उमेरमै कम्लरी भइन्।
कमैयाले आफू बसेको जमिनदारको सबै काम गर्नु गथ्र्यो। चम्फुरामले बाल्यकालमै जोत्ने, खन्ने, गाईबाख्रा चराउने, भाँडा धुने काम गरे। उमेर बढ्दै जाँदा कामको बोझ र श्रम बढ्दै गयो। यसरी नै जीवनको ३५ वर्ष बित्यो।
आफ्नो बाल्यकाल सम्झँदै उनले भने, ‘पढ्ने स्कुल र किताब के हो भन्ने थाहै भएन। आधा जीवन साहुको घरमा काम गरेर बित्यो। अहिले थला परेँ। उपचार गर्ने पैसा छैन।’
सरकारले २०५७ सालमा कमैयामुक्ति घोषणा गर्यो। चम्फुरामको परिवार जमिनदारको बन्धनबाट स्वतन्त्र भयो तर थातथलोको ठेगान भएन। सरकारले कमैया नबस भन्यो तर घरबासको उचित व्यवस्था गरेन।
उनीजस्तै ८० घरपरिवार मुक्तकमैया घरबासको खोजीमा भौंतारिएका थिए। तिनकै भिडमा चम्फुरामको परिवार पनि थियो। घरबासको खोजीमा उनीहरू धनगढी उपमहानगरपालिका–१३ स्थित श्रीलंका पुगे।
त्यो समय त्यहाँ जंगल थियो। ती परिवार जंगल फाँडेर त्यहीँ बस्ने निधोमा पुगे। भोकभोकै धेरै दिन जंगल फाँडेर छाप्रा बनाए। यसरी मुक्तकमैयाहरूले बस्ती बन्यो।
बस्ती बसाउने क्रममा उनीहरूलाई वन कार्यालय र प्रहरीले तुरुन्तै हट्न पटक–पटक दबाब र चेतावनी दिन्थे।
चम्फुरामले भने ‘प्रहरीले यहाँबाट भाग भन्दै माइकिङ गर्थे। कहिलेकाहीँ त हाम्रा छाप्रोमा आगो पनि लगाइदिए।’
बस्ती बसाउन नदिने प्रयास सफल भएन। श्रीलंकामा मुक्तकमैयाहरूको बस्ती बनेरै छाड्यो। चम्फुरामका आमाबाबु त्यहीँ परलोक भए। परिवार चलाउन फेरि अर्काको खेतमा अधियाँ बाली लगाए। उनले धनगढीमा घर बनाउने काममा मजदुरी गरे।
चम्फुराम दम्पतीका चार छोराछोरी जन्मिए। आफूले कमैया भएर दुःख गर्नु परेको र पढ्न नपाएको नियति छोराछोरीले भोग्नु नपरोस् भन्ने कामना थियो। कामनाले मात्र भएन, स्कुल पढाउन सकेनन्।
‘आफूले दुःख पाइयो। छोराछोरी पढाउने धोको थियो तर स्कुल पठाउनै सकिएन। छोराछोरी पढाउने पैसा भएन। काम लगाउनु पर्यो,’ उनले भने।
आखिर कलिलै उमेरमा छोरीहरूको बिहे भयो।
चम्फुराम दम्पती श्रीलंकामा बसेको २२ वर्ष भयो। सरकारले चम्फुरामको परिवारलाई बसोबासकै ठाउँमा पाँच कट्ठा जमिन दिएको छ। त्यहाँ बसेका अन्य मुक्तकमैया परिवारले पनि जमिन पाए।
चम्फुरामले मजदुरी गरेर एउटा घर बनाएका छन्। त्यहीँ धान खेती गर्छन्। त्यो धानले चार महिना जति खान पुग्छ। सरकारले पाँच कट्ठा जमिन छु्ट्ट्याइदिइको भए पनि लालपुर्जा दिएको छैन। अन्य परिवारले पनि पाएका छैनन्। लालपुर्जा नपाउँदा चम्फुरामले आफूलाई सुकुम्बासी अर्थात् भूमिहीन मानेका छन्।
‘पहिला कमैया थियौँ, अहिले सुकुम्बासी भएका छौँ,’ उनी भन्छन्, ‘यहाँ पनि नदीको बाढी पस्छ। कुन दिन उठीबास लाग्छ थाहा छैन।’
श्रीलंकाको मुक्तकमैया बस्ती नजिकै मोहना नदी छ। नदीमा तटबन्ध छैन। बर्खायाममा डुबान हुन्छ। नदीले कटान पनि गर्छ।
त्यो ठाउँको नाम ‘श्रीलंका’ रहनुमा पनि नदीकै कहर जोडिएको छ। बाढीले नदी छोपिएपछि चारैतिर समुद्रझैँ ढाकिन्छ। यसैकारण ठाउँको नाम नै श्रीलंका रहेको बासिन्दाहरूको भनाइ छ।
डुबान र कटानको समस्या त छँदैछ, पिउने पानीको समस्या पनि उत्तिकै छ। लालपुर्जा नहुँदा जमिनको मूल्यांकन छैन। बस्तीका बासिन्दाहरू आर्थिक संकटमा छन्। मजदुरीको आम्दानीले पेट पाल्नै धौधौ हुन्छ। बिरामी पर्दा उपचार गर्ने पैसा हुँदैन। छोराछोरी पढाउनमा पनि यस्तै समस्या छ।
गरिबी उस्तै रहेपनि कमैया बस्नुपर्दाको जस्तो कष्ट भने छैन। कमैया भएर कष्ट खेपेकाहरूले स्वतन्त्रता अनुभव गरेका छन्।
‘कमैया बस्नु भन्दा त अहिले राम्रो छ, आफ्नो खुसी गर्न पाइएको छ,’ चम्फुराम भन्छन्, ‘जीवनको दुःख भने उस्तै छ, समस्यै समस्या छ। हामीलाई हेर्ने कोही भएन। जग्गा पाए पनि लालपूर्जा पाइएन।’
जनप्रतिनिधिले मोहना नदीमा तटबन्ध लगाएर श्रीलंका बस्तीलाई डुबान र कटानबाट जगाउने वचन दिएका भए पनि अहिलेसम्म काम भएको छैन।
धनगढी उपमहानगरपालिका–१३ का वडा सदस्य निशाकुमारी आउजीका अनुसार श्रीलंका बस्तीका बासिन्दालाई लालपुर्जा दिने विषयमा कुनै पनि काम भएको छैन। मोहनामा तटबन्धन बनाउने काम भने ‘जनताको तटबन्ध’ कार्यक्रमबाट हुँदै छ।
श्रीलंका बस्ती पहिला गोदावरी नगरपालिकामा हुँदा पिउने पानीका लागि एउटा ट्यांकी बनेको थियो। त्यही ट्याकीले काम चलेको छ तर पानीको अभाव छ।