घटना एक
घटना २०५८ साल फागुन अन्तिमको हो। साबिक श्रीगाउँ गाविसको श्रीगाउँका कर्णनाथ योगीको मृत्यु भएको थियो। कर्णनाथका पाँचभाइ छोरा, बुहारीहरू र उनकी श्रीमती मेनका किरियामा बसेका थिए। साहिँला छोरा थिए ४५ वर्षीय तारानाथ।
किरियाको आठौँ दिन राति साढे आठ बज्दै थियो। मानिस चिन्न नसकिने अँध्यारो भइसकेको थियो। छरछिमेकीहरू फेरि केही बेरमा आउने गरी आआफ्ना घरतिर गएका थिए। ठिक त्यही समय मुखमा कालोपट्टी बाँधेका एक व्यक्ति घरभित्र पसे। तिनले मेनका र उनका पाँच जना बुहारीहरू बसेको कोठाको ढोका तानेर बाहिरबाट चुकुल लगाइदिए।
लगत्तै मुखमा पट्टी बाँधेका सात जना आए। केहीले पाँचभाइमध्ये तारानाथलाई खुट्टा तानेर घिसार्न थाले। अरू दाजुभाइले माओवादीलाई अनुनय–विनय गरे।
माओवादीहरूले कुनै उल्टै धम्की दिए। एक जनाले हातमा सकेट बम देखउँदै घर उडाइदिने चेतावनी दिए। तिनले चार दाजुभाइलाई अर्को कोठा जान आदेश दिए।
घरै उडाइदिन्छौँ भनेपछि चार दाजुभाइ अर्को कोठामा पसे। माओवादीहरूले बाहिरबाट ढोका बन्द गरिदिए।
घरमा रुवाबासी चल्यो। उनीहरूले झ्याल खोलेर केही समस्या भए किरियापछि छलफल गर्न आग्रह गरे, अनेक पुकारा गरे। माओवादीहरूलाई कुनै पनि पुकाराले छोएन।
तारानाथलाई घरबाट घिसार्दै, कुट्दै लगे। अँध्यारोमा कता लगे, पत्तो भएन। करिब १५ मिनेटपछि बन्दुक पड्केको आवाज आयो। घरमा भएका मानिसहरू चिच्याएर रोए। तारानाथकी श्रीमती विमला बेहोस भइन्। दाजुभाइले बाहरिबाट बन्द ढोका भित्रैबाट फोडे।
बाहिर निस्केर खोज्न हिँडे। घरबाट केही पर तारानाथ सडकमा लडेका थिए। उनका हात सेतो कपडाले पछाडिपट्टि बाँधिएका थिए। आँखामा सेतै कपडाको पट्टी थियो। सेतै कपडा मुखमा कोचिएको थियो।
पेट धारिलो हतियारले चिरिएको थियो। हातका केही औँला छिनाइएका थिए। छातीमा गोलीले छेडेको घाउ थियो। घाउबाट रगत बगिरहेको थियो। त्यो दृश्यले दाजुभाइहरू हुनसम्म आहत भए।
गाउँमा खबर फैलियो, गाउँभरि सन्नाटा छायो। माओवादीले गाउँलेलाई घरबाहिर ननिस्कन उर्दी जारी गरेका थिए। त्यो त्रासको वातावरणबीच नेपाली कांग्रेसका नेता तेजबहादुर बस्नेत केही प्रहरी र चिकित्सकका साथ मध्यरातमा तुलसीपरबाट घटनास्थल श्रीगाउँ पुगे। मुचुल्का तयार भयो, पोस्टमर्टम पनि भयो।
तारानाथका छोरा नवीन १७ वर्ष उमेरका थिए। उनी अलिक परको अर्को घरमा सुत्न गएका थिए। त्यस रात उनलाई बुबाको हत्याबारे जानकारी दिइएन।
भोलिपल्ट बिहान मात्रै आफन्तहरूले घटनास्थल पु¥याए। त्यस दिन माओवादीहरूले ‘नेपाल बन्द’ को उर्दी गरेका थिए। कफ्र्यु लागेको जस्तो गरी चौतर्फी ठप्प थियो।
बाबुको किरिया नसकिँदै दाजुभाइ र आफन्तले तारानाथको दाहसंस्कार गर्नुपर्ने कारुणिक अवस्था सिर्जना भयो।
अर्को दिन बिहान माओवादी कार्यकर्ताले घरनजिकै पिपलको रूखमा हस्तलिखित सूचना टाँसे। त्यसमा तारानाथलाई ‘सुराकी’ भन्ने आरोप लगाइएको थियो। उनको घरजग्गा कब्जा गरेको जनाउ दिइएको थियो। माओवादीहरूले उनको जमिनमा पार्टीको झन्डा पनि फराएका थिए।
नवीन काकाबडाबाका साथ किरियामा बसे। बाबुछोराको किरिया एक साथ चल्यो। कर्णनाथको तेह्रौँ दिनमा तारानाथको पनि काजकिरिया सकियो।
त्यो त्रासदमा विमलाले सन्तान जोगाउनु पहिलो कर्म ठानिन्।
उनले घर र गोठमा भएका सबै चौपाया माया मारिन् अनि छोराछोरी र सासुआमा मेनकासहित घरबाट निस्किन्। गन्तव्यको टुंगो थिएन। उनकी एक जना नन्द राधा योगी तुलसीपुर बसपार्क नजिकै बस्थिन्। उनले शरण दिइन्।
मनमा त्रास जस्ताको तस्तै थियो। कुन दिन के आइलाग्ने हो, केही भेउ थिए।
आजभोलि भन्दाभन्दै नन्दकै शरणमा पाँच वर्ष बित्यो। त्यसपछि उनीहरू भाडामा कोठा लिएर बस्न थाले। भाडामा बस्नमा आफन्तहरूले मद्दत पनि गरे।
तारानाथ २०४१ सालमा सरकारी सेवामा प्रवेश गरेका थिए।
उनले दाङको पश्चिमी विकट क्षेत्र, सल्यान, रुकुम र रोल्पामा वडा सचिव भएर काम गरेका थिए। माओवादीको उद्गम मानिने थवाङमा वडासचिव छँदा २०५४ सालको अन्त्यतिर उनले जागिरबाट राजीनामा गरेका थिए।
द्वन्द्व उत्कर्षमा पुग्दै गर्दा दाङ र रोल्पा आउजाउ गर्न निकै कठिन थियो। दुई थरी बन्दुकको बीचमा पर्ने त्रास थियो। यसकारण तारानाथले निवृत्तिभरण पाउने सेवाअवधि नहुँदै राजीनामा गरेका थिए।
जागिर छाडेपछि परिवारको खर्च चलाउने कठिन भयो। उनले काठको काममा हात हाले। काठ व्यवसायीका रूपमा काम गरेको तीन वर्ष भएको थियो। यतिकैमा ‘सुराकी’ भन्ने आरोप लगाउँदै माओवादीहरूले उनको बीभत्स हत्या गरेका थिए।
योगी परिवार नेपाली कांग्रेस निकट थियो। विमला पार्टीमा क्रियाशील सदस्य थिइन्। सरकारी जागिर छोडे पनि तारानाथ पार्टीमा सक्रिय थिएनन्।
‘मेरा श्रीमान् (तारानाथ) पार्टीमा हुनुहुन्थेन। व्यक्तिगत रिसिबीका कारणले हत्या गरे,’ विमलाले भनिन्, ‘किरिया बसेको मान्छे अपहरण गरेर हत्या गर्नुभन्दा ठूलो जघन्य अपराध अर्को केही हुँदैन।’
तारानाथको हत्यामा संलग्न व्यक्तिका विरुद्ध विमलाले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्। प्रहरीले जाहेरी अघि बढाएन। अहिलेसम्म पनि त्यतिकै छ। घटना भएको २२ वर्ष भयो। विमलाको उमेर ६० वर्ष भयो। न्याय पाउने कुनै छाँटकाँट छैन।
घर छोडेर हिँडेपछि विमला गाउँ फर्केकी छैनन्।
‘अनाहकमा श्रीमानको हत्या भएको ठाउँमा फर्केर जान मन मान्दैन,’ विमला भन्छिन्, ‘मैले छोरालाई पातुखोला काटेर पश्चिम बास बस्ने गरी मलाई कहिल्यै नलैजानू भनेकी छु।’
उनीहरू अहिले पनि तुलसीपुर बजारमा भाडामा बस्ने गरेका छन्। पतिवियोग र छोराको हत्याले आहत आमा मेनका घटनाको ६ वर्षपछि बितिन्। तारानाथका एक जना भाइ गणेशनाथ पनि यही बीचमा बिते।
गणेशले ‘दाइको हालत बनाइदिने’ धम्की पाउने गरेका थिए। शान्ति प्रक्रिया अघि नबढ्दासम्म उनी पनि घरबाहिर लुकीछिपी बसेका थिए।
घटना दुई
तुलसीपुर उपमहानगरपालिका–१२ हेमनगरका २१ वर्षीय ओविराज (अभिनाश) डाँगी पढाइमा तेज थिए।
उनी २०५८ सालमा पोखरामा इन्जिनियरिङका विद्यार्थी थिए। त्यही वर्ष पुस २२ गते सरकारी सुरक्षाकर्मी टोलीले छात्रावासमै उनलाई पक्राउ गर्यो। परिवारमा खबर भएन।
ओविराज धेरै दिन सम्पर्कमा नआउँदा परिवारमा आतेस भयो। फागुन अन्तिमतिर परिवारमा पक्राउको घटना थाहा भयो। घटना भएको २२ वर्ष बित्यो, उनको अवस्था अज्ञात छ।
बुबा गेहेन्द्र छोराको अवस्था पत्ता लगाउन पोखरा पुगे। छोराका साथीहरूले सेनाको टोलीले उनीससहति केहीलाई समातेर लगेको तर त्यसपछि केही थाहा नभएको बताए।
गेहेन्द्र सेनाका हाकिमकहाँ पनि पुगे तर ती हाकिमले दाङको कुनै पनि युवकलाई समातेको छैन भनेर फर्काए। गेहेन्द्र निराश भएर घर पुगे।
उनी घर पुगे तर श्रीमती टीकासँग केही पनि बोलेनन्। टीकाको मनका चिसो पस्यो। धेरै जोड गरेपछि पोखरा पुगेर जे थाहा पाए त्यही जस्ताको तस्तै सुनाए। टीकाको होसहवास उड्यो।
टीकाले जेठा छोरा शालिकलाई पोखरा पठाइन्। बुबाले थाहा पाएको भन्दा बढी उनले पनि केही पत्ता लगाउन सकेनन्। निराश भएर फर्के।
ओविराज ज्युँदै छन् कि मारिए? परिवारलाई आजसम्म कसैले कुनै पनि जवाफ दिएको छैन।
‘आमा भन्दै यताबाट आउँछ कि, उताबाट आउँछ कि जस्तो लागि रहन्छ,’ टीका भन्छिन्, ‘भोको छ कि, नांगो छ कि जस्तो लागिरहन्छ। खाँदाखाँदै छोरो सम्झेर थालमा आँसु खस्छ।’
इन्जिनियर हुन्छ भनेर पढ्न पठाएको छोरो सरकारी सैनिकले बेपत्ता बनाएको २२ वर्षसम्म अत्तोपत्तो नहुँदा आमाको मन सधैँ पिरोलिएको छ, सधैँ उदास छ।
‘छोराकै पिरले उसका बुबा बित्नुभयो। म डाँडामाथिको जूनघाम जस्तै भएकी छु,’ टीका भन्छिन्, ‘बिरामी भइरहन्छु। कतैबाट छोरो आमा भन्दै आउँछ कि, अस्पताल जाऔँ भन्छ कि जस्तो आश लागिरहन्छ।’
टीकालाई छोराको सास चाहिएको छ, सास नभए लास देखाए पनि हुन्थ्यो भन्ने लागेको छ।
‘यतिका वर्ष मेरो छोराको कुरा राज्यले नै लुकाएको छ। शासकहरू आमाको पीडा थाहा पाउँदैनन्,’ टीका भन्छिन्, ‘हत्या गरिएको हो भने पनि यसकारण भएको हो, शव यहाँ छ भनिदिए हुन्थ्यो, चिहान खनेर हेर्न त हुन्थ्यो! छोराको लास नदेख्दासम्म आमाको मन कसरी मान्छ र!’
घटना तीन
हालको तुलसीपुर उपमहानगरपालिका–१३ का बासिन्दा ४५ वर्षीय हरिराज डाँगीलाई २०६० जेठ ९ गते तत्कालीन नेकपा माओवादीका कार्यकर्ताहरूले घरबाट अपहरण गरेर हत्या गरे। हरिराज नेपाली कांग्रेसका स्थानीय नेता थिए।
त्यो बेला उनका छोरा भेषराज १८ वर्षका थिए। घटनापछि त्रासका कारण परिवाजनले गाउँ छोडे। उनले भने, ‘हाम्रो ज्यानको सुरक्षा भएन। आमाले तुलसीपुरमा कोठा भाडामा लिनुभयो र लुकिछिपी बसेर हामीलाई जोगाउनुभयो।’
त्यस बेला ११ कक्षामा पढ्दै गरेका भेषराजले मानसिक तनावका कारण पढाइ अघि बढाउन सकेनन्।
उनले भने ‘बुबाको हत्या भएपछि मानसिक तनाव र आर्थिक समस्याका कारणले मेरो पढाइ रोकियो।’
आमा हरिकुमारी चर्को मानसिक तनावमा परिन्। चिन्तै चिन्ताले बिरामी परिन्। बुबाको हत्या हुनु र आमा थला पर्नुले भेषराजको कलिलो काँधले पारिवारिक जिम्मेवारीको भारी बोक्नुपर्ने भयो।
क्यान्सर रोगले पीडित आमाको उपचारका लागि भेषराजले गाउँको एक बिघा जग्गा बेच्नुप¥यो। ‘पुख्र्यौली जग्गाजमिन थिएन भने हाम्रो परिवार सडकमा भिख माग्ने भइसक्थ्यो,’ उनले भने, ‘मागेर खानु नपरे पनि हामी चरम आर्थिक संकटमा छौँ।’
फरक राजनीतिक आस्थाका कारण बाबु मारिएको २० वर्ष नाघ्यो तर डाँगी परिवारलाई न्यायको अनुभूति भएको छैन। अपहरण र हत्यामा संलग्न व्यक्तिले सजाय पाएको दिन न्यायको अनुभूति हुने भेषराजको भनाइ छ।
घटना चार
२०५८ सालको एक दिन माओवादीहरूले हालको तुलसीपुर उपमहानगर–१३, फूलबारीका बासिन्दा ओमबहादुर वलीको घरजग्गा कब्जा गरेको घोषणा गरे। ओली परिवार थातथलोबाट विस्थापित भयो।
वली २०६२/६३ को जनआन्दोलनपछि शान्ति आयो भन्ने सोचेर गाउँ फर्के तर घर नपुग्दै अपहरणमा परे। नेपालगञ्जबाट दाङ आउँदै गर्दा २०६३ साउन २२ गते बेपत्ता पारिएका वलीको अवस्था अझै अज्ञात छ।
माओवादीहरूले नै अपहरण गरेको परिवारजनको भनाइ छ।
वली शिक्षण पेसामा थिए र नेपाली कांग्रेस समर्थक थिए। श्रीमती र तीन छोराछोरी उनी फर्केर आउँछन् कि भन्ने आशामा बाँचेका छन्।
‘अझै पनि बुबा कतैबाट आउँदै हुनुहुन्छ कि भन्ने लाग्छ,’ २७ वर्षीया छोरी सन्दीपा भन्छिन्, ‘वर्षौंदेखिको हाम्रो प्रतीक्षा साह्रै पीडादायी छ।’
न्यायको प्रतीक्षा
द्वन्द्वपीडित परिवारका सदस्यहरू द्वन्द्वकालका घटनासम्बन्धी संक्रमणकालीन न्यायको विषय टुंगो नलागेकोमा दुःखी भएका छन्। अपराधका घटनामा पीडक जोसुकै भए पनि दण्डबाट उन्मुक्ति दिन नहुने उनीहरूको माग छ।
किरिया बसेकै ठाउँबाट सुराकीको आरोपका अपरहणपछि हत्या गरिएका तारानाथकी पत्नी विमला, छोरो बेपत्ता पारिएकी आमा टीका, घरैबाट अपहृत हरिराजका छोरा भेषराज र शान्ति प्रक्रिया सुरु भईकन अपहरणमा परेका ओमबहादुरीकी छोरी सन्दीपा सबैको साझा आवाज छ– हामी दोषीमाथि कारबाहीको प्रतीक्षामा छौँ, हाम्रो प्रतीक्षा पीडादायी छ, राज्यले बुझोस्।
२०५२ फागुन १ मा सुरु भएको तत्कालीन नेकपा माओवादीको ‘जनयुद्ध’ २०६२ सालसम्म चलेको थियो। २०६३ मंसिर ५ गते विस्तृत शान्ति भएको थियो।
सम्झौतामा मानवअधिकार उल्लंघन र मानवताविरुद्धको अपराधमा संलग्न व्यक्तिहरूका लागि कारबाही सिफारिस गर्न तथा मेलमिलाप गराउन ‘सत्यनिरूपण तथा मेलमिलाप आयोग’ र ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग’ गठन गरिएका थिए।
यी आयोगले न्याय दिलाउन ढिलाइ गर्दा पीडित परिवार पीडामा छटपटाउनु परेको छ।
माओवादी नेता तथा लुम्बिनी सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले द्वन्द्वपीडितका लागि स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको, घाइते र अपांगका लागि स्याहार केन्द्र बनाउने नीति लिइएको, घाइतेलाई उपचारको व्यवस्था गरिएको र द्वन्द्वपीडितका लागि स्वरोजगारमूलक तालिम चलाएको बताए।
मुलुकमा सबैभन्दा बढी द्वन्द्व पीडितको संख्या लुम्बिनी प्रदेशमै छ। यस प्रदेशमा झन्डै २२ हजार पीडित रहेको तथ्यांक छ।