विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा सोमबार राष्ट्रिय सभाका लागि उम्मेदवारी दर्ता गर्दा ओखलढुंगाकी चम्पादेवी कार्की माओवादीका पुराना कार्यकर्ताहरूबाट घेरिएकी थिइन्।
उनीसँग फोटो खिचाउनेहरू धेरै थिए। त्यो हुलमा उनका पुराना साथीहरू पनि थिए। पालैसित फोटो खिच्दै, नचिनेकाहरूसँग परिचय पनि गर्दै कार्कीले उम्मेदवारी दर्ता गरिन्।
उम्मेदवारी दर्ता गरेर निस्किएपछि उनलाई सञ्चारकर्मीले सोधेका थिए, ‘एकैपटक राष्ट्रिय सभा चुनावको उम्मेदवार बन्नुभयो कस्तो लागिरहेको छ?’
जनप्रतिनिधि बन्ने यात्रामा अग्रसर भएकोमा खुसी लागेको प्रतिक्रिया दिँदै चम्पाले भनिन्, ‘म एकैचोटि राष्ट्रिय सभाको उम्मेदवार बनेको होइन। यसअघि संविधान सभाको दुई वटै निर्वाचन र २०७९ को प्रतिनिधि सभा निर्वाचनमा म समानुपातिक उम्मेदवार थिएँ। तर, तीनै पटक मेरो नाम बन्द सूचीमै सीमित भयो।’
यसरी तीन पटक बन्दसूचीमा सीमित बनेकी कार्की यसपटक सत्ता गठबन्धनका तर्फबाट कोशीमा महिला क्लस्टरबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार बनेकी छन्।
मुख्य प्रतिस्पर्धी एमालेभन्दा सत्ता गठबन्धनसँग मतभार धेरै छ। त्यसैले अन्यबाट उम्मेदवारी दिएका कांग्रेस नेता कृष्णप्रसाद सिटौला र माओवादीकी कार्की दुवैले जितप्रति ढुक्क रहेको प्रतिक्रिया दिए।
अहिले माओवादी केन्द्रीय सदस्य र ओखलढुंगा जिल्ला इन्चार्ज रहेकी कार्की अनेम संघ क्रान्तिकारी केन्द्रीय कमिटीकी सचिवसमेत हुन्। कुनैबेला माओवादी सशस्त्र विद्रोहमा छापामार बनेर युद्ध लडेकी कार्की जनयुद्धकी घाइतेसमेत हुन्।
‘उहाँ पार्टीमा लामो समयदेखि सक्रिय रहनुभएको नेता हो,’ कार्कीको प्रस्तावकसमेत रहेका प्रदेशका मन्त्री एवम् माओवादी कोशीका सचिव गणेश उप्रेतीले भने, ‘लडाइँमा हात गुमाएको घाइते पनि हो उहाँ।’
उदयपुरका कांग्रेस प्रदेश सांसद रामकुमार खत्री उनको समर्थक बसेका छन्।
चम्पालाई नजिकबाट चिन्ने माओवादी नेताहरूका अनुसार २०५७ को वैशाखमा उनी छापामारका रूपमा ‘होलटाइमर’ बनेकी थिइन्।
त्यसअघि २०५४ सालको स्थानीय निर्वाचनमा एमालेबाट साविक मूलखर्क गाविस वडा नम्बर ६ मा महिला सदस्यका रूपमा उनी निर्वाचित बनेकी थिइन्।
‘२०५४ देखि ०५६ सम्म जनप्रतिनिधिका रूपमा काम गरिरहेको थिएँ, त्यहीबेला पार्ट टाइमरका रूपमा माओवादीमा पनि काम थालेको थिएँ,’ ५० वर्षीया कार्कीले विगतको स्मरण गरिन्, ‘२०५७ वैशाखदेखि चाहिँ छापामार बनेर पूर्णकालीन रूपमा युद्धमा होमिएँ।’
उनी युद्धमा पूर्णकालीन रूपमा होमिएको १४ महिना हुँदै थियो। माओवादीले २०५८ असारमा रामेछापको धोवीचौकीमा मोर्चा खडा गरेको थियो। आक्रमण गर्ने समूहमा उनी पनि सामेल थिइन्।
‘मोर्चामा म पनि संलग्न थिएँ,’ युद्धका कुरा धेरै नगरौं भन्दै उनले थपिन्, ‘म ओखलढुंगामा ब्लकिङमा खटिएको थिएँ। त्यही मोर्चामा म बम आक्रमणमा परेँ। मेरो दाहिने हात गुम्यो।’
राजनीतिमै सक्रिय पतिसहित सुनकोशी गाउँपालिकाको मूलखर्कमा बस्दै आएकी कार्कीले २०७४ को स्थानीय चुनाव पनि लडेकी थिइन्। माओवादीका तर्फबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेकी उनी तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भइन्।
यसरी २०५४ देखि ५६ सम्म दुई वर्ष महिला सदस्यका रूपमा जनप्रतिनिधि भएको अनुभव संगालेकी कार्की अब संसदको माथिल्लो सदनको उम्मेदवार बनेकी छन्।
‘हामीले राजनीतिक यात्राको सुरूआत पद र सत्ताका लागि गरेका थिएनौं,’ उम्मेदवारी दर्तास्थलमा उनले भनिन्, ‘मुक्ति र स्वतन्त्रताका लागि लागेर युद्ध लडेको हो। अब चाहिँ त्यसरी लडेर ल्याएको व्यवस्थामै जनप्रतिनिधि बन्ने क्रममा छु। खुसी लागेको छ।’
उम्मेदवारी दर्तास्थलमा भेला भएका माओवादी नेता कार्यकर्ताहरूले जनयुद्धमा घाइते भएकी र निरन्तर पार्टीमै सक्रिय रहेकी चम्पाले राष्ट्रिय सभामा पाएको अवसर उनका लागि न्याय भएको बताइरहेका थिए।
‘आकांक्षी स्वाभाविक रूपमा धेरै हुन्छौं, अवसर पाउने थोरै हुन्छौं,’ कार्कीका प्रस्तावक बनेका मन्त्री उप्रेतीले थपे, ‘पार्टीको पुरानो र इमानदार योद्धालाई उम्मेदवार बनाउने विषयले उहाँको योगदानको कदर भएको छ। उहाँले राष्ट्रिय सभामा पुगेर राम्रो योगदान गर्नुहुनेछ भन्नेमा हामी विश्वस्त छौं।’