राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिममा ६ जनाले उम्मेदवारी दिएका छन्।
सत्तापक्षले काठमाडौंमा सहमति गरेअनुसार यहाँ नेपाली कांग्रेसबाट २ र नेकपा माओबादीबाट १ जनाले उम्मेदवारी दिएका हुन्। प्रतिपक्षी दल नेकपा एमालेले रिक्त हुने तीनै स्थानका लागि उम्मेद्वारी दर्ता गरेको छ।
यसअघि सत्तागठबन्धमा रहेका अन्य दल नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले पनि राष्ट्रिय सभाका लागि भाग पाउनुपर्ने माग राखेका थिए तर, गठबन्धनभित्र उनीहरूको त्यो माग पूरा भएन।
नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टलाई नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य पदको उम्मेदवार बनाएको छ। उनी कैलालीको धनगढी–उपमहानगरपालिका–१२ का बासिन्दा हुन्। भट्ट २०३४ सालमा नेपाल विद्यार्थी संघको सदस्य बनेका थिए। २०३६ सालमा बहुदलको पक्षमा लागे।
पञ्चायतभित्र पसेर पञ्चायतलाई कमजोर बनाउनुपर्छ भन्ने नीतिअनुरूप २०४३ सालमा १२ नम्वर वडाको अध्यक्ष पदमा लडे।
उनी २०४६ सालको व्यवस्था परिवर्तनको आन्दोलनमा पनि उत्तिकै सक्रिय भए। त्यसक्रममा घाइते भएको उनले बताए।
२०४९ सालको पहिलो स्थानीय तह निर्वाचनमा उनले वडाध्यक्ष जितेका थिए।
२०५४ सालमा पार्टीको तर्फबाट धनगढी नगर सदस्य बने। त्यसपछि कांग्रेसको जिल्ला समिति सदस्य बने।
पार्टी विभाजनका बेला उनी पार्टी सभापति शेरबहादुर देउवाको खेमातिर लागेका थिए।
२०६२ सालमा चैत्र २८ पछि एकीकृत कांग्रेसको जिल्ला उप–सभापति बने।
उनी अहिले नेपाली कांग्रेस कैलालीको सभापति छन्।
पार्टीप्रति वफादार भएर लागेकाले त्यसको मूल्यांकन भएको उनको बुझाइ छ।
‘नगरपालिका, गाउँपालिकामा कांग्रेसका जिम्मेवार साथी छन्, उसै पनि कांग्रेसको बाहुल्यता छ, त्यसैमाथि गठबन्धन पनि भएकाले चुनाव सजिलै जितिन्छ,’ उनले भने।
नेपाली कांग्रेस कञ्चनपुरका नेता बलदेव बोहरा बेदकोट नगरपालिका– ७ का स्थानीय हुन्। उनको पुर्ख्यौली घर डडेल्धुरा हो।
उनी २०२२ सालमा भारत प्रवासमा रहेकै बेला पार्टीको राजनीतिमा प्रवेश गरेका थिए। त्यतिबेला उनी नेपाल–भारत विद्यार्थी संगठनमा आबद्ध भए। नेपाल फर्किएपछि पार्टीको सक्रिय राजनीतिमा होमिए।
२०४९ सालमा उनी कञ्चनपुर जिल्लाको पहिलो जिल्ला विकास समितिको सभापति बने। उनी संविधान सभामा समानुपातिक सांसद पनि भइसकेका छन्।
‘पार्टीमा लागेको धेरै वर्ष भयो कञ्चनपुरमा पहिलो जिल्ला संगठन खोल्ने मान्छे, मै हुँ, अहिले पार्टीले मूल्यांकन गरेर उम्मेदवार बनाएको छ, त्यहि जिम्मेवारीलाई पूरा गर्नेछु,’ उनले भने।
नेकपा (माओवादी केन्द्र) बाट सुदूरपश्चिममा महिला कोटामा रेणु चन्दले उम्मेदवारी दर्ता गरेकी छन्। उनी बैतडीको दशरथ नगरपालिका–९ ग्वालेककी हुन्।
उनी आफ्नो बुवालाई राजनीतिक आदर्श मान्छिन्।
सामाजिक विभेद हटाउनु पर्छ भन्ने हुटहुटी बोकेर राजनितिमा प्रवेश गरेको उनले बताइन्।
उनी २०६४ सालको संविधान सभामा समानुपातिक तर्फ सभासद थिइन्।
उनले राष्ट्रिय सभा निर्वाचनलाई फरक चुनावका रूपमा हेरेकी छिन्।
‘अरू चुनावमा जनताले नेतालाई भोट हाल्छन्, यसमा नेताले अर्काे नेतालाई भोट हाल्छन्, बाहिरबाट हेर्दा जति सजिलो छ भनेर यो चुनावलाई हेरिए पनि भित्र त्यति सजिलो छैन,’ उनले भनिन्।
नेकपा (माओवादी केन्द्र) की पोलिटब्युरो सदस्य हुँदै उनले प्रदेशको विभिन्न जिल्लामा इन्चार्ज भएर जिम्मेवारी सम्हालेकी छन्।
सुदूरपश्चिम प्रदेशमा रिक्त हुन लागेका तीनै सिटमा एमालेले उम्मेदवारी दर्ता गरेको छ।
महिलातर्फ कैलालीकी सावित्रा घिमिरे, अपाङ्गतारअल्पसंख्यकतर्फ कैलालीकै रामचन्द्र जोशी र अन्य क्लस्टरबाट कञ्चनपुरका ईश्वरीप्रसाद खरेलले उम्मेदवारी दर्ता गरेका हुन्।
महिला क्लस्टरबाट उम्मेदवारी दिएकी सावित्रा कैलालीको गोदावरी नगरपालिका–१ की हुन्। बाल्यावस्थादेखि उनले बहुदलीय व्यवस्थाबारे अध्ययन गरेकी थिइन्। किताबको प्रेरणाले उनी राजनीतिमा होमिएको बताउँछिन्।
उनी अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य बनिसकेकी छन्। २०४६ सालमा पार्टीको सदस्य बनेकी उनी २०४७ सालदेखि निरन्तर पार्टी कमिटीमा सक्रिय छिन्।
वडा, गाउँ, इलाका, जिल्ला हुँदै उनी पार्टीको प्रदेश कमिटी सदस्य बनेकी थिइन्। अहिले भने उनी प्रदेश कमिटीमा छैनन्। अहिले अखिल नेपाल महिला संघको केन्द्रीय सल्लाहकार छिन्। अहिलेको परिस्थितिमा राष्ट्रिय सभाको उम्मेदवार आफूलाई बनाएकोमा उनी पार्टीलाई धन्यवाद दिन्छिन्।
अपाङ्गतातर्फ कैलालीको धनगढी उपमहानगरपालिका–५ का रामचन्द्र जोशीले उम्मेदवारी दर्ता गरेकी छन्।
डोटीमा जन्मेका उनी २०४५ सालमा परिवारसँग कैलालीको धनगढी उपमहानगरपालिका बसाइँ सरे।
उनी २०४९ सालमा नेकपा (एमाले) को सदस्य बने। त्यसपछि पार्टीमा सक्रिय रहे। वडा, नगर कमिटी हुँदै अहिले जोशी जिल्लाको कमिटीमा सचिवालय सदस्य छन्।
जोशीले लामोसमयसम्म धनगढी–५ तारानगरमा रहेको राष्ट्रिय आधारभूत विद्यालयमा पढाउने काम पनि गरे। उनले त्यहाँ २०४६ सालदेखि निजी स्रोत र पछि विशेष दरबन्दी पाएर २०७२ साल कात्तिकसम्म पढाएका थिए।
‘पार्टीमा गरेको कामको मूल्यांकनको आधारमा राष्ट्रिय सभा सदस्य जस्तो गरिमामय पदमा पार्टी उम्मेदवार बनाएकोमा म पार्टीप्रति धन्यवाद दिन्छु, हारजित जे भए पनि उम्मेदवार भएर चुनाव लड्न पनि अवसरमा हेरेको छु,’ उनले भने।
उनी अहिले ह्विलचेयरको सहायताले हिँडडुल गर्छन्।
भीमदत्त नगरपालिका– १८ विष्णुटोलका ईश्वरीप्रसाद खरेल सुदूरपश्चिम प्रदेशको अन्य कोटाबाट उम्मेदवारी दिएका छन्।
८ वर्षको हुँदा उनी परिवारसँग पुर्खाैली घर गुल्मीबाट कञ्चनपुर आएका थिए। २०३६ सालमै विद्यार्थी आन्दोलनमा जोडिएका उनी पञ्चायत विरोधी विद्यार्थी आन्दोलनमा पनि जोडिएको बताउँछन्। २०३७ सालमा अनेरास्ववियूमा आबद्ध भए।
नेकपा माले हुँदै पार्टी एकीकरणपछि एमालेमा पूर्णकालीन भए। उनले २०४८ सालमा स्नातकसम्मको पढाइ पूरा गरेका छन्।
२०४९ सालको स्थानीय निर्वाचनमा महेन्द्रनगर नगरपालिका वडा नम्वर १८ मा अध्यक्ष निर्वाचित भए। २०५४ सालमा तत्कालिन महेन्द्रनगर नगरपालिकाको उपमेयर बने। त्यसपछि पार्टीको जिल्ला कमिटीको सदस्य हुँदै अध्यक्षसम्मको यात्रा तय गरे।
अहिले पार्टीको केन्द्रीय लेखा आयोगको सचिवालय सदस्य छन्।
‘गठबन्धनको चुनौती छ, सम्पूर्ण शक्ति एमालेलाई हराउन लागेपरेका छन्। तर पनि उनीहरूभित्र पनि विरोध भएकाले असन्तुष्टहरूले हामीलाई मतदान गर्नेछन्,’ उनले भने।
(माओवादी केन्द्र)का हरिराम चौधरी र महेश महरा तथा नेकपा नेकपा एमालेका इन्दु कडरियाको पदावधि सकिएर रिक्त हुन लागेको राष्ट्रिय सभा सदस्य पदमा चुनाव हुन लागेको हो।
माघ ११ गते हुने निर्वाचनका लागि सोमबार दलहरूले उम्मेदवारी दर्ता गराएका छन्।
राष्ट्रियसभामा उपमहानगरपालिका र नगरपालिकाका प्रमुख/उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष र प्रदेशसभाका सांसदले मतदान गर्नेछन्। स्थानीय तहका प्रमुख वा अध्यक्ष, उपप्रमुख वा उपाध्यक्षको मतभार १९ र प्रदेश सभा सदस्यको मतभार ५३ काय गरिएको छ।
सुदूरपश्चिममा ५३ जना प्रदेशसभा सदस्य हुन्छन्। बझाङबाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएकाले हाल ५२ जना सांसद छन्। जसमा नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपाका १ र स्वतन्त्र १ जना सांसद छन्।
सुदूरपश्चिमका ८८ मध्ये पालिकाको प्रमुख र अध्यक्षमा ४० जना नेपाली कांग्रेसबाट जितेर आएका छन्। यस्तै ४८ जनाले उपप्रमुख वा उपाध्यक्षमा जितेका छन्। यसरी कांग्रेससित स्थानीय तहमा १ हजार ६ सय ७२ मतभार छ। प्रदेश सभामा रहेका १८ जना सांसदको मतभार ९५४ हुन्छ। कांग्रेससित राष्ट्रिय सभा निर्वाचनको लागि २ हजार ६ सय २६ मतभार रहेको छ।
पालिकाका प्रमुख वा अध्यक्षमा १४ र उपप्रमुख वा उपाध्यक्षमा १० गरी माओवादीसित स्थानीय तहबाट ४ सय ५६ मतभार छ। यस्तै ११ जना प्रदेश सांसदको मतभार ५ सय ८३ हुन्छ। उसित जम्मा १ हजार ३९ मतभार छ।
यस्तै नागरिक उन्मुक्तिले पार्टीले पालिकाको प्रमुख वा अध्यक्षमा ४ र उपप्रमुख वा उपाध्यक्षमा ३ ठाउँमा जितेको छ । उसित स्थानीय तहको १ सय ३३ र प्रदेश सभाका ७ सांसदको ३ सय ७१ गरी मतभार ५०४ रहेको छ।
नेकपा एकीकृत समाजवादीबाट स्थानीय तहमा २ प्रमुख र ३ उपप्रमुख गरी मतभार ९५ छ र प्रदेश सभामा चार जना सांसदको २ सय १२ गरी मतभार ३०७ रहेको छ।
स्थानीय तहमा २६ प्रमुख र २३ उपप्रमुख जितेको एमालेसित स्थानीय तहको मतभार ९३१ र १० प्रदेश सभा सांसदको मतभार ५३० गरी जम्मा मतभार १ हजार ४ सय ६१ रहेको छ।
स्वतन्त्र रुपमा चुनाव लडेर जितेका प्रमुख २ र उपप्रमुख १ जनाको मतभार ५७ र प्रदेश सभा सदस्य १ जनाको ५३ गरी उनीहरूको मतभार ११० छ।
१ जना प्रदेश सांसद मात्रै रहेको राप्रपाको मतभार ५३ छ।