काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले आफ्नो कार्यकक्षमा महत्वपूर्ण कागजात भएको कारण ताला लगाइएको बताएका छन्।
मंगलबार कार्यकक्षमा व्यक्तिगत सामान र महानगरका गोप्य तथा महत्वपूर्ण कागजात कार्यकक्षमा यतिकै राखिएको हुँदा ताला लगाइएको प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले बताएका हुन्।
मेयर बालेन शाहको सचिवालयले आफू आउने थाहा पाएपछि ताला नलगाएको उनको दाबी छ।
'हिजो सञ्चार माध्यममा म आउने भएपछि कार्यकक्षमा ताला लगाइएको भन्ने खबर आएको रहेछ,' उनले भने, 'त्यसो होइन। सोमबार कर्मचारीलाई निलम्बन गरेर म घर गएको थिएँ। मेरो सबै व्यक्तिगत सामान र कार्यालयको गोप्य तथा महत्वपूर्ण कागजातहरू टेबलमा यतिकै राखिएको छ। म लामो समय एक्कासि बिदामा बसेको र फाइलहरू छरपस्ट हुँदा ताला लगाइएको हो। छानबिन समितिले प्रतिवेदन बुझाएपछि मात्रै म आउँछु भनेर मेयरलाई भनेको छु। हाम्रो कुराकानी निरन्तर भइरहेको छ।'
गत सोमबार मेयरकै निर्देशनमा आठौं तहसम्मको कर्मचारीलाई आफैंले निलम्बन गरी उनी छिट्टै घर गएका थिए। त्यस्तै, आगामी नगर बैठकमा पास हुनेगरी सचिवालयका कर्मचारीलाई भने मेयरले निलम्बन गरेका थिए।
आफ्नो नाम मुछिएको घटनामा स्वतन्त्र ढंगले छानबिन हुन दिन पनि नैतिकताका आधारमा आफू कार्यालयमा उपस्थित नभएको उनको जिकिर छ। त्यसमाथि छानबिन भइञ्जेल बिदामा बस्न आग्रह गरेपछि मेयरको आदेश समेत मानेको उनी बताउँछन्।
तर वरिष्ठ शाखा अधिकृत भगवती बिडारीले आफ्नी छोरी सुप्रिया ढुंगेलको नाम समावेश गर्न अनेकौं जुक्ति लगाउँदा आफूले एउटा कागजमा झुक्किएर हस्ताक्षर भएको उनी स्वीकार्छन्।
'सुरूमा प्रमाणीकरण गर्ने बेला छ जना लेखिएको फाइल ल्याइएको थियो,' उनले भने, 'त्यो देखेपछि यो होइन सच्याउनुस् भनेर पठाएँ। पछि पहिलो कागजमा सच्याएको देखेपछि सबै कागजमा सच्याइयो होला भनेर विश्वास गरेँ। दोस्रो पानामा त निज कर्मचारीहरूको कार्यसम्पादन मूल्यांकन गरेर मात्रै म्याद थप्नु भनेर समेत लेखेको थिएँ। तर उहाँले चलाखीपूर्ण दोस्रोपटक फाइल ल्याउँदा दोस्रो कागजमा नाम घुसाउनु भएछ।'
तर कार्यपालिकाको आधिकारिक रजिष्ट्रारमा पाँच जनाको नाम टाँसिएको उनको जिकिर छ।
यस्तै, मेयर बालेनले आफ्नो सरूवा गर्न सम्बन्धित निकायमा आग्रह गरेको गलत भएको उनको दाबी छ।
'यो त आजको कुरा हुँदै होइन, म महानगरमा आएको नै १६ महिना भइसक्यो। एकै ठाउँमा धेरै बस्न हुँदैन,' उनले भने, 'महानगरमा १२ महिना काम गरिसकेपछि म स्वयंले सम्बन्धित निकायमा गएर अब मेरो सरूवा गरिदिनुपर्यो भनेर भनेको थिएँ।'
यस्तै, मेयर बालेनका स्वकीय सचिव भूपदेव शाहले पनि अहिले पनि प्रमुख प्रशासकीय अधिकृत अधिकारीको कोठामा ताला नै लगाइएको बताए।
'छानबिन भइरहेका बेला उहाँको कार्यकक्ष बन्द हुनुपर्छ भन्ने समान्य कुरा हो,' शाहले भने, 'छानबिन समितिले प्रतिवेदन नबुझाएसम्म उहाँको कोठा बन्द नै हुन्छ।’
यस्तै स्वकीय सचिव शाहले निलम्बनमा परेकाहरू निर्दोष साबित भए फूलमालाले स्वागत गर्ने बताए।
'अधिकृतको मात्र कुरा होइन। यदि छानबिन समितिले निलम्बनमा परेकाहरू निर्दोष हुनुहुन्छ भन्यो भने त हामी फूलमाला लगाएर नै स्वागत गर्छौं नि। तर मूलभूत कुरा छानबिन समितिले छानबिन सक्नुपर्यो।'
पुसमा बसेको नगर कार्यपालिका बैठकले वडा नम्बर १९ को स्वास्थ्य प्रवर्द्धन केन्द्रमा पाँच जना कर्मचारीलाई निरन्तरता दिने निर्णय गरेको थियो। तर त्यसमा वरिष्ठ शाखा अधिकृत भगवती बिडारीले नियतवश आफ्नी छोरी सुप्रिया ढुंगेलको नाम उल्लेख गरी ६ जना बनाएको आरोप छ।
यसमा प्रमुख प्रशासकीय अधिकृत अधिकारीको पनि संलग्नता भेटिएपछि सचिवालयले उनलाई छानबिन नसकुञ्जेल बिदामा बस्न भनेको थियो। तर छानबिन सकिनुअगावै अधिकारी आउने थाहा पाएपछि सचिवालयले ताला लगाएको सचिवालयको दाबी छ।
उक्त प्रवर्द्धन केन्द्र 'द मान्डुस् फ्रान्स' को आर्थिक सहयोगमा चलिरहेको थियो। सम्झौता अवधि सकिएपछि महानगरले सञ्चालन गर्ने भनेर कार्यपालिकाले निर्णय गरेको थियो।
यस्तै, गत सोमबार नै महानगरले सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारीलाई निलम्बन गरेको थियो।
यो घटनामा सहरी योजना आयोगका उपाध्यक्ष सुमननरसिंह राजभण्डारीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ।
उक्त समितिमा कानुनी सल्लाहकार ओमप्रकाश अर्याल र प्रशासन विभागका उपनिर्देशक प्रवीण प्याकुरेल छन्।
छानबिन प्रतिवेदनको सुझावअनुसार उनीहरूमाथि कारबाही गरिने महानगरले जनाएको छ।
सम्बन्धित समाचारः
काठमाडौं महानगरले गर्यो तीन कर्मचारीलाई निलम्बन
मेयर बालेनको सचिवालयले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगायो ताला