नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले एमालेको प्राथमिकतामा सरकार नरहेको बताएका छन्।
प्रेस चौतारी नेपाल बाँकेले सोमबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, 'अहिले हाम्रो प्राथमिकताका सरकार होइन, जनताका समस्याप्रति चिन्तित भएका छौं।'
वर्तमान सरकारलाई जनताका समस्या सम्बोधन गर्न र विकास तथा समृद्धिका यात्रामा ध्यान दिन उनले सुझाव दिए।
त्यस्तै कम्युनिस्ट पार्टीबीच तत्काल पार्टी एकताको सम्भावना नरहेको पनि उनले उल्लेख गरे।
'विगतमा सकारात्मक सोचका साथ पार्टी एकता भएको थियो। तर सफल हुन सकेन। अब नेताको असफल एकताका पछि होइन, कार्यकर्ता र जनताको एकता गर्दै पार्टीलाई बलियो शक्तिका रूपमा स्थापित गर्न लागि परेका छौं,' उनले भने।
प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा एमाले पोलिटब्युरो सदस्य सुजिता शाक्य, खेममान खड्का, केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य सूर्य ढकाल लगायत सहभागी थिए।