मधेस प्रदेश सरकारमा आबद्ध गठबन्धन दलहरूबीच विवाद चर्किएको छ।
प्रदेशको नामकरण र प्रदेश राजधानी घोषणा भएको सम्झनामा सरकारले बुधबार आयोजना गरेको मधेस स्वाभिमान दिवसमा जनता समाजवादी पार्टी (जसपा) ले एकलौटी गरेको भन्दै गठबन्धनका चार वटा दलले प्रतिपक्षी नेकपा एमालेसँग मिलेर छुट्टै कार्यक्रम गरेका छन्।
गठबन्धनभित्र छलफलै नगरी मुख्यमन्त्री सरोजकुमार यादवले जसपा अध्यक्ष उपेन्द्र यादवलाई स्वाभिमान दिवसको प्रमुख अतिथि बनाएको निर्णयप्रति आपत्ति जनाउँदै चार दलले अलग्गै कार्यक्रम गरेका हुन्।
माओवादीका संसदीय दलका नेता भरत साहको अध्यक्षतामा प्रदेश सभाको सभाकक्षमा नेकपा एमाले, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी र लोसपाका मन्त्री तथा सांसदहरूले नामकरण र राजधानी तोकिएको दिन सम्झिँदै आआफ्ना मन्तव्य राखेर स्वाभिमान दिवस मनाएका हुन्।
जनकपुरस्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा मुख्यमन्त्री यादवको अध्यक्षतामा प्रमुख अतिथि उपेन्द्र यादव समेतको सहभागितामा, नेपाली कांग्रेस र जसपाले स्वाभिमान दिवस मनाएका छन्।
एमाले सहितका दलहरूसँग बाँकी सत्तारूढ दलले प्रदेशसभा हलमा कार्यक्रम गरिरहेको बेला मुख्यमन्त्रीको सन्देश बोकेर अर्थमन्त्री सञ्जय यादव प्रदेशसभा पुगेका थिए। त्यहाँ कार्यक्रम गरिरहेका सांसद तथा मन्त्रीहरूलाई निधि भवनमा हिँड्न उनले आग्रह गरेका थिए। माओवादी नेता एवं उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सुनिता यादव मात्रै उनको आग्रह मानेर मुख्यमन्त्रीसँग कार्यक्रम मनाउन पुगिन्।
जनमत पार्टीबाट शिक्षा तथा संस्कृति मन्त्री महेश यादवले मुख्यमन्त्रीले सरकारको कार्यक्रमलाई एकलौटी गरेर पार्टीको कार्यक्रमजस्तो बनाउन खोजेपछि आफुहरु सबै दलहरुलाई समेटेर स्वभिमान दिवस मनाउन खोजेको बताए ।
‘मुख्यमन्त्रीले दलभन्दा माथि नउठेर हैकमवादी शैलीमा प्रदेश सरकारको कार्यक्रमलाई पार्टीकरण गर्ने जुन प्रवृत्ति देखिएको छ, त्यसको विरोधमा हामीले छुट्टै कार्यक्रम गरेका हौं,’ उनले भने, ‘गठबन्धनमा आबद्ध दलका नेताहरूसँग सल्लाहै नगरी कार्यक्रम गर्ने? गठबन्धनमा कुनै छलफलै नगर्ने अनि कमजोरी हुँदा गल्ती भयो भनेर क्षमा दिनुस् भन्ने! मुख्यमन्त्रीज्यूले क्याबिनेटमा छलफल गर्नुपर्ने कुरा पनि गर्दैनन्। सबैको सहभागितामा दिवस मनाउने कुरा थियो। तर दल विशेषको नेतालाई बोलाएर तिनलाई मसिहा देखाउने प्रयास भयो। यो प्रवृत्ति ठीक होइन।’
माओवादी संसदीय दलका नेता साहले मुख्यमन्त्री यादवले स्वाभिमान दिवसलाई पार्टी विशेषको कार्यक्रम गर्न खोजेपछि आफूहरूले सबै दललाई समेट्ने प्रयास गरेर छुट्टै कार्यक्रम गरेको बताए।
‘प्रदेश सरकारले ओजपूर्ण कार्यक्रमलाई हलुको बनायो। पार्टीकरण गर्न खोज्यो। आजको कार्यक्रममा सबै उत्पीडित वर्ग समुदाय र वर्गको कार्यक्रम बनाउनबाट चुक्यो,’ साहले भने, ‘अन्तिम समयमा आएर कुनै नेता विशेषलाई प्रमुख अतिथि बनाउने हामीकहाँ सूचना आएपछि हामी अलग्गै कार्यक्रम गरेर सबैलाई समेट्न खोज्यौं।’
यद्यपी प्रदेश सरकारले एकलौटी गरेको कुरामा कुनै सत्यता नरहेको जसपा सांसद एवं ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्री सिंगासन सा कलवारले बताए।
‘असन्तुष्टि थियो भने आफ्ना कुराहरू ती दलका नेताहरूले राख्दा हुन्थ्यो त! मुख्यमन्त्रीज्यूले हैकमवादी चरित्र देखाउनुभएको होइन, सबैलाई मिलाएरै जान खोज्नुभएको हो,’ मन्त्री कलवारले भने।
प्रमुख अतिथिको विषयमा दलहरूबीच छलफल भएको वा नभएको विषयमा आफूलाई केही थाहा नभएको उनको भनाइ छ।
स्वाभिमान दिवस मनाउनुअघि मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो एक वर्षे कार्यकालको उपलब्धि सार्वजनिक गर्ने क्रममा जनमत पार्टीले प्रदर्शन गरेको थियो।
प्रदेश सरकारको उपलब्धि सार्वजनिक भइरहेकै ठाउँमा जनकपुरस्थित महेन्द्र नरायण निधि मिथिला सांस्कृति भवनभित्र पसेर जनमत पार्टीका नेता कार्यकर्ताहरूले मधेस प्रदेश सरकार विरूद्ध प्रदर्शन गरेका थिए।
उनीहरूले विगत ६ वर्षको अवधिमा जसपा नेतृत्वको प्रदेश सरकारले गरेको विभिन्न भ्रष्टाचार काण्डहरूको छानबिन गरी कारबाही गर्न माग गर्दै प्रदर्शन गरेका थिए।
जनमत पार्टीका नेता/कार्यकर्ताले सरकारविरूद्ध प्रदर्शन गरिरहँदा उक्त पार्टीबाटै मन्त्री रहेका महेश यादव र चन्दन सिंह समेत मञ्चमै बसेका थिए।
मुख्यमन्त्री यादवले सञ्चारकर्मीको प्रश्नहरूको जवाफ दिँदै भ्रष्ट सरकारमा किन बसेको भन्दै जनमतका मन्त्रीसँग प्रश्न गरेका थिए।
‘जनमत पार्टीले सरकार भ्रष्टाचार गरिरहेको आरोप लगाइरहेको छ। यदि त्यस्तो हो भने किन जनमत सरकारमा छ? सरकार छाडे भयो नि! भ्रष्ट सरकारमा किन बसेको?,’ उनले प्रश्न गरे।
तर जनमतका शिक्षा तथा संस्कृतिमन्त्री महेश यादव भने आफूहरू सरकारलाई सुधार्न सत्तामा आएको दाबी गर्छन्।
‘हामी मुख्यमन्त्रीको आशीर्वादले सरकारमा छैनौं, हाम्रो आशीर्वादले उहाँ (सरोज यादव) मुख्यमन्त्री बन्नुभएको हो। हामीले उहाँलाई सुधार्दै छौं,’ उनले भने।