नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र एकता कायम गर्नुको विकल्प नभएको बताएका छन्।
नेपाली कांग्रेस पर्वतको दोस्रो जिल्ला सम्मेलनलाई सोमबार पर्वत सदरमुकाम कुश्मा बजारमा सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसका नेता कार्यकर्ताबीच मेलमिलाप हुन आवश्यक रहेको बताएका हुन्।
नेता तथा कार्यकर्ता एकजुट भएमात्र पार्टी बलियो हुने उनको भनाइ थियो।
ठूलो त्याग र बलिदानपछि आज नेपाली कांग्रेस मुलुकको पहिलो शक्ति बनेको भन्दै देउवाले एकताबद्ध कांग्रेसलाई कुनै शक्तिले पनि हराउन नसक्ने बताए।
ठूलो दलमा सबैले एकैपटक नेतृत्व पाउन मुस्किल हुने भन्दै सभापति देउवाले भने, 'निरन्तर लाग्ने नेताहरू अवसरबाट वञ्चित हुन पर्दैन।'
उनले कांग्रेसलाई बलियो बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए।
'अहिलेको अवस्थामा हाम्रा साथीहरूबीच मेलमिलाप हुन जरूरी छ। अधिवेशनमा प्रतिस्पर्धा हुन्छ, जित र हार हुन्छ। आज जित्नेले पनि भोलि सधैं जितिरहन्छ भन्ने हुँदैन। जित्नेले हार्ने साथीसँग सहयोग लिने, हार्नेले जित्नेलाई सहयोग गरेको खण्डमा अहिले आपसमा रहेको समस्यालाई भोलिका दिन मेलमिलाप गर्न सहयोग पुग्नेछ।'
देउवाले कांग्रेसले नेतृत्वदायी भूमिकामा बसेर नेपाललाई समावेशी समानुपातिक व्यवस्था र लोकतान्त्रिक व्यवस्था नेपालमा स्थापित गरेको बताउँदै यो व्यवस्थाका कारण आदिवासी जनजाति, अपांगता भएकाको प्रतिनिधित्व हुने अवस्था आएको बताए। तत्कालका लागि गठबन्धनको विकल्प नभएको भन्दै उनले मुलुकको समस्या समाधानका लागि गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताए।
कार्यक्रममा नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले नेपाली कांग्रेस सहभागी भएको वर्तमान सरकारले जनतालाई सुशासनको प्रत्याभूति दिन सक्नुपर्नेमा जोड दिए। मुलुकमा देखिएको भ्रष्टाचार र महँगीलाई हटाउँदै जनतालाई राहतको अनुभूति दिन सकेमा मात्र पार्टीसमेत बलियो हुँदै जाने उनको भनाइ थियो।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले आफूले अवसर नपाउँदैमा पार्टी कमजोर बनाउन नहुने बताए। उनले दिनदिनै युवा बिदेसिएको भन्दै यस्तो अवस्थाको अन्त्य हुनुपर्ने धारणा राखे।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कांग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, किरण पौडेल, शारदा पौडेल, उर्मिला थपलिया लगायतले सम्बोधन गरेका थिए।