गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघ सरकारले प्रदेश सरकारलाई पूर्ण अधिकार दिन माग गरेका छन्।
नेपाली कांग्रेस पर्वतको दोस्रो जिल्ला सम्मेलनलाई सोमबार पर्वतमा सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले संघले पूर्ण अधिकार नदिएसम्म प्रदेश सरकारले सोचेअनुसारको विकास गर्न नसक्ने बताएका हुन्।
अधिकार प्राप्ति नहुँदा थुप्रै विषय अड्किएको बताउँदै यसले संघीयतालाई समेत कमजोर बनाएको उनको भनाइ थियो।
केन्द्र सरकारको मात्रै मुख ताक्दा समुन्नत प्रदेश बनाउन नसकिने भएकाले प्रदेशलाई नै समृद्ध बनाउनुको विकल्प नभएको उनले बताए।
मुख्यमन्त्री पाण्डेले आयातमा निर्भर र निर्वाहमुखी अर्थतन्त्रलाई रूपान्तरण गर्दै आत्मनिर्भर उत्पादनमूलक र निर्यात उन्मुख प्रदेश अर्थतन्त्रको निर्माण गर्ने योजना रहेको पनि बताए। संघीय सरकारले थोरै बजेट विनियोजन गर्दा पनि विकास प्रभावित हुने गरेको टिप्पणी समेत उनले गरे।