राष्ट्रिय सभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट सुदूरपश्चिममा महिला कोटामा रेणु चन्द निर्वाचित भएकी छन्।
चन्द ४ हजार ४ सय ५३ मतभारसहित विजयी भइन्। उनकी प्रतिद्वन्द्वी सावित्री घिमिरेले १ हजार ५ सय ७१ मतभार ल्याइन्।
यो जितलाई उनले संघीयता बलियो बनाउने पक्षका रूपमा हेरेकी छन्। २८ वर्षे राजनीतिक यात्रापछि संघीयता बलियो बनाउने जिम्मेवारी बहन गर्ने अवसर पाएको उनले बताइन्।
राजनीतिक पारिवारिक पृष्ठभूमिमा हुर्केकाले रेणुलाई राजनीतिक रूपमा अघि बढ्न सहयोग पुग्यो। चन्दका बुबा गोपाल चन्द नेकपा (एकताकेन्द्र) का पुराना नेता हुन्। पछि उनले बैतडीमा एकीकृत नेकपा (माओवादी) को जिल्ला इन्चार्ज भएर पनि काम गरे।
बैतडीको दशरथ नगरपालिका–९ ग्वालेककी चन्द सामाजिक विभेद हटाउनु पर्छ भन्ने हुटहुटी बोकेर राजनीतिमा प्रवेश गरेको बताउँछिन्। ४२ वर्षीया रेणुले स्नातकसम्म अध्ययन गरेकी छन्।
वि.सं.२०५२ सालमा तत्कालीन नेकपा (माओवादी) मा प्रवेश गरेकी चन्द वि.सं. २०५७ सालदेखि सशस्त्र विद्रोहमा सक्रिय भएकी थिइन्।
वि.सं. २०६४ सालको संविधानसभा निर्वाचनमा बैतडी क्षेत्र नम्बर-२ मा एकीकृत नेकपा (माओवादी) का तर्फबाट चुनाव लडेकी रेणुले २० हजार २१ मत ल्याई निर्वाचित भएकी थिइन्।
संविधानसभा निर्वाचन, २०६४ मा तत्कालीन महाकाली अञ्चलबाट प्रत्यक्षतर्फ निर्वाचन लड्ने उनी एकीकृत नेकपा (माओवादी) को एक मात्र महिला उम्मेदवार बनेकी थिइन्।
संविधान सभामा उनी संवैधानिक समितिको सदस्य भइन्। चन्द एकीकृत नेकपा (माओवादी) को सेती महाकाली राज्य समिति सचिवालय सदस्यका साथै अखिल नेपाल महिला संघ क्रान्तिकारी) की केन्द्रीय सचिवालय सदस्य भइन्।
नेकपा (माओवादी केन्द्र) की पोलिटब्युरो सदस्य हुँदै उनले प्रदेशको विभिन्न जिल्लामा इन्चार्ज भएर जिम्मेवारी सम्हालेकी छन्।
उनले पार्टीले राष्ट्रिय सभामा जान अहिले जिम्मेवारी दिएको बताइन्।
‘हामी पार्टीको काम गर्छौं, पार्टीले खटाएका ठाउँमा जाने हो, मलाई राष्ट्रिय सभामा खटाएर आफ्नो क्षमता अनुसारको काम गर्न निर्देशन दिएको हो,’ उनले भनिन्।
राष्ट्रिय सभाको औचित्यमाथि प्रश्न उठिरहेको भएको बेला आफूहरूको राष्ट्रिय सभामा सहभागिताले संघीयता बलियो बनाउने काम गर्ने उनको भनाइ छ।
‘राष्ट्रिय सभा यो रिटायर मान्छे पठाउने ठाउँ हो भनेर बुझ्नु गलत हो, यो त नीति बनाउने, संघीयता बलियो बनाउने ठाउँ हो, निर्वाचित जनप्रतिनिधिहरूले भोट हालेर जाने भएकाले यसले संघीयता बलियो बनाउने काम गर्छ,’ चन्दले भनिन्।
राष्ट्रिय सभा शक्ति पृथककीकरणको सिद्धान्त अनुसार काम गर्ने ठाउँ रहेको रेणुको बुझाइ छ।
उनले सबै ठाउँमा युवा चहिन्छ भन्ने भावनाले राष्ट्रिय सभा बुढापाकाले जाने ठाउँको रूपमा कतिपयले हेर्ने गरेको बताइन्। युवा नेतृत्व तहमा पुग्नु राम्रो भए पनि अनुभव बोकेका मान्छेले पनि राम्रो भूमिका निर्वाह गरेको चन्दको भनाइ छ।
‘राष्ट्रिय सभा अनुभवी ठाउँ हो, म एकपटक संविधान सभा सदस्य भइसकेको छु, आफ्नो करियर र पर्फर्मेन्स पनि राष्ट्रिय सभा बढोत्तरी गर्ने ठाउँ मेरो लागि हुन्छ,’ उनले भनिन्।
उनले जुनसुकै जिम्मेवारीमा रहे पनि सुदूरपश्चिमलाई गर्न सक्ने काम सदैव गर्ने दाबी गरिन्।
‘सुख्खा बन्दरगाह बनाउने, गेटा मेडिकल कलेज चलाउने, पञ्चेश्वर परियोजना, सेती परियोजनाको काम पूरा गरेर विद्युत बिक्री गर्ने, बैतडीको झुलाघाट नाकामा पुल बनाउने जस्ता काम हाम्रा क्षेत्रमा अगाडि बढाइएका छन्, यिनलाई सफल पार्न पनि म भूमिका खेल्नेछु,’ उनले भनिन्।
उनले अगाडि भनिन्, ‘महिलाहरू नेतृत्वमा पुगेका छन्। हिजोभन्दा धेरै कुरा राम्रो भएको छ। तर सन्तुष्ट भइहाल्नुपर्ने भने छैन, व्यवस्था भए पनि राजनीतिक गठबन्धनले गर्दा प्रमुख र उपप्रमुखमा महिला बञ्चित छन् कहीँकतै, छाउपडीका कारण गोठमा महिला मर्नु भनेको हत्या हो, तर कसले गर्दा भनेर जेल कोही गएको छैन। यस्ता कुराहरूको लागि हामीले थप संघर्ष गर्नुपर्छ,’ उनले भनिन्।