राष्ट्रियसभा चुनावको मतगणना चलिरहँदा बिहीबार कोशी प्रदेश निर्वाचन कार्यालय परिसर सत्ता गठबन्धनका नेता–कार्यकर्ताले भरिभराउ हुँदा एमाले नेताहरूको उपस्थिति एकदमै न्यून थियो।
आफ्ना केही सहयोगीसहित उम्मेदवार रुक्मिणी कोइराला गणनास्थलमा थिइन्। सुरूमा प्रदेशसभाको मत गणना हुँदै थियो, सत्ता गठबन्धनका तीन जना सांसदले 'फ्लोर क्रस' गरेर आफूलाई मत दिएको थाहा पाएपछि उनको अनुहार एकाएक उज्यालियो।
त्यो खबर थाहा पाउने बित्तिकै मत गणनास्थलमा एमालेका अरू नेता–कार्यकर्ता पनि भरिन थाले। स्थानीय तहका पनि १७ जना जनप्रतिनिधिले 'फ्लोर क्रस' गरेर मत दिएपछि रुक्मिणीको जित निश्चित बन्यो।
जसै उनले जित्ने भइन्, सत्ता गठबन्धनका अर्का उम्मेदवार कृष्णप्रसाद सिटौला गणनास्थलबाट बाहिरिए। सत्ता गठबन्धनका अरू नेताहरू पनि स्तब्ध देखिन्थे।
‘मेरो त जीउज्यान सबै खङ्ग्रङ्गै भयो,’ गणनास्थलमा खटिएका कांग्रेस झापाका सभापति देउमान थेवे भन्दै थिए, ‘यो पाराले कृष्ण दाइको पनि त्यस्तै आउने होला।’
यद्यपि सिटौलाका हकमा भने नतिजा गठबन्धन अनुकूल नै आयो। उनीहरूको अनुहारमा गायब भएको हाँसो फर्कियो।
तर, सत्ता गठबन्धनबाट महिला उम्मेदवार बनेकी माओवादीकी चम्पादेवी कार्कीका हकमा गठबन्धन प्रतिकूल नतिजा आयो। रुक्मिणी कोइरालाले अप्रत्यासित जित निकाल्दै राष्ट्रियसभामा 'क्लिन स्वीप' गर्ने सत्ता गठबन्धनको योजनामा भाँजो हालिदिइन्।
महिलातर्फको अन्तिम नतिजा आउँदा नआउँदै जित निश्चित देखिएपछि रुक्मिणी समर्थक र पत्रकारहरूबाट घेरिइन्।
‘मलाई अप्ठ्यारो प्रश्नहरू चाहिँ नगर्नु है,’ उनले पत्रकारहरूलाई आग्रह गर्दै भनेकी थिइन्, ‘म धेरै बोल्न जान्दिनँ।’
त्यसपछि उनी केहीबेर पत्रकारसित गफिइन् अनि प्रमाणपत्र र अन्तिम घोषणाका लागि कुर्न थालिन्। त्यसक्रममा उनीभन्दा पनि उनको साथमा रहेका इटहरीकै उनका छिमेकीहरू बढ्ता उत्साही देखिन्थे।
‘मजदुर पनि माननीय बन्न सक्नेरहेछ,’ उनका छिमेकीहरूले सुनाए, ‘उहाँ मजदुरी पृष्ठभूमिको मान्छे हो। अब माननीय हुनुभयो। एकदमै खुसी लागेको छ।’
एमालेमा सँगै कार्यरत उनका साथीहरूका अनुसार रुक्मिणीलाई चुनाव जित्ने आशा धेरै थिएन।
‘चुनावअघि यसपालि एमालेमा टिकट फालाफालको अवस्था थियो,’ मजदुर विभागमै कार्यरत एक नेताले भने, ‘सोझै हेर्दा पनि हारिने चुनाव भएका कारण एमालेका नाम चलेका नेताहरू उम्मेदवार बन्ने दौडमा थिएनन्। उहाँले टिकट सजिलै पाउनुभयो।’
एमाले नेताहरूका अनुसार जित निश्चित नभएकै कारण रुक्मिणी र भोजपुरका माओवादी पृष्ठभूमिका परशुराम अधिकारीले टिकट पाएका थिए। अधिकारीको त उम्मेदवारी नै रहेन। राप्रपासँग तालमेल गरेर उनलाई एमालेले ब्याक गराउँदै राप्रपाका उद्धव पौडेललाई सघाएको थियो।
कोशी प्रदेशको गणित एमाले अनुकूल थिएन। प्रदेश र स्थानीय तहमा गरी एमालेको मतभार ४२४८, कांग्रेसको ३६८४, माओवादी केन्द्रको १२७८, राप्रपाको ३९४, नेकपा एकीकृत समाजवादीको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार थियो।
कोशीमा राप्रपा र एमाले मिलेपछि गठबन्धनसँगको मतभार अन्तर ७९४ मा झरेको थियो। सत्ता गठबन्धनसँग ५४३६ मतभार थियो भने एमाले र राप्रपाको मतभार ४६४२ थियो।
प्रतिकूल गणितका बाबजुद एमालेलाई यो चुनावमा 'निल' हुनबाट कोइरालाले जोगाइन्। सुरूमा उनलाई टिकट पाउँछु भन्ने लागेकै थिएन रे।
‘तर, अन्तिम–अन्तिम बेलामा पार्टी केन्द्रले नागरिकता माग्यो,’ उनले भनिन्, ‘त्यसपछि चाहिँ सोधखोज गर्दा टिकट पाइनेरहेछ भन्ने लागेको थियो।’
चुनावअघि एमाले नेताहरू सार्वजनिक रूपमा ‘चुनाव जित्ने’ अभिव्यक्ति दिन्थे। तर, अनौपचारिक कुराकानीमा चाहिँ ‘हार्ने चुनाव’ को धेरै चासो नभएको बताउँथे।
यही अनिश्चयका बीच राप्रपासित गरेको तालमेल र सत्ता गठबन्धनका सांसदहरूसहितको साथले एमालेले कोशीमा सफलता प्राप्त गरेको छ। एमालेलाई जितको खुसी दिने पात्र बनेकी छन् रुक्मिणी। उनलाई नजिकबाट चिन्नेहरूका अनुसार रुक्मिणी एमालेको पुरानो कार्यकर्ता हुन्।
‘अहिलेसम्म कहीँकतै कुनै अवसर नपाउनुभएको इमानदार र लगनशील कार्यकर्ता हो उहाँ,’ एमाले कोशीका अध्यक्ष घनश्याम खतिवडाले भने, ‘पार्टीले टिकट दिएर उहाँको योगदानको कदर गरेको थियो, त्यसलाई मतदाताले अनुमोदन गरिदिनुभयो।’
सुनसरीको इटहरी उपमहानगर-२ की स्थायी बासिन्दा कोइरालाको परिवार खेतीकिसानी गर्ने परिवार हो। लामो समय जिफन्टमा रहेर काम गरेकी उनी अहिले प्रदेश पार्टीको सल्लाहकारको भूमिकामा छिन्।
२०७९ को स्थानीय तह निर्वाचनमा उनी इटहरी उपमहानगरपालिकाको उपप्रमुख पदमा चुनाव लड्ने योजनामा थिइन्। तर, उनले टिकट पाइनन्। त्यसपछि एमाले प्रदेश अधिवेशनमा सदस्य पदमा चुनाव उठेकी उनी पराजित भइन्।
पराजित भए पनि पुरानो योगदानका आधारमा प्रदेश कमिटीले उनलाई सल्लाहकारको भूमिका दियो। अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्जको जिम्मेवारीमा रहेकी उनी अब राष्ट्रिय सभामा पुगेकी छन्।
उनले ५ हजार ८६ मत प्राप्त गर्दै जित दर्ता गर्दा उनकी प्रतिस्पर्धी माओवादीकी चम्पादेवी कार्कीले ४ हजार ९९२ मत मात्रै प्राप्त गरिन्। राष्ट्रिय सभामा निर्वाचित भएपछि अब तपाईंको भूमिका कस्तो रहन्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले अहिलेसम्म प्राप्त अनुभवका आधारमा सदनमा जनताका समस्या उठाउने बताइन्।
‘म २०३२–३३ सालदेखि पार्टी अभियानमा छु। आन्दोलनमा छु। यहीक्रममा सिकेका कुरा र त्यसका अनुभवका आधारमा राष्ट्रिय सभामा आवाज उठाउँछु,’ चार सन्तानकी आमासमेत रहेकी रुक्मिणीले भनिन्, ‘पार्टीको मुद्दा पनि उठाउँछु।’
रुक्मिणीका अनुसार भूमिगतकालमा उनको घर पार्टी नेताहरूको भरपर्दो सेल्टर थियो। नेताहरूको ओहोरदोहोर चलिरहने भएकै कारण उनी पनि राजनीतिमा आकर्षित बनेकी थिइन्।
‘चेतना आएदेखि नै कुनै न कुनै रूपमा पार्टी अभियानमा थिएँ,’ उनले भनिन्, ‘आज जनप्रतिनिधि बन्ने अवसर पाएको छु। खुसी छु। अब यो जिम्मेवारी सफलतापूर्वक निभाउने अभियानमा संलग्न हुनेछु।’