नेकपा माओवादी केन्द्र सुदूरपश्चिममा भाँडभैलो मच्चिएको छ। माओवादीको सुदूरपश्चिम प्रदेश कमिटी र प्रदेश संसदीय दलका बहुमत सदस्यहरूबीचको विवाद सतहमा आएसँगै निर्णय र निर्देशनको श्रृंखला सुरू भएको छ।
शुक्रबार माओवादी संसदीय दलका बहुमत सदस्यहरूले संसदीय दलका नेता खगराज भट्टलाई निलम्बन गर्ने निर्णय गरेका थिए।
शनिबार प्रदेश कमिटीले उक्त निर्णय सच्याउन सांसदहरूलाई निर्देशन दिएको छ।
‘हाम्रो पार्टी परम्परा विधि विपरीत केन्द्रिय कार्यालयको निर्देशनको समेत अवज्ञा गरि गरिएको निर्णयले पार्टीमा अराजकता र स्वेच्छाचारिता ले संस्थागत मान्यता पाउने खतरा हुने भएकोले संसदीय दलको यो निर्णय पार्टीका हजारों कार्यकताको मनोभावना विपरितको भएकोले अविलम्ब सच्याउन संसदीय दललाई निर्देशन दिने निर्णय गरियो,’ निर्णयमा भनिएको छ।
तर बहुमत सांसदहरूले प्रदेश कमिटीका पनि बहुमत पदाधिकारीहरू आफूहरूकै पक्षमा रहेको दावी गरेका छन्।
सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रका दुई मन्त्री र एक राज्य मन्त्री छन्।
आफै सहभागी सरकारले जनअपेक्षा अनुसार काम नगरेको भन्दै माओवादीका बहुमत सासंदहरू असन्तुष्ट बनेका छन्।
शुक्रबार संसदीय दलका नेता रहेका खगराज भट्टलाई हटाएर मानवहादुर धामीलाई सो जिम्मेवारीमा बहुमत सासंदहरूले सर्मथन गरे।
सरकारले राम्रो काम गर्न नसकेको भनेर मात्रै खगराजलाई हटाएको कारण यो मात्रै होइन। पार्टीको आन्तरिक समिकरणले पनि माओवादी सुदूरपश्चिममा विवाद बढेको हो। सुदूरपश्चिम प्रदेशबाट माओवादीको एकमात्रै स्थायी कमिटी सदस्य रहेका खगराजको पक्ष र उनको विपक्षमा नेताहरू विभाजित छन्।
पछिल्लो समय उनलाई माओवादी सुदूरपश्चिमका नेताहरू पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भन्दा धेरै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको पक्षमा लागेको आरोप लगाउँदै आएका थिए।
संघीयता लागू भएपछिको पहिलो प्रदेश सभा सदस्य चुनावमा खगराजले हारे।
दोस्रो पटक २०७९ भएको चुनावमा कांग्रेस सभापति शेरवहादुर देउवाले खगराजलाई सुदूरपश्चिमको मुख्यमन्त्री बनाउने भनेका थिए। खगराजले चुनावपनि जिते।
खगराज सुदूरपश्चिम प्रदेश सभामा चुनाव जितेर आएका अन्य माओवादी सासंद भन्दा पुराना र पाका नेता हुन्।
प्रत्यक्ष चुनाव लडेर ८ जना र समानुपातिकबाट ३ जना गरि माओवादीका ११ जना सासंद सुदूरपश्चिम प्रदेश सभामा छन्। समानुपातिकमा आउने सासंदहरूलाई सहमतिकै आधारमा संसदमा पठाइएको थियो।
प्रदेश सभामा संसदीय दलको नेता बन्न माओवादी भित्र दुई प्रमुख आकांक्षी देखिएका थिए।
खगराजलाई संसदीय दलको नेता छान्न ओमविक्रम भाटलगायत सांसदहरू त्यसबेला पनि तयार थिएनन।
तर, त्यसवेला खगराजलाई बहुमत सासंदको समर्थन रह्यो। माओवादीको नेतृत्वले पनि सिनियरिटीका आधारमा भट्टलाई मौका दिनुपर्ने बताएपछि खगराज एक वर्षअघि सर्वसम्मतिमा संसदीय दलको नेता चयन भए।
त्यसपछि गत वर्षको पुसमा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपा मिलेर प्रदेश सरकार बन्यो। तर विश्वासको मत नपाएपछि एमाले नेतृत्वको सरकार ढल्यो।
मुख्यमन्त्रीको दावेदार रहेका भट्ट एमालेका राजेन्द्रसिंह रावल नेतृत्वको सरकारमा विना विभागिय मन्त्री भएर गएपछि उनीप्रतिको असन्तुष्टि माओवादीको प्रदेश कमिटीमा त्यसबेलै पनि प्रकट भएको थियो।
‘त्यसवेला पनि हामीले उहाँलाई मन्त्री नबन्नु भनेका थिएनौं। विरोध पनि गरेनौं तर संसदीय दलको नेता विना विभागिय मन्त्री बन्दा उहाँको कार्यशैलिप्रति भने प्रश्न उठे,’ सासंद ओमविक्रम भाट सरलले भने।
सभामुख चयनका बेला आफ्नै उम्मेदवारलाई जिताउन कांग्रेससंग समन्वय, छलफल र पहल नगरेको आरोप खगराजमाथि लागेको थियो।
संसदीय दलको नेताको हैसियतले आफ्नो पार्टीका उम्मेदवारलाई सभामुखमा निर्वाचित गर्न कांग्रेससंग राम्रो समन्वय नगरेको आरोप खगराज माथि छ।
केन्द्रमा नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ती पार्टीलगायत दलको सयुंक्त समिकरणपछि सुदूरपश्चिममा सोही अनुसार सत्ता गठबन्धन बन्यो। त्यसपछि सुदूरपश्चिममा कांग्रेसका कमलवहादुर शाह नेतृत्व सरकार बन्यो।
त्यसअघि कांग्रेस नेतृत्वको सरकारले विश्वासको मत पायो। माओवादी सरकारमा जान संसदको दोस्रो ठूलो दलका हैसियतले भाग खोज्यो। त्यसबेला अर्थ वा भौतिकमध्ये एक मत्रालयसहित अन्य केही मन्त्रालय पाउनुपर्ने र मन्त्रीहरूको वरीयतामा पनि दोस्रो दर्जामा राख्नुपर्ने माग माओवादी सासंदहरूको थियो।
तर, कांग्रेस नेतृत्वको सरकारले सत्तागठबन्धनको चौथो दल नेकपा एकीकृत समाजवादी पार्टीका नरेश शाहीलाई अर्थ मन्त्रीमा नियुक्त गरेको थियो। भौतिक पुर्वाधार विकास मन्त्रीमा कांग्रेसकै प्रकाश देउवा नियुक्त भए।
त्यसैले आफ्ना माग पूरा गर्न संसदीय दलको नेता खगराज असफल भएको बहुमत सांसदहरूको निष्कर्ष छ।
त्यसबेलै पनि दुई पक्षबीचको रस्साकस्सीका कारण माओवादी चार महिनासम्म कांग्रेस नेतृत्वको सरकारमा सहभागी हुन सकेन।
अहिले सुदूरपश्चिम सरकारमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी, सोही मन्त्रालयमा राज्यमन्त्री गीता देवी माल र सामाजिक विकास मन्त्री झपटबहादुर साउद छन्।
यस वर्षको बजेट ल्याउँदा पनि माओवादीका सासंदहरूले असन्तुष्टि जनाएका थिए। ती असन्तुष्टि सम्बोधन गर्न दलका नेता खगराजको संयोजकत्वमा सरकारसँग वार्ता गर्न समिति बनेको थियो।
बजेटमा सत्ता पक्षबाटै ब्यापक असमझादारी देखिएपछि अनुत्पादक क्षेत्रमा भएको बजेट सही ठाउँमा लगाउनुपर्ने माग सांसदहरूले गरेका थिए। सो समितिबाट त्यो काम अगाडि नबढेको सासंद भाट बताउँछन्।
यी सबै घटनाक्रमहरूको संगालोसहित केहि दिन अघि खगराजलाई दलको नेताबाट हटाउनुपर्ने, मन्त्रीहरूले जनअपेक्षा अनुसार काम गर्नुपर्ने भन्दै ६ जना प्रदेश सांसदहरूले अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई काठमाडौं नै पुगेर भेटेका थिए। प्रचण्डले उनीहरूलाई प्रदेश कमिटीमा देखिएको समस्या समाधान गर्ने आश्वासन पनि दिएका थिए। यता प्रदेशमा संसदीय दलको बैठक बसेर छलफल गर्न आग्रह गर्दा खगराज अनुपस्थित भएको सासंदहरूको भनाइ छ।
‘संसदीय दलको नेता सरकारको एसम्यान बन्ने, विचारमै पनि समस्या भएपछि काम गर्न असहज हुन्छ, दुवैलाई गाह्रो भयो उहाँको कार्यशैलीले कार्यसम्पादन भएन अगाडी बढाउन सकिएन,’ सासंद भाट भन्छन्।
उनीहरूले सुदुरपश्चिम प्रदेशको संसदीय दलको नेतामा मानबहादुर धामीलाई चयन गरेका छन्। माओवादी सुदूरपश्चिममा दोस्रो ठूलो दल हो।
माओवादी केन्द्र, सुदूरपश्चिमका प्रदेश कमिटीका अध्यक्ष हरि चौधरीले माओवादी केन्द्रबाट विजयी ६ जना प्रदेश सभा सदस्यले गल्ती गरेको बताए।
‘सांसदहरूले बहुमतको आडमा गल्ति गर्नुभएको छ,संसदीय दलका नेता परिवर्तन गर्ने उहाँहरूको निर्णय उल्टिन्छ,’ चौधरीले भने।