नेकपा माओवादी केन्द्रका प्रदेश इन्चार्ज तथा अध्यक्षहरूले विशेष रूपान्तरण अभियान चलाए पनि रूपान्तरण भने हुन नसकेको निष्कर्ष निकालेका छन्।
आइतबार काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकमा धारणा राख्ने नेताहरूले अभियान अपेक्षाकृत हुन नसकेको रिपोर्ट पेश गरेका छन्।
कोशी प्रदेशका अध्यक्ष हर्क नेम्वाङले प्रदेश १ मा माओवादीको आकार झन् खुम्चिएको बताए। उनले ९९ हजार पार्टी सदस्यमा ३६ हजारले मात्रै सदस्यता नवीकरण गरेको बताएका छन्।
नेम्वाङले गुटबन्दीको समस्या उस्तै रहेको र तल्ला कमिटीहरूमा तलकै गुट रहेको बताए। उनले पार्टीलाई बलियो बनाउन नेतृत्व छनोटमा निर्वाचन आवश्यक रहेको बताएका छन्।
बागमती प्रदेशका इन्चार्ज जनार्दन शर्माले जनतासँग माओवादी विशेष रूपान्तरण अभियानका क्रममा चारथरिका नेताहरूको पहिचान गरिएको बताए।
‘चार महिने अभियानका क्रममा चारथरि कमरेडहरूको पहिचान भएको छ– खट्ने, खटे जस्तो गर्ने, अलिकति खट्ने र नखट्ने,’ शर्माले भने, ‘अभियानबाट केन्द्रीय सदस्यहरूको मूल्यांकनको आधार दिएको छ, विगतका पार्टी सदस्य नक्कली भएको पत्ता लागेको छ र उपत्यकामा पार्टी निर्माणबारे अनुसन्धान भइरहेको छ।’
उनले माओवादीको नारा अन्य पार्टीहरूको नारा भन्दा फरक नभएको कार्यकर्ताको मूल्यांकन रहेको रिपोर्ट पनि केन्द्रीय समिति बैठकमा पेश गरेका छन्।
‘अन्य पार्टी भन्दा फरक नारा नभएको, ठूला व्यापारीसँग जोडिएको, सरकारका काम अझ प्रभावकारी नभएको, जनवर्गीय संगठनहरूले जनताका मुद्दा नउठाएको, जीवन शैली बदलिएकोजस्ता कुरा आएका छन्, ’ शर्माले भने, ‘तीनै तहका सरकारका आलोचना भएको छ।’
उनले लोडसेडिङ हटाउने कुराको स्वामित्व अध्यक्षले नै नलिएको, काठमाडौं १० नं निर्वाचन क्षेत्र हार्दा समस्या भएको, पशुपतिको पुजारीमाथि पार्टीको हस्तक्षेप र तल्लो तहका समस्या नउठाउनुलाई काठमाडौं उपत्यकामा माओवादी कमजोर हुनुको कारणका रूपमा व्याख्या गरेका छन्।
बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेलले पनि प्रदेशमा पार्टी सदस्यहरू घटेको रिपोर्ट पेश गरेका छन्।
उनको रिपोर्ट अनुसार १ लाख ४७ हजार पुराना सदस्यहरू भएकोमा अहिले त्यो संख्या घटेर १ लाख २० हजार पाँच सय पुगेको छ। पार्टीमा भक्तिमार्ग हावी भएको भन्दै त्यसलाई सच्याउनुपर्ने बताएका छन्।
‘संस्थागत संगठनात्मक अराजकता हाम्रो पार्टीको समस्या हो। पार्टीको स्रोत बन्द छ, नयाँ मानिस पार्टीमा आउन चाहदैन। म बाहेक को छ यहाँ भन्ने छ नेतृत्वको भावना छ‚’ पौडेलले भने, ‘भक्तिमार्ग हावी छ पार्टीमा। संस्थागत र व्यक्तिगत कुरा बीच ठूलो समस्या छ।’
विशेष प्रदेश इन्चार्ज वर्षमान पुनले आफ्नो रिपोर्ट पनि जनार्दन शर्माको जस्तै भएको बताएका थिए।
‘मेरा रिपोर्ट जनार्दनजीले राखे जस्तै हो। अभियान भन्दा काम थाती राखेर हिँड्ने तर अभियान सकिएपछि फेरि हराउने र गर्नैपर्ने काम पनि नगर्ने समस्या हाम्रो पार्टीमा छ‚’ पुनले भने‚ ‘२०६४ मा हामीले ३० लाख मत ल्यायौं। त्यसयता १५ लाख र पछिल्लो चुनावमा १२ लाख मत ल्यायौं। अब यो हाम्रो कन्जरभेटिभ मत हो। यसबाट फड्को हान्न पर्छ।’
विशेष प्रदेश अध्यक्ष जगत सिंखडाले ओरालोतिर खस्कँदो गाडीमा ओट लागे सरह भएको बताए। उनले पार्टीमा युवाहरूको आकर्षण नभएको र नेताहरू जनताको पहुँचमा नपुगेको बताए।
प्रवास इन्चार्ज राम कार्कीले डर र लोभका बीचमा बसेर मात्र काम गर्ने संस्कृति हावी भएका कारण ठाउँमा प्रवासिएका नेपालीहरूबीच काम गर्न चुनौतिपूर्ण रहेको बताए।
‘भारतमा आज सुदूरपश्चिम र कर्णालीका दलितहरू बढी छन्। हिजो भारत जाने समुह आज अन्य देश जान्छ‚’ कार्कीले भने‚ ‘भारतको कमिटीले प्रदेश सरहको मान्यता खोजेको छ। अमेरिकामा जनप्रगतिशील मञ्चको नामबाट काम गर्न पाइएन। सिंगो संसारभरी एकै नामका संगठन बनाउन नयाँ नाम दिनपर्ला जस्तो लाग्छ। विदेश नीतिमा नयाँपन दिन शान्ति क्षेत्रको प्रस्ताव परिमार्जन सहित पेश गर्नु पर्दछ।’
प्रवास अध्यक्ष ओम शर्माले अहिलेसम्म प्रवासबाट पार्टीमा कति पैसा आयो त्यसको खोजविन हुनुपर्ने बताए।
गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले अभियानले पार्टी पंक्ति रक्षा गरेको जिकिर गरे।
‘अभियान नभएको भए एकले अर्कालाई आलोचना गरेर सकिने थियौं हामी,’ पौडेलले भने‚ ‘कुरा गर्ने काम नगर्ने बानी परेको रहेछ, यो अभियानले काम गर्ने बनायो। माथि अध्यक्षलाई देखाउने तल गुट बनाइराख्ने बग्रेल्ती थिए। तर तिनले टाउको उठाउन पाएनन्।’
गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरूङले आफ्नो प्रदेशमा ५० प्रतिशत पुराना सदस्यको नवीकरण भएको र ८ हजार नयाँ सदस्यता वितरण भएको बताएकी छन्। लुम्बिनी प्रदेश इन्चार्ज हितमान शाक्यले आफ्नो प्रदेशमा ४० जना प्रदेश सदस्य निष्क्रिय रहेको र ७७ आंशिक खटेको बताए।
कर्णाली प्रदेश इन्चार्ज मातृका यादवले पार्टी नेता र कार्यकर्ता व्यवस्थापनको साधनका रूपमा रहेको बताउँदै पार्टीमा धम्की र घुर्की देखाउने नराम्रो संस्कार बसेको उल्लेख गरे। कर्णाली प्रदेश अध्यक्ष विमला केसीले अभियानले नेता कार्यकर्ताका कार्यक्षमता पहिचान गर्ने नयां अवसर प्राप्त भएको बताइन्।
सुदूरपश्चिम प्रदेश अध्यक्ष हरि चौधरीले प्रदेश संसदीय दलमा दल नेतासँग असन्तुष्ट भएर दल नेता नै परिवर्तन गरिएको भन्दै अब कसरी अघि बढ्ने हो भनेर सोधेका थिए।
अनुशासन आयोगका अध्यक्ष टंक राईले अनुशासन आयोगलाई सर्वोच्च अदालत, अख्तियार आयोग जस्तै शक्तिशाली बनाउन प्रस्ताव गरेका थिए। उनले नेताहरू नचलेका कारण पार्टी कमजोर भएको बताए। लेखा परीक्षण आयोगका अध्यक्ष पेशल खतिवडाले पहिचानको मुद्दा सम्बोधन नभए पार्टी बचाउन गाह्रो हुने प्रतिक्रिया दिए।