डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाले आफू मातहतका विद्यालयका विद्यार्थीको नियमित स्वास्थ्य जाँच गर्न थालेको छ।
उक्त नगरपालिकाभरि ६३ वटा विद्यालय छन्। सबै विद्यालयमा पुगेर विद्यर्थीको स्वास्थ्य जाँच गर्ने र उनीहरूको ‘स्वास्थ्य प्रोफाइल’ बनाउन थालेको मेयर भरत बडायर जोशीले बताए।
मंगलबार नगरपालिकाको वडा नम्बर १२ मा रहेको सिद्धनाथ माध्यमिक विद्यालयका विद्यार्थीको स्वास्थ्य जाँच गरेर यो कार्यक्रम सुरू गरिएको छ। स्वास्थ्य जाँच गर्दा सुरूमा विद्यार्थीहरूको उचाइ नापियो अनि तौल लिइयो। हात, खुट्टा, दाँत, आँखा र कानको जाँच गरिएको थियो।
केही विद्यार्थीलाई आँखा, कान र दातमा समस्या देखिएको मेयर जोशीले बताए।
‘समस्या देखिएका विद्यार्थीको थप उपचार सुरू भएको छ। सम्बन्धित विषयका डाक्टरले थप परीक्षण र उपचार गरिरहेका छन् ,’ उनले भने।
मेयर जोशीले नगरका प्रत्येक विद्यार्थीको हेल्थ प्रोफाइल राख्ने कार्यक्रम सबै विद्यालयमा लागू हुने बताएका छन्।
‘नगरपालिकाका प्रत्येक विद्यालयका प्रत्येक विद्यार्थीको प्रत्येक ६ महिनामा हामीले स्वास्थ्य परीक्षण गर्नेछौं,’ मेयर जोशीले भने।
उनका अनुसार विद्यार्थीलाई आफ्नो स्वास्थ्यको कसरी ख्याल गर्ने भन्ने पनि सिकाइने छ। कुनै पनि विद्यार्थीको स्वास्थ्यमा समस्या छ भने त्यो बेलैमा थाहा पाइयोस् भन्ने यो कार्यक्रमको मुख्य उद्देश्य रहेको मेयर जोशीले बताए।
‘विद्यार्थीमा समयमै स्वास्थ्य समस्या पत्ता लगाएर उपचार होस् भन्ने हाम्रो चाहना छ। गम्भीर रोग लागेर स्वास्थ्य समस्या देखिएको खण्डमा थप उपचारका लागि हामी सम्बन्धित स्वास्थ्य संस्थामा पठाउँछौं र उपचार गर्न सहयोग पनि गर्छौं,’ उनले भने ‘अभिभावकलाई पनि सुधार गर्नुपर्ने कुरामा सल्लाह दिइन्छ। परशुराममै रहेको जोगबुडा अस्पतालमा हुने उपचार यतै गरिन्छ, बाहिर पठाउन परे पनि नगरपालिकाले सहयोग गर्छ।’
स्वास्थ्य परीक्षणपछि आएको रिपोर्ट कार्ड सम्बन्धित कक्षामा पठाइने र अभिभावकसमक्ष उक्त रिपोर्ट कार्डबारे जानकारी गराइने छ।
मेयर जोशीका अनुसार विशेषज्ञ डाक्टरसहित स्वास्थ्यकर्मी र प्राविधिकको टोलीले स्वास्थ्य परीक्षणको काम र हेल्थ प्रोफाइल निर्माण गर्ने काम गरिरहेका छन्। जाँच गरेपछि हरेक विद्यार्थीको स्वास्थ्य अवस्थाको विवरण नगरपालिका र विद्यालयमा राखिनेछ।
माथिल्ला कक्षाका लागि केही समय मात्र भए पनि शिशु कक्षाका विद्यार्थीले १२ कक्षासम्म पुग्दा कम्तीमा २० पटक सम्म स्वास्थ्य जाँच गराउन पाउने छन्।
मंगलबार आफ्ना विद्यार्थीलाई नगरपालिकाका स्वास्थ्यकर्मी आएर स्कुलमै स्वास्थ्य जाँच गरेको देख्दा शिक्षिका जंगा जोशी अचम्म परिन्। उनले आफ्नो २० वर्षे कार्यकालमा नगरपालिकाले विद्यार्थीको स्वास्थ्यबारे चासो राखेको पहिलो पटक थाहा पाउँदै थिइन्।
विद्यार्थीमा कहिले बेहोस हुने, कहिले दाँत दुख्ने, आँखामा समस्या, कान र पेटको समस्या आइरहने अनुभव उनको छ। विद्यालयमा विद्यार्थी बिरामी परे घर पठाइने गरिएको थियो। नगरपालिकाले नै विद्यार्थीको स्वास्थ्यको जिम्मा लिएको देखेर आफूलाई खुसी लागेको बताइन्।
‘विद्यार्थीलाई पनि मेरो यस्तो समस्या छ भन्ने थाहा थिएन, अब थाहा पाइरहेका छन्। यसरी जाँच गर्दा तत्काल उपचार गर्नुपरे नगरपालिकाले जिम्मेवारी पनि लिने रहेछ। यो विद्यार्थीका लागि एकदमै फाइदाजनक हुन्छ,’ शिक्षिका जोशीले भनिन्।
सिद्धनाध माध्यमिक विद्यालयका प्रधानाध्यापक शंकरदत्त जोशीले नगरपालिकाको कार्यक्रम राम्रो लागेको बताए।
‘अहिलेको नगरपालिकाले शिक्षा र स्वास्थ्यमा प्राथमिकताका साथ काम गरेको छ, त्यो प्राथमिकताका कारण यो कार्यक्रम लागू भएको हो भन्ने मलाई लाग्छ। यसलाई निरन्तरता दिनुपर्छ भन्ने मेरो सुझाव छ,’ प्रधानाध्यपक जोशीले भने।