उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन्।
शनिबार बिहान भएको भेटमा अध्यक्ष तिमिल्सिनाको कार्यकालमा राष्ट्रियसभाबाट देश र जनताका पक्षमा पारित विधेयक, निर्माण प्रक्रियामा रहेका कानुनलगायत समसामयिक विषयमा छलफल भएको थियो ।
उपराष्ट्रपतिले अध्यक्ष तिमिल्सिनाद्वारा आफ्नो कार्यकालमा निर्वाह गर्नुभएको महत्वपूर्ण भूमिकाका लागि धन्यवाद दिएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ।
त्यस अवसरमा अध्यक्ष तिमिल्सिनाले प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रस्ताव गरिएका महत्पूर्ण विधेयक र कानुन यथाशीघ्र निर्माण गरी कार्यान्वयनमा ल्याउन सबै पक्षबाट सकारात्मक प्रयास हुन जरुरी भएको बताए।
अध्यक्ष तिमिल्सिनाको कार्यकाल यही फागुन २० गते सकिँदैछ। उनले शुक्रबार शीतलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका थिए।