देशका ठूला राजनीतिक दलका प्रमुखहरू चितवन आउने भएपछि यहाँका सहकारी पीडितहरू बिहानैदेखि दौडधुपमा थिए। उनीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भरतपुरको एक होटलमा पुगेर आफ्ना समस्याहरू सुनाए। समस्याहरू लेखिएको ध्यानाकर्षणपत्र बुझाए।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसामु पनि समस्याहरू राखे।
शुक्रबार दिउँसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हेलिकप्टरमार्फत चितवन आउने कार्यक्रम तय थियो। उनीहरू ओलीलाई भेट्न केही घण्टा विमानस्थलम कुरे।
हेलिकप्टरबाट ओर्लिए लगत्तै ओलीलाई पत्र बुझाउँदै साहारा चितवन पीडित संघर्ष समितिका अध्यक्ष शालिग्राम दुवाडीले समस्या सुनाउन थाले।
‘हामीलाई जिबी राईले बर्बादै बनायो। हामी धेरैको पैसा डुबाएर भागेको छ।’
ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई संकेत गर्दै तुरून्तै जवाफ दिए- यो रविजीलाई पनि बुझाउनु होला।
उनी थप केही नबोली पत्र लिएर भरतपुर महानगरले गरेको भरतपुर भ्रमण वर्ष–२०२४ को उद्घाटन समारोहतिर लागे।
यो सहकारीका संस्थापक जिबी राई अध्यक्ष रहेको ग्यालेक्सी टेलिभिजनमा लामिछाने प्रबन्ध निर्देशक भएर काम गरेका थिए। केहीबेरमा जहाजमार्फत लामिछाने पनि भरतपुर विमानस्थलमा ओर्लिए।
उनलाई सञ्चारकर्मीले यही प्रश्न तेर्याइहाले। उनले सहकारी पीडितहरूसँग आफूले निरन्तर संवाद गरिरहेको दाबी गरे।
‘उहाँहरूलाई राम्रोसँग थाहा छ मैले कति धेरै प्रयास गरेको छु। चितवनका सहकारी पीडित साथीहरूको हकमा त सञ्चालकहरू फरार नहुँदै मोबाइल ह्याण्डस फ्रिमा राखेर पनि कुरा गराएको हो। समन्वयको भूमिका निर्वाह गरेको उहाँहरूलाई थाहा छ। हामी यो समस्या समाधानको हेतुले प्रतिवेदनमा काम गरिरहेका छौं। सदनमा आवाज उठाइरहेका छौं। निरन्तर काम गरिरहेका छौं,’ उनले भने, ‘सरकारले यति लामो समयसम्म एक जनालाई पनि राहत दिने, उहाँहरू कसैको पनि पैसा फिर्ता गराउने काम गरेको मैले सुनेको छैन।’
उनले आफू सहकारी पीडितको समस्या समाधान नभएसम्म निरन्तर लागिरहने बताए।
संघर्ष समितिका संयोजक दुवाडीले बचत रकम फिर्ता गर्न सहयोगको आशामा चितवन आउने सबै नेताहरूलाई भेटेर ध्यानाकर्षण गराउने गरेको बताए।
‘हामीले राजनीतिक दलका नेताहरूलाई ध्यानाकर्षण गराउने, सञ्चालकहरूको सम्पत्ती खोज्नमा प्रहरीलाई सघाउनेसम्मका काम गरिरहेका छौं। तर समस्या समाधानमा कुनै प्रगती भएको छैन,’ उनले भने, ‘हामीलाई राहत दिनुपर्यो भनेर कति दिन सरकारका निकायहरू गुहार्दै हिँड्नुपर्ने हो थाहा छैन।’
नेपाल प्रहरीले डिफ्युजन नोटिससमेत जारी गरेपनि पक्राउ नपरेका सञ्चालक राईलाई कानुनी दायरामा ल्याउन सहयोग गरिदिन आग्रह गर्दै सहकारी पीडितहरूले राजनीतिक दलको ध्यानाकर्षण गराउँदै आएका छन्। बचत रकम डुब्दा बचतकर्ताहरूको अवस्था दयनीय बन्दै गएको दुवाडीले बताए।