काठमाडौं महानगरपालिकाको नगर प्रहरीले वर्ष दिनयता सडक व्यवसायीमाथि पटक पटक गैरकानुनी धरपकड, लछारपछार र कुटपिट गर्दै आएको छ।
उनीहरूले बुधबार साँझ सुन्धाराका सडक व्यापारीमाथि आक्रमण गरेर अमानवीय ढंगले कुटपिट गरेका थिए। आधा घन्टासम्म नियन्त्रणमा लिएर टेकु कार्यालयमा राखेका थिए। यति मात्र होइन, भ्यानभित्रै लाठी र बुट हानेको फुटपाथ व्यवसायीहरूले बताएका छन्।
महानगरका नगर प्रहरीलाई कसैमाथि पनि लाठीचार्ज गर्ने र नियन्त्रणमा लिने अधिकार कानुनले दिएको छैन। कानुनविपरीत बल प्रयोग गर्ने नगर प्रहरी कारबाहीका भागीदार बन्न सक्छन्।
स्थानीय कार्यसञ्चालन ऐन २०७४ ले नगर प्रहरीको काम, कर्तव्य र अधिकार तोकेको छ। त्यसमा नगर प्रहरीलाई त्यस्तो अधिकार दिइएको छैन।
महानगर प्रहरी ऐन २०८० को दफा ७ का १३ बुँदामा पनि महानगर प्रहरीको काम, कर्तव्य र अधिकार तोकिएको छ। उक्त दफामा उल्लिखित १३ बुँदामध्ये कुनैले पनि कसैलाई नियन्त्रणमा लिने, लाठीचार्ज गर्ने, धरपकड गर्ने अधिकार नगर प्रहरीलाई दिएको छैन। महानगरले लाठीचार्ज र धरपकड गर्ने गरी कानुन बनाउने अधिकारसमेत राख्दैन।
यसबाहेक अरू कुनै कानुन छैन, जसले महानगर प्रहरीलाई सडक व्यवसायी, आन्दोलनकारी, नियम-कानुन मिचेका व्यक्ति वा शान्ति सुरक्षा भंग गरिरहेका व्यक्तिमाथि लाठीचार्ज गर्ने, कुटपिट गर्ने, लछारपछार पार्ने वा पक्राउ गर्ने अधिकार दिन्छ।
'कसैले कसैलाई पनि कुटपिट गर्न र यातना दिन पाउन्न,' महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले भने, 'हाम्रो संविधान र हामीले अपनाएको मानवअधिकार कानुनले यस्तो कार्यमा रोक लगाएको छ। नेपाल प्रहरीले पनि आफैं कसैलाई लछारपछार पार्न वा कुटपिट गर्न पाउँदैन। नगर प्रहरीले पाउने त कुरै भएन।'
हामीले उनलाई सोध्यौं, 'नगर प्रहरीलाई बजार व्यवस्थापन गर्ने, सार्वजनिक सम्पत्ति रक्षा गर्ने कर्तव्य कानुनले तोकेको छ। आफ्नो कर्तव्य पालनाका सिलसिलामा कसैले अवरोध गरे लाठीचार्ज र धरपकड गर्न नपाउने त हुँदैन होला नि?'
जबाफमा उनले भने, 'लाठीचार्ज गर्ने, लछारपछार पार्ने अधिकार नगर प्रहरीलाई छैन। कानुनविपरीत काम भइरहेको भए प्रक्रिया पुर्याएर दण्ड-जरिवाना गराउनेसम्म हो।'
'कसैलाई नियन्त्रणमा लिन त प्रहरीलाई पनि अदालतको आदेश चाहिन्छ,' उनले अगाडि भने, 'त्यसैले महानगरले कसैलाई नियन्त्रणमा राखेको छ भने त्यो पनि गैरकानुनी हो।'
नेपाल प्रहरीलाई समेत सिधै लाठीचार्ज गर्ने अधिकार नभएको उनले बताए।
'नेपाल प्रहरीले समेत जतिखेरै लाठीचार्ज गर्न पाउने होइन। स्थानीय प्रशासन ऐनअनुसार सार्वजनिक शान्ति सुरक्षामा खलल् पुग्ने गरी हुलदंगा हुन थाले त्यसलाई नियन्त्रण गर्न सिडिओको आदेशमा मात्र नेपाल प्रहरीले लाठीचार्ज गर्न पाउँछ। साँच्चिकै हुलदंगा भएको ठाउँमा पनि प्रहरीले सुरूमै गएर लाठीचार्ज गर्दैन। पहिला सम्झाइबुझाइ गर्छ, रोक्न खोज्छ, नियन्त्रण गर्नै नसकिने भए मात्र लाठीचार्ज गर्छ। लोकतन्त्रमा मान्छेको जीउज्यानको सुरक्षा पहिलो कर्तव्य हुन्छ। त्यसैले राज्यले सुरूमै आक्रमण, कुटपिट र लछारपछार गर्न हुन्न भन्ने छ,' प्रवक्ता दाहालले भने।
त्यसो भए नगर प्रहरीले लाठी बोकेर हिँड्न पाउँछ कि पाउँदैन?
हाम्रो यो प्रश्नमा उनले भने, 'सार्वजनिक सम्पत्तिको सुरक्षा गर्ने जुन काम-कर्तव्य कानुनले नगर प्रहरीलाई दिएको छ, त्यसअनुसार सुरक्षा अधिकारीको मापदण्डले पनि लाठी बोक्न त रोक्दैन, तर त्यो अरूमाथि चलाउन पाइन्न।'
उसो भए सडक व्यापारीमाथि लाठी बजार्न आदेश दिने नगर प्रहरी प्रमुख र नगर प्रहरीलाई कानुनबमोजिम कारबाही हुन्छ कि हुन्न?
महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता दाहालले भने, 'कसैले पनि अंगभंग हुने गरी कुटपिट गर्यो भनेर जाहेरी दिए वा त्यसको सूचना पाए नेपाल प्रहरीले कारबाही अघि बढाउनुपर्छ। अनुसन्धानबाट कानुनले उहाँहरूलाई लाठीचार्ज गर्न अधिकार दिएको छैन भन्ने देखियो, तर कुटपिट र अंगभंग गरेको प्रमाण फेला पर्यो भने फौजदारी अभियोग लाग्छ।'
यसरी मानिसलाई नियन्त्रणमा लिने र कुटपिट गर्ने नगर प्रहरीलाई नेपाल प्रहरीले पक्राउ गरेर कारबाही अघि बढाउन सक्छ?
'कुटपिट र अंगभंग गर्नेविरूद्ध जाहेरी पर्यो भने कानुनअनुसार पक्राउ गरी अनुसन्धान बढाउन प्रहरीलाई बाधा पर्दैन,' उनले भने, 'कानुनले अधिकार नै नदिएको काम गर्ने जोसुकैलाई कारबाही हुन्छ।'
हामीले यसबारे नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीसँग पनि कुराकानी गरेका छौं। हाम्रो प्रश्न थियो- नगर प्रहरीले लाठीचार्ज र धरपकड गर्न नपाउने कानुन छ, तर उनीहरूले त्यसो गरेको अवस्थामा के कारबाही हुन्छ?
'हाम्रो एक मात्र कामना भनेको शान्ति सुरक्षा कायम रहोस् भन्ने हो। अर्को निकायका अधिकार र कर्तव्य हामीलाई थाहा हुन्न,' उनले भने।
त्यसो भए कसैले नगर प्रहरीबाट अंगभंग हुने गरी कुटपिट भयो, यातना दिइयो, कारबाही गरिपाऊँ भन्दै जाहेरी दियो भने के गर्नुहुन्छ?
उनले भने, 'हामी पहिला कानुन हेर्छौं, अनि मिल्ने रहेछ भने जाहेरीमाथि आवश्यक कारबाही अघि बढाउँछौं।'
यी पनि पढ्नुहोस्: