गत बुधबार साँझ सुन्धाराका सडक व्यापारीमाथि अमानवीय ढंगले कुटपिट गरेको, आधा घन्टासम्म नियन्त्रणमा लिएर टेकु कार्यालयमा राखेको, भ्यानभित्रै लाठी र बुट हानेको घटनापछि एउटा प्रश्न खडा भएको छः के महानगर प्रहरीले यसरी लाठीचार्ज गर्न पाउँछ?
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले नगर प्रहरीको काम, कर्तव्य र अधिकार तोकेको छ। त्यसमा नगर प्रहरीलाई त्यस्तो अधिकार दिइएको छैन।
महानगर प्रहरी ऐन २०८० को दफा ७ का १३ बुँदामा पनि महानगर प्रहरीको काम, कर्तव्य र अधिकार तोकिएको छ। उक्त दफामा उल्लिखित १३ बुँदामध्ये कुनैले पनि कसैलाई नियन्त्रणमा लिने, लाठीचार्ज, धरपकड गर्ने अधिकार नगर प्रहरीलाई दिएको छैन। महानगरले लाठीचार्ज र धरपकड गर्ने गरी कानुन बनाउने अधिकारसमेत राख्दैन।
यसबाहेक अरू कुनै कानुन छैन जसले महानगर प्रहरीलाई सडक व्यवसायी, आन्दोलनकारी, नियम-कानुन मिचेका व्यक्ति वा शान्ति सुरक्षा भंग गरिरहेका व्यक्तिमाथि लाठीचार्ज, कुटपिट, लछारपछार वा पक्राउ गर्ने अधिकार दिन्छ।
त्यसो भए नगर प्रहरीले प्रतिरक्षा गर्न पनि नपाउने हो भन्ने प्रश्न पनि सँगसँगै उठिरहेको छ। नगर प्रहरीले कानुन पालना गराउने सिलसिलामा अवरोध सिर्जना भएर बल प्रयोग गर्नुपरे वा प्रहरीमाथि आक्रमण हुन थाले नेपाल प्रहरीको सहयोग माग्न सक्छ।
उसो भए काठमाडौं महानगरपालिकाको नगर प्रहरीले लाठीचार्ज किन गर्यो?
यही विषयमा सेतोपाटीले काठमाडौं महानगरका वडाध्यक्षहरूलाई सोधेको छ। यहाँका ६ वडाका अध्यक्षले कानुनमै नभएको लाठीचार्ज गर्ने अधिकार नगर प्रहरीलाई नभएको बताएका छन्। त्यस्तै नगर प्रहरीलाई लाठीचार्ज गर्न लगाउने निर्णयमा वडाध्यक्षहरूको संलग्नता पनि नभएको उनीहरूको भनाइ छ।
हामीले वडा नम्बर २, ६, १९, २२, २४ र ३१ का वडाध्यक्षहरूसँग कुराकानी गरेका थियौं।
पढ्नुहोस् के भन्छन् उनीहरूः
वडा नम्बर २, राजेन्द्र कुमार श्रेष्ठ
लाठी चार्ज गर्न हुँदैन थियो। हामी आफैंले बनाएको कानुनमा नगर प्रहरीले लाठी चार्ज गर्न पाउँछ भनेर लेखिएको छैन। नेपाल प्रहरीले समेत सिधै लाठीचार्ज गर्न पाउँदैन। हामी अधिकारै नभएकाले पाउने कुरै भएन।
कार्यपालिकाबाट लाठीचार्ज गर्ने निर्णय भएको छैन। हाम्रो पहिलो बैठकमा फुटपाथ खाली गर्ने भन्ने थियो। तर गरिखानै नदिने भन्ने होइन।
अब महानगरमा फुटपाथमा व्यापार मनपरी ढंगले दिन हुँदैन। काठमाडौंबासीले आफ्नो घरजग्गा छाडेर फुटपाथलाई दिएका छन्। त्यसमा सहज भएर हिँड्ने वातावरण हुनुपर्यो। त्यसैले फुटपाथका पसल हटाउने भनिएको हो। तर कसैले गरिखानै नपाउने गरी हटाउने होइन।
सडकमा साना साना व्यापार व्यवसाय गर्न दिँदा पनि महानगरले नीति नियम बनाइदिनुपर्यो। जतिखेरै व्यापार गर्न दिने कुरा आउँदैन। त्यसैले कुन समयमा कहाँ व्यापार गर्न दिने भन्ने व्यवस्था हुनुपर्छ। हामीले निश्चित ठाउँ तोकौं र त्यहाँ व्यापार गर्ने अनुमति पाएका फुटपाथ व्यवसायीले पनि आफू उठेर जाँदा सरसफाइ गर्ने नियम बनाइदिऔं। आजसम्म त सडकमा व्यवसाय गर्यो, उठेर हिँड्ने बेला फोहोर पारेर हिँड्यो। त्यस्तो गर्न हुन्न भन्ने व्यवसायीले पनि बुझ्नुपर्यो।
वडा नम्बर ६, भुवन लामा
नगर प्रहरीलाई हातहतियार बोकेर हिँड्ने अधिकार कानुनले दिएको छैन।
लठ्ठी बोक्न पाइन्छ कि पाइन्न भन्ने पनि बहसकै विषय हो। आफैं लठ्ठी प्रहार गर्न वा लाठीचार्ज गर्न भएन। तर कसैले आक्रमण गर्यो भने प्रतिकार त जसले पनि गर्न पाउँछ। बुधबार सुन्धाराको घटनामा पनि त्यही भएको भन्ने नगर प्रहरीको भनाइ छ।
नगर प्रहरीलाई लाठीचार्ज गर्न पाउने आदेश कार्यपालिकाबाट पास भएको होइन। मेयर साहेबको आदेश हो। खासगरी फुटपाथ व्यवसायीलाई कसरी हटाउने भन्ने विषयमा पनि कार्यपालिकामा छलफल भएको छैन। संविधानले कतिपय अधिकार मेयरलाई दिएको छ। सायद त्यही अधिकार प्रयोग गरेर उहाँले नगर प्रहरी चलाइरहनुभएको होला।
राति सात बजेपछि व्यापार गर्न दिने वा नदिने भन्ने सवालमा मेरो धारणा भनेको दिए हुन्छ भन्ने हो।
हाम्रो वडामा पनि त्यही गरिएको छ। हुन त मेयर साहेबकै आदेशमा महानगरभरिका फुटपाथ व्यापारीलाई हटाइएको छ। मैले भने हाम्रो वडामा दिउँसो वा अफिस टाइममा भए फुटपाथ व्यापारीलाई सम्झाइबुझाइ गरेर घर पठाऊ, लछारपछार नगर, बेलुका चाहिँ सडकमा व्यवसाय गर्न देऊ भनेको छु। सडकमा व्यापार गर्नेहरूको परिवार हुन्छ, महिना दिनसम्म पनि कमाइ भएन भने त उनीहरू कसरी बाँच्ने भन्ने कुरा हामीले सोच्नुपर्छ।
त्यसैले फुटपाथ व्यवसायीलाई विकल्प दिनुपर्छ भन्ने मलाई लाग्छ। मैले यो कुरा एउटा कार्यपालिका बैठकमा मेयर साहेबलाई पनि भनेको थिएँ। उहाँले सुझावका लागि धन्यवाद भन्नुभयो।
खास भन्ने हो भने कानुन पनि स्पष्ट बनाउनुपर्छ भन्ने मलाई लाग्छ। संघ र प्रदेशले कानुनमा नै फुटपाथ व्यवसायको मापदण्ड तोकिदिए हुन्थ्यो।
वडा नम्बर १९, राजेश श्रेष्ठ
नगर प्रहरीले हातहतियार बोक्न नपाउने भन्ने हाम्रो कानुनमा छ। हामीले नै त्यस्तो कानुन बनाएका हौं।
कानुन कार्यान्वयन गराउन जाँदा लठ्ठी समेत नबोकेको प्रहरीलाई त फेरि कसैले टेर्दै टेर्दैन। भोलि आक्रमण नै हुने स्थिति आयो भने पनि के गर्ने? बुधबारको घटनामा पहिला नगर प्रहरीमाथि आक्रमण भएको हो कि उसले आफैं लाठीचार्ज गरेको हो भन्नेबारे मलाई धेरै जानकारी छैन। त्यहीँका वडाध्यक्षलाई थाहा होला।
फुटपाथ व्यवसायीलाई नगर प्रहरीले बल प्रयोग गरेर उठाउने भन्ने निर्णय कार्यपालिकाको होइन। वडाध्यक्षलाई यो कुरा थाहा हुँदैन।
कानुनमा फुटपाथमा व्यवसाय गर्न निषेध गरिएको छ। त्यसैले फुटपाथ खाली गराउनु जायज कुरा हो। तर फुटपाथको व्यवसाय व्यवस्थित गर्ने, समय वा तोक्ने कुरा पनि सँगै गर्नुपर्छ।
पहिला हटाएपछि बिस्तारै व्यवस्थित गर्दै लैजाने होला।
चिनीकाजी महर्जन, वडा नम्बर २२
कानुनले हाम्रो नगर प्रहरीलाई हातहतियार वा लाठी बोकेर हिँड्ने अधिकार दिएको छैन। त्यसैले लाठीचार्ज गर्न पनि पाउँदैन।
हाम्रो वडामा पर्ने सुन्धारामा बुधबार जे भयो, त्यो दुर्घटना हो। नगर प्रहरीले आफैं होइन, प्रतिकार गर्दा लाठी हानेको भन्ने आएको छ। त्यो छानबिनको विषय हो। तर राज्य नै संयम हुनुपर्छ भन्ने मेरो कुरा हो। कुटपिट र हिंसा गर्न कसैले पनि पाइँदैन। नगर प्रहरीले पाउने कुरै भएन।
जहाँसम्म सात बजेपछि फुटपाथमा पसल राख्न पाइने कि नपाइने भन्ने छ, दीगो व्यवस्थापन नहुन्जेल ७ बजेपछि ट्राफिक कम भएका बेला पसल राख्न दिनेमा सहमति भएको थियो। त्यसैले त्यहाँ पुगेर नगर प्रहरीले रोक्न खोज्नु हुँदैन थियो। रोक्नै खोजेको थिएन र पनि पहिले आक्रमण भएको हो भने हातमा लाठी भएको मान्छेले प्रतिकार गर्छ।
बुधबार जे भयो, त्यो दुर्घटना मान्छु म। मेयरज्यूले एमालेका मान्छेले आक्रमण गरे भन्नुभएको छ। उहाँले जे भन्यो, त्यही सत्य हुँदैन। त्यहाँ फुटपाथ व्यवसायी थिए। उनीहरू एमाले, कांग्रेस, स्वतन्त्र जे पनि हुन सक्छन्। तर त्यो दिन त्यहाँ फुटपाथ व्यवसायी थिए।
फुटपाथकै विषयमा पनि हामी बोल्नुपर्छ। फुटपाथमा अब पहिला जस्तो मनपरी गर्न पाइँदैन। मान्छेलाई हिँड्नै नसक्ने गरी फुटपाथमा पसल थाप्न पाइँदैन। महानगरले फुटपाथ खाली गर्ने जुन अभियान लिएको छ, त्यो नयाँ काठमाडौं बनाउन हो।
तर फुटपाथमा व्यवसाय गरिरहेकालाई निर्ममतापूर्वक हटाउने र विकल्पबिहीन बनाउने गर्न हुँदैन। काठमाडौंमा गरिबहरूलाई पनि ठाउँ छ भन्ने सन्देश जानुपर्छ। त्यसैले सडक व्यवसाय गर्न निश्चित समय, ठाउँ तोक्ने कुरामा राज्यले आफ्नो आइडिया लगाउनुपर्छ। कहाँ, कति बेला तोक्ने र कस्तो आर्थिक अवस्था, कस्तो समुदाय, कस्तो दुर्घटनामा परेका व्यक्तिहरूलाई दिने भन्नेबारे मापदण्डहरू बनाउनुपर्छ।
वडा नम्बर ३१, सरोज ढकाल
सुन्धारामा जुन घटना भयो, त्यो दुर्घटना हो। हाम्रो कानुनले नगर प्रहरीलाई लाठीचार्ज गर्ने अधिकार दिएको छैन।
नगर प्रहरीले ड्युटीका क्रममा आक्रमण हुने अवस्था आउला कि भनेर लाठी बोकेको हुन भने सक्छ।
फुटपाथमा जथाभाबी पसल थाप्न पनि पाइँदैन। त्यसैले राति ९ बजेपछि पसल गर्न दिने भनिएको थियो। फुटपाथ व्यवस्थित गर्नुपर्यो। साना व्यापारीलाई समय र ठाउँ तोक्नु पर्छ। गरिखान त दिनुपर्छ।
वडा नम्बर २४, विनोदकुमार राजभण्डारी
प्रहरीले लाठी बोकेर किन हिँड्यो भन्ने कुराको जबाफ मैले दिने होइन। महानगरका प्रवक्ताले दिने हो।
सुन्धाराको घटनाबारे मलाई केही विवरण थाहा छैन। त्यो दिनको घटनामा मेरो समर्थन पनि छैन, विरोध पनि छैन।