सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीन मन्त्री बर्खास्त गरेका छन्।
मुख्यमन्त्री शाहले नेकपा माओवादी केन्द्रका तीन मन्त्रीलाई मंगलबार पदबाट बर्खास्त गरेका हुन्।
संघमा समीकरण फेरिएसँगै प्रदेशहरूमा त्यसको असर देखिएको छ।
मुख्यमन्त्री शाहले सामाजिक विकास मन्त्री झपट साउद, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रमेशसिंश धामी र राज्य मन्त्री गीता माललाई बर्खास्त गरेको पत्रकार सम्मेलन गरी जानकारी गराएका छन्।
मुख्यमन्त्री शाहले सरकार जाेगाउन आफूहरू लागेको पनि बताए।
‘सबै पार्टीलाई मिलाएर लैजान म तयार छु,’ उनले भने, ‘केन्द्रीय निर्णयअनुसार सरकार चलाउन कुन दलसँग साझेदारी गर्ने भन्ने विषयमा कुरा अघि बढ्छ।’
सुदूरपश्चिममा कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमाले १०, नागरिक उन्मुक्ति पार्टी ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपा १ र स्वतन्त्र १ जना सांसद छन्।
आजै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि माओवादीका दुई मन्त्रीलाई पदबाट बर्खास्त गरेका थिए। शाह र पाण्डे कांग्रेसका हुन्।