बुधबार बिहान ११ बजेतिर विराटनगर महानगरको सभा हल महिला उपस्थितिले खचाखच थियो।
विराटनगरको राजनीतिक माहोलमा सक्रियतापूर्वक सहभागी नदेखिएका अनुहार आजको कार्यक्रममा बढी सहभागी थिए। सरकारी होस् अथवा गैरसरकारी संस्था नै किन नहोस्, भनेको समयमा कोही सहभागी नआउने समस्याबाट आजको कार्यक्रम मुक्त थियो।
राजनीतिक दलदेखि गैरसरकारी संस्थामा समेत आवद्ध नभएका विराटनगरका विभिन्न वडाका महिला महानगरले बोलाएको समयमै सभाकक्षमा प्रवेश गरिसकेका थिए।
‘अरूबेला सहभागी कुर्नुपथ्र्यो, आज सबै सहभागी समयमै आइपुगे’, महानगरका कर्मचारीहरू भन्दै थिए ‘सधैं यस्तै भइदिए हुन्थ्यो।’
मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्की र अरू केही जनप्रतिनिधिहरू पनि सभाकक्षमा उपस्थित थिए। कार्यक्रमको ब्यानरमा लेखिएको थियो ‘उपमेयरसित गृहिणी।’
प्रारम्भमा कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै उपमेयर कार्कीले सबै वडाहरूबाट प्रतिनिधिमूलक रूपमा गृहिणीहरूलाई महानगरले बोलाएको जानकारी दिइन्।
‘आज जति पनि दिदीबहिनीहरू यहाँ आउनुभएको छ, तपाईंहरू सबै कुनै पनि राजनीतिक दलमा नखुलेको, कुनै पनि संघ–संस्थामा नबस्नु भएकोहरू नै हुनुहुन्छ,’ उपमेयर कार्कीले भनिन् ‘दलमा रहेका, संघ–संस्थामा रहेका महिलाहरूको कुरा त हामी सुनिरहेका हुन्छौं। आज चाहिँ तपाईंहरू, जो घर परिवार चलाएर बस्नुभएको छ। तपाईंहरूका कुरा र समस्या सुन्न भनेर बोलाएका हौं।’
उनको भनाइमा समर्थन जनाउँदै मेयर नागेश कोइरालाले पनि आफ्ना समस्या खुला रूपमा राखिदिन आग्रह गरे।
‘तपाईंहरूलाई केही समस्या परे सिधै महानगरमा आउन अनुरोध गर्दछु,’ मेयर कोइरालाले थपे, ‘त्यसैले आफ्नो समस्या खुलस्त रूपमा राख्नुहुन अनुरोध छ।’
आफैंले जिताएर पठाएका जनप्रतिनिधिहरूले महानगरमै बोलाएर समस्या सुनाउन आग्रह गरेपछि सभाकक्षमा उपस्थित केही महिलाले अग्रसरता देखाएर बोले।
तिनैमध्येकी एक थिइन्, विराटनगर–१८ की ६५ वर्षीया पार्वतीदेवी यादव।
‘म बोल्छु’ भन्दै माइक समातेकी उनले गाउँटोलमा महिलाहरू सबभन्दा धेरै मदिराका कारण दुःख पाउन बाध्य भएको बताइन्।
‘गाउँटोलका महिला सबभन्दा धेरै पीडित नै रक्सीको कारणले छन्,’ यादवको भनाइ थियो, ‘धेरै लोग्ने मान्छेहरूले कमाएको पैसा रक्सीकै सक्छ। परिवारले त्यही कारणले दुःख पाउँछ। कतिको त्यही कारणले घर झगडासमेत भएको पाएका छौं। महानगरले सक्छ भने रक्सीको बिक्री रोकोस्।’
यादवले यति कुरा राखिसक्दा उपस्थित महिलाहरूले ‘हो–हो’ भन्दै समर्थन प्रकट गरेका थिए। उनीभन्दा पछि बोल्ने अरू दुई जना महिलाले पनि महानगरभित्र अनियन्त्रित रूपमा हुने मदिरा कारोबारले महिलालाई दुःख दिइरहेको गुनासो गरे।
‘अरू कुरा किन्न सजिलै पाइँदैन, रक्सी चाहिँ जता पनि पाइने रहेछ,’ विराटनगर-१४ की एक महिलाले भनिन्, ‘यसरी जता पनि सजिलैसित पाइने रक्सीले हामी महिलाहरूलाई धेरै दुःख दिइरहेको छ। यो मदिराले घरबार बिगार्यो।’
उनले आफू घरमा मदिराकै कारण पीडित बनेको बताउँदै थपिन्, ‘मेरो त श्रीमान र ससुरा दुवै जना रक्सी पिएर आउँछन्। घरका दुवै जना गार्जेन त्यस्तो भएपछि दुःख पाउने हामीले नै हो। त्यसैले रक्सीको बिक्री रोक्नुपर्छ।’
विराटनगर–१४ कै अर्की महिला मुन्नीदेवी यादवले गाउँटोलमा बेरोजगारी समस्या चर्को रहेको बताइन्।
‘महानगरलाई पनि राम्रोसँग थाहा छ, गाउँघरमा सबभन्दा धेरै ठूलो समस्या बेरोजगारीको छ,’ साहको भनाइ थियो, ‘बेरोजगारी भएपछि आम्दानी हुँदैन। आम्दानी नभएपछि घर चलाउन गाह्रो हुन्छ। अहिले हामी गृहिणीहरूको समस्या नै बेरोजगारी हो।’
उनले अझै थपिन्, ‘महानगरले सक्छ भने हामीजस्ता महिलालाई रोजगारी देओस्। हाम्रो मुख्य समस्या नै आम्दानी केही नहुनु हो। बेरोजगार भएर बस्दा घरपरिवारबाट समेत हेपिनु परेको छ। महानगरले यो अवस्थाको अन्त्य गरिदिनसक्छ?’
उनले महिलाका लागि रोजगारी माग्दा पनि उपस्थित सबै महिलाले ताली बजाएर समर्थन जनाए। तर, मेयर र उपमेयरले त्यसको ठोस जवाफ चाहिँ दिन सकेनन्।
विराटनगर–१२ की सुशीलादेवी राजवंशीले महिलाहरूका लागि सीपमूलक तालिम चलाएर स्वरोजगार बन्न महानगरले सहयोग गर्नुपर्ने सुझाव दिइन्।
‘महानगरले बेरोजगार महिलाहरूका लागि विभिन्न तालिम सञ्चालन गर्नसक्छ। केही सीप सिक्न सक्यो भने उनीहरूले गरेर खान सक्छन्,’ राजवंशीको भनाइ थियो, ‘हामीलाई स्वरोजगार बनाउन महानगरले ध्यान दिनुपर्छ।’
विराटनगर–१८ की शर्मिला साहको चासो चाहिँ सडकतिर थियो। सडक राम्रो नबनेका कारण आफ्ना छोराछोरीले दुःख पाएको उनको भनाइ थियो। हाम्रो टोलको बाटो राम्रो छैन,’ उनले भनिन्, ‘सडक नबन्दा छोराछोरीलाई स्कुल जान नै पूरा समस्या भएको छ।’
आफ्ना जनप्रतिनिधिहरूसामु यसरी समस्या राखेका महिलाहरूमध्ये धेरैले मदिरा नियन्त्रण, रोजगारी सिर्जना र बाटोघाटोको समस्या धेरै सुनाएका थिए।
घर व्यवहारमा केन्द्रित महिलाहरूका कुरा सुनेर त्यसलाई सम्बोधनको प्रयास गरिने महानगरको प्रतिबद्धता छ। सँगै महिलाहरूका समस्या सुन्ने क्रमलाई निरन्तरता दिने योजना पनि रहेको महानगरले जनाएको छ।
‘अझै पनि धेरै महिलालाई आफ्ना अधिकारका विषयमा जानकारी नै नभएको पनि देखियो,’ उपमेयरसित गृहिणी कार्यक्रमबारे उपमेयर कार्कीले भनिन्, ‘संविधान प्रदत्त सबै किसिमका अधिकारबारे सहभागीहरूलाई जानकारी गराएका छौं। उहाँहरूका समस्या सुनेका छौं। यस्तो कार्यक्रमले निरन्तरता पाउनेछ। अनि हाम्रो नीति कार्यक्रम निर्माणमा त्यसको प्रभाव देखिनेछ।’