सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति (नाउपा) बाट सरकारमा सहभागी दुई मन्त्रीको जिम्मेवारी तोकेका छन्।
मुख्यमन्त्री शाहले नाउपाका सांसद लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्रालयको र खुसीराम चौधरीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका हुन्। दुवै मन्त्रीले बिहीबार पदभार ग्रहण गरेका छन्।
नाउपाकै तीन जना मन्त्रीहरूकाे कार्यभार भने यसअघि नै तोकिइसकिएको छ। घनश्याम चौधरी आर्थिक मामिला मन्त्री छन्। रामेश्वर चौधरी, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री छन्।
त्यस्तै इन्दिरा गिरी भूमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्रीको जिम्मेवारीमा छिन्। नेपाली कांग्रेस नेतृत्वको अहिलेको सरकार अल्पमतमा छ।
मुख्यमन्त्री शाहलाई कांग्रेसको १८ र नागरिक उन्मुक्तिको ७ मत भए पनि सरकार बनाउन आवश्यक २७ सांसद संख्या पुग्दैन। उनी अहिले नागरिक उन्मुक्तिलाई साथमा राख्न अन्तिम कसरतमा छन्।
थप २ मत जुटाउन राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खेमादेवी विष्ट र अर्का एक स्वतन्त्र सांसद तारा जोशीलाई सरकारमा ल्याउन लागि परेका छन्।
आगामी चैत २० गतेभित्र शाहले सदनबाट विश्वासको मत लिनुपर्ने छ। फागुन २१ गते संघमा नयाँ गठबन्धन बनेपछि माओवादी केन्द्रले समर्थन फिर्ता लिएको थियो।
त्यसको केही दिनपछि एकीकृत समाजवादी पनि बाहिरिएपछि कांग्रेस सरकार सुदूरपश्चिममा अल्पमतमा परेको हो।
शाहको सरकार ढालेर नयाँ बनाइहाल्न संघमा बनेको गठबन्धनसँग पनि प्रष्ट बहुमत छैन। सुदूरपश्चिम प्रदेश सभामा नेकपा माओवादीका सभामुख बाहेक १०, एमालेका १० र एकीकृत समाजवादीका ४ जना सांसद छन्।
सभामुखले मुख्यमन्त्रीलाई सदनमा मतदान गर्न नमिल्ने भएकोले केन्द्रको गठबन्धनको सरकार यहाँ बनाउन तीन मत अपुग छ। नागरिक उन्मुक्ति पार्टीले संघीय सरकारमा पुष्पकमल दाहाल 'प्रचण्ड' लाई समर्थन गरेको छ।
प्रदेशमा पनि केन्द्रकै गठबन्धनलाई सघाउने उनी निकटको भनाइ छ। तर मन्त्री भएका प्रदेशका सांसदहरूले भने त्यो निर्णय नमानेर कांग्रेससितको सहकार्य निरन्तर रहने भनेका छन्।