नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहजिल्ला झापामा अधिवेशन अघि नै पदाधिकारीको नाम घोषणा गरिदिएपछि उनकै टिम विभाजित बनेको छ।
ओलीले आफूले भनेको नमान्नेलाई 'भीम रावलको हालत बनाइदिने' चेतावनी दिएपछि झापा एमालेभित्र उनकै टिम दुई धारमा विभक्त देखिएका हुन्।
पार्टीको ११ औं जिल्ला सम्मेलन उद्घाटनका लागि गएको बुधबार नै झापा आएका ओलीले सोही साँझ उपलब्ध केन्द्रीय सदस्य, जिल्लाका नेताहरु राखेर नयाँ जिल्ला नेतृत्वबारे छलफल गरेका थिए। त्यसक्रममा ओलीले जिल्लाका पदाधिकारीको नाम घोषणा गरेको एमाले नेताहरुले बताएका छन्।
‘हामीसमेत उपस्थित छलफलमा अध्यक्ष कमरेडले जिल्ला अध्यक्षमा प्रेम गिरी, उपाध्यक्षमा असारू राजवंशी र सचिवमा तुलसी कार्कीको नाम लिनुभयो। यही अनुसार नयाँ नेतृत्व चयन गर्न निर्देशन दिनुभयो’, एमाले झापाका एक नेताले सेतोपाटीसँग भने ‘उहाँले त्यसो भनेपछि हामी सबै मौन बस्यौं।’
अध्यक्ष ओलीले यस्तो निर्देशन दिए पनि झापामा भने ओलीले अघि सारेका अध्यक्षका दाबेदार प्रेम गिरीलाई हालका जिल्ला कमिटी सचिव शिव ढुङ्गेलले चुनौती दिइरहेका छन्।
ढुङ्गेल पनि ओली समूहकै नेता हुन्। यद्यपि ओलीले उनलाई जिल्ला कमिटीको पदाधिकारीको कुनै पनि पदमा नाम नलिएपछि ढुंगेलका समर्थकहरु क्रुद्ध बनेका छन्।
तत्कालीन जिल्ला कमिटी अध्यक्ष दीपक कार्कीलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएपछि उपाध्यक्ष गिरीले कार्यवाहक अध्यक्षको रुपमा काम गरिरहेका छन्। गिरी र सचिव ढुङ्गेल अध्यक्ष बन्ने दौडमा थिए।
बिहीबार बिर्तामोडमा अधिवेशन उद्घाटन कार्यक्रम तय थियो। त्यसअघि नै बुधबार साँझ ओलीले पदाधिकारी बनाउनेहरुको नाम घोषणा गरिदिएपछि ढुङ्गेल समर्थकहरुले असन्तुष्टी प्रकट गरेका छन्।
बिहीबार अधिवेशन उद्घाटनका क्रममा ओलीले आफूले भनेको नमान्नेको हालत कस्तो हुन्छ भन्ने कुरा केन्द्रीय महाधिवेशनमा ‘एक जनाले भोगेको’ दृष्टान्त हेर्न चेतावनी दिएका थिए। उनको संकेत भीम रावलतर्फ थियो।
‘महाधिवेशनमा सहमतिका नाममा दुई दिनसम्म प्रयास गरियो तर एक जनाले नमानेपछि निर्वाचन भयो, अहिले तिनको अवस्था के छ सबैलाई थाहै छ’, ओलीले भने।
चितवनको सौराहमा २०७८ मंसिरमा भएको १० औं महाधिवेशनमा एमालेका तत्कालीन उपाध्यक्ष भीम रावल अध्यक्षका प्रत्यासी थिए।
त्यतिबेला रावललाई उपाध्यक्षमै रहेर सहमति जनाउन ओलीले आग्रह गरेका थिए। तर रावल तयार नभएपछि चुनाव भएको थियो। अध्यक्षमा पराजित रावल त्यसयता एमालेमा भूमिकाविहीन छन्।
ओलीले अधिवेशन अगावै पदाधिकारीको नाम घोषणा गरेपछि जिल्लामा तैं चुप मै चुपको अवस्था सिर्जना भएको एमाले नेताहरुले बताएका छन्।
‘केन्द्रीय अध्यक्ष स्वयम जिल्ला अध्यक्षको दावेदारको नाम नै हटाएर पदाधिकारी घोषणा गरिनु अन्यायपूर्ण छ’, झापा एमालेका एक नेताले भने ‘शुक्रबार बन्द सत्र सकिएपछि नोमिनेसन होला। के गर्ने छलफलमै छौं।’
दिपक कार्की नेतृत्वको टिमलाई असहयोग गरेको तथा प्रदेश अधिवेशनमा विनोद ढकाल टिमलाई सहयोग गरेको आशंकामा ओली टिमले ढुङ्गेललाई पदाधिकारीमा नअटाएको आरोप उनका समर्थकहरुले लगाएका छन्। तर, उनीहरु मुखर हुन भने हच्किरहेका छन्।
‘जिल्लामा आफ्नो राजनीति सबैलाई जोगाउनु छ’, एक नेताले भने ‘ओलीको निर्णयलाई चुनौती दिने हिम्मत कसले गर्ने? तर, चुनाव भयो भने जे पनि हुनसक्छ।’
कोशीकै उदयपुरमा अध्यक्ष ओलीसहितका नेताहरुले अघि सारेका उम्मेद्वारलाई विद्रोही उम्मेद्वारले हराइदिएपछि झापामा निर्वाचन नगराउन नेताहरुको जोड छ।
‘उदयपुरको अध्यक्षमा केन्द्रको अफिसियल उम्मेद्वार परमेश्वर घिमिरेलाई हराउँदै भागवत राउत निर्वाचित भएपछि यहाँ चुनाव नगर्ने अडानमा नेताहरु छन्’, झापा एमालेका एक नेताले भने ‘हेरौं भरे साँझसम्ममा के हुन्छ।’
उदयपुरमा ओलीले अघि सारेका तथा पूर्व मुख्यमन्त्रीहरु शेरधन राईदेखि हिक्मत कार्कीसम्मले समर्थन गरेका घिमिरेलाई हराउँदै राउत ३४४ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका थिए। घिमिरेलाई राउतले १ सय १४ मतको अन्तरले हराएका छन्।
राउतलाई यसअघि प्रदेशमा अध्यक्षमा पराजित बनेका विनोद ढकाल टिमको समर्थन थियो।