नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वर्गीय नेता खुमबहादुर खड्काको सालिक अनावरण गरेका छन्।
शुक्रबार सभापति देउवाले दाङको लमही नगरपालिका–९ स्थित अमिलिया बजारमा निर्मित स्वर्गीय खड्काको पूर्ण कदको सालिक अनावरण गरेका हुन्।
दाङमा स्वर्गीय खड्काको पूर्ण कदको सालिक अनावरणपछि बोल्दै देउवाले खड्का एक असल नेता भएको बताए। यस्तै, प्रजातन्त्रका बेला दुई जनासँगै जेल परेको स्मरण गरे।
‘खुमबहादुरलाई झुटा आरोप लगाएर फसाउन खोजियो र फसाए पनि,’ देउवाले भने, ‘तर पनि उहाँको व्यक्तित्वमा कुनै असर परेन। झनै पार्टीपंक्ति र कार्यकर्तामाझ उहाँको प्रभाव बढेर गयो।’
खड्का जनताको हितका लागि जस्तोसुकै कदम उठाउन पनि पछि नपर्ने व्यक्ति भएको देउवाले बताए।
‘खुमबहादुर ठूलो हिम्मतका साथ अडान राख्ने व्यक्ति हो,’ देउवाले भने, ‘प्रजातन्त्र र साथीभाइका जायज कामका लागि जस्तोसुकै कष्ट उठाउन तयार हुने व्यक्ति पनि हो।’
पार्टीकी उपमहासचिव डिना उपाध्याय संग्रौलाले काठमाडौंमा हुँदा नै नेता खड्कालाई राप्तीको नेता भनेर चिनेको बताइन्। र उनकै कारण दाङमा कांग्रेसको संगठन निर्माण भएको समेत बताइन्।
केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेले स्व. खुमबहादुरलाई पार्टी भित्र मिस युज गरिएको बताए।
‘उहाँको सम्पत्ति त्यतिखेरै १९ बिगाहा हाराहारी थियो र उहाँलाई एक करोड भन्दा कम रुपैयाँमा राजनीतिक पूर्वाहका कारण भ्रष्टचारी करार गर्ने अन्या भएकै हो,’ उनले भने, ‘एक असल नेताको छवि सिध्याएर राजनीतिक रोटी सेक्ने काम भयो।’