राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहित संघमा बनेको गठबन्धनलाई समर्थन नगर्ने निर्णय गरेको छ।
धुम्बाराहीमा बुधबार बसेको पार्टी पदाधिकारी बैठकले अहिले संघीय सरकार बनाएको गठबन्धनलाई सहयोग गर्न नसकिने निष्कर्ष निकालेको प्रवक्ता मोहन श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए।
‘संघीय सरकार बनाएको सत्ता गठबन्धनलाई सहयोग नगर्ने पार्टी पदाधिकारी बैठकले निर्णय गरेको छ,’ उनले भने।
राप्रपाले नेपाली कांग्रेस नेतृत्वका प्रदेश सरकारलाई भने समर्थन गर्ने संकेत गरेको छ। ‘प्रदेशहरूमा एमाले-माओवादी गठबन्धनलाई सहयोग गर्दैनौं,’ उनले भने, ‘कांग्रेस नेतृत्वका सरकारलाई समर्थन चाहिए सहयोग गर्छौं तर राप्रपा सरकारमा भने सहभागी हुँदैन।’
यसअघि राप्रपाले सत्ताकेन्द्रित राजनीतिमा आफूहरू नरहेको बताउँदै आएको थियो।
राप्रपाले एमाले-माओवादी गठबन्धनलाई सहयोग नगर्ने बताएपछि गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि एमाले-माओवादीलाई सकस पर्ने देखिएको छ।
गण्डकीका मुख्यमन्त्री, नेपाली कांग्रेस संसदीय दल नेता सुरेन्द्रराज पाण्डेले बुधबार पदबाट राजीनामा दिएका थिए। प्रदेश प्रमुखले एक साताको समय दिँदै मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन्।
गण्डकीमा राप्रपाको साथबिना एमाले-माओवादी गठबन्धनबाट नयाँ सरकार बनाउन बहुमत पुग्दैन। गण्डकीमा कांग्रेस २७ सांसदसहित ठूलो दल हो।
यहाँ एमालेका २२ र माओवादी केन्द्रका सभामुखसहित ८ सांसद छन् भने राप्रपाका २ र एकीकृत समाजवादीका १ सांसद छन्। ६० सदस्यीय गण्डकीमा बहुमतका लागि ३१ सांसदको साथ चाहिन्छ।
कुन प्रदेशमा कति छन् राप्रपाका सांसद?
९३ सदस्यीय कोशीमा राप्रपाका ६, १०७ सदस्यी मधेसमा १, ११० सदस्यीय बागमतीमा १३, ६० सदस्यीय गण्डकीमा २, ४० सदस्यीय कर्णालीमा एक, ८७ सदस्यीय लुम्बिनीमा ४ र ५३ सदस्यीय सुदूरपश्चिममा एक सांसद छन्।
यो पनि: राप्रपाको साथबिना गण्डकीमा कुनै मुख्यमन्त्रीले विश्वास मत लिन सक्दैन: पाण्डे