सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरी प्रदेश प्रमुखको कार्यालय पुगेका छन्।
नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), नाउपा र राप्रपाको साथमा चौधरी मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आइतबार दिउँसो प्रदेश प्रमुख नजिर मियाँकहाँ पुगेका हुन्।
मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका चौधरी नाउपाका संरक्षक रेशम चौधरीनिकट सांसद हुन्।
कांग्रेसका १८, एकीकृत समाजवादीका ४, नाउपाका ४ र राप्रपाको १ गरी बहुमत जुटाएर मुख्यमन्त्री दाबी गर्न आएको चौधरीको भनाइ छ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार बनाउन २७ सांसदको समर्थन आवश्यक पर्छ।
सत्ता गठबन्धनभित्र पनि सुदूरपश्चिम मुख्यमन्त्री नाउपालाई दिने सहमति आइतबार बिहान बालुवाटारमा भएको थियो। सत्ता पक्षले नाउपा संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका सांसद कैलाश चौधरीलाई मुख्यमन्त्रीमा अघि सारेको थियो।
सत्ता गठबन्धनको आइतबार बिहानको बैठकमा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिम मुख्यमन्त्री आफूहरूलाई चाहिने अडान लिएका थिए। सत्तापक्षका अन्य नेताहरूले भने बैठकमा नाउपा र एकीकृत समाजवादी आलोपालो मुख्यमन्त्री हुने र पहिले नाउपालाई छाड्ने सहमति गरेका थिए।
उक्त सहमति भएको केही घन्टामै एकीकृत समाजवादीले कांग्रेससँग मिलेर नाउपालाई मुख्यमन्त्री बनाउन लागेको छ।