सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीले दाबी पेस गरेका छन्।
आइतबार दिउँसो प्रदेश प्रमुख नजिर मियाँलाई भेटेर उनले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।
नाउपासहित नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र राप्रपाका गरी २७ सांसदको साथ आफूलाई रहेको चौधरीको दाबी छ।
नाउपा संसदीय दल नेता घनश्याम चौधरी, नेपाली कांग्रेस संसदीय दल नेता कमलबहादुर शाह र एकीकृत समाजवादी संसदीय दल नेता दीर्घ सोडारीको हस्ताक्षर भएको पत्रसहित नाउपा सांसद चौधरीले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री दाबी पेस गरेका छन्।
सुदूरपश्चिममा कांग्रेसका १८, एकीकृत समाजवादीका चार, नाउपाका रेशम चौधरी पक्षका ४ र राप्रपाका १ जना सांसद छन्। ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सांसदको साथ चाहिन्छ।
चौधरीले आइतबार दिउँसो २ बजेर ५७ मिनेटमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।
दाबी पेस गर्न प्रदेश प्रमुखकोमा चौधरीसहित कांग्रेस संसदीय दल नेता विक्रम धामी, नाउपाका घनश्याम चौधरी, राप्रपाका सांसद खेमा विष्ट पुगेका थिए। एकीकृत समाजवादीका सांसदहरूले चौधरीलाई मुख्यमन्त्री बनाउन लिखित सहमति गरेका छन् तर उनीहरू प्रदेश प्रमुख कार्यालयमा गएका थिएनन्।
यो पनि: सुदूरपश्चिम मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखकोमा पुगे नाउपाका लक्ष्मणकिशोर चौधरी