सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि एउटै पार्टीका दुई सांसदले दाबी पेस गरेका छन्।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसदहरू कैलाश चौधरी र लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा आइतबार दाबी पेस गरेका हुन्।
कैलाश नाउपा संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठनिकट र लक्ष्मणकिशोर नाउपा संरक्षक रेशम चौधरीनिकट हुन्। पार्टीभित्र मतभेद हुँदा नाउपाका दुई सांसदले फरक-फरक गठबन्धनबाट मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्।
कैलाशलाई संघीय सरकार बनाएको सत्ता गठबन्धन नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) को साथ छ भने केही नाउपा सांसदको पनि सहयोग छ।
साथै लक्ष्मणकिशोरलाई नाउपाका ४, नेपाली कांग्रेसका १८, एकीकृत समाजवादीका ४ सांसदको साथ छ। सुदूरपश्चिममा नाउपाका ७ सांसद छन्।
मुख्यमन्त्रीमा दुई जनाको दाबी परेकोले अध्ययनकै क्रममा रहेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।
‘मुख्यमन्त्रीमा दुई जनाको दाबी पेस भएको छ, हामी अध्ययनकै क्रममा छौं,’ प्रदेश प्रमुख कार्यालयका सचिव शैलेशराज ढुंगानाले भने।
प्रदेश प्रमुख नजिर मियाँले आवश्यक परे सांसदहरूको हस्ताक्षर सनाखत गर्न सकिने संकेत गरेका छन्। एकै पार्टीबाट दुई जनाले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्तिमा केही समय लाग्ने देखिएको छ।
यो पनि: नाउपाकै दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि अध्यक्ष श्रेष्ठले भेटिन् सुदूरपश्चिम प्रदेश प्रमुखलाई