सुदूरपश्चिम मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारीले दाबी पेस गरेका छन्।
बिहिवार दिउँसो ४ बजे प्रदेश प्रमुखलाई भेटेर उनले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन्।
वैशाख ४ गते साँझ ६ बजेतिर स्पष्ट बहुमत नरहेको भन्दै सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले पुनः मुख्यमन्त्रीमा बहुमत जुटाएर दाबी पेस गर्न आह्वान गरेका थिए।
सोडारीले अन्तिम दिन दाबी पेस गरेका हुन्।
साेडारीले नेकपा माओवादीका १०, एमालेका १०, नागरिक उन्मुक्तिका २, स्वतन्त्र १ र एकीकृत समाजवादी पार्टीका ४ जना सासंदको लिखित सर्मथन जुटाएर मुख्यमन्त्रीका लागि दावी पेस गरेका हुन्।
यसअघि प्रदेश प्रमुखले वैशाख २ गते भित्र मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान् गरेका थिए। सो दिन नागरिक उन्मुक्ती पार्टीबाट दुुई जनाले स्पष्ट बहुुमत आफूूसंग भएको भन्दै मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए।
उन्मुक्ती पार्टी संरक्षक रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरी र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले बहुुमत रहेको भन्दै मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।
लक्ष्मणकिशोरले नेपाली कांग्रेसका १८, नेकपा एकीकृत समाजवादीका ४, राप्रपाका १ र नागरिक उन्मुक्तिका ४ जनाको सर्मथन रहेको भन्दै दाबी पेस गरेका थिए।
त्यसैगरी कैलाशले नेकपा एमालेका १०, नेकपा माओवादीका १०, स्वतन्त्र १ र नागरिक उन्मुक्ति ७ जना सासंदको सर्मथन आफूसंग भएको भन्दै मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए।
सो दिन एकै पार्टीबाट दुई जनाको दाबी पेस परेको भन्दै प्रदेश प्रमुखले अध्यन गर्ने भदै दुई दिनको समय दिएका थिए। मंगलबार नेकपा एकीकृत समाजवादी पार्टीले उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीलाई दिएको सर्मथन फिर्ता लिएको थियो।
ती दुवै दावी पेसमा स्पष्ट सर्मथन कसैसंग पनि नदेखिएको भन्दै प्रदेश प्रमुखले पुनः मुख्यमन्त्रीका लागि दाबी पेस गर्न दुई दिनको समय दिएका थिए।
सत्ता गठबन्धनभित्र रहेको दल एमालेले मुख्यमन्त्रीमा पात्र बदल्नुपर्ने बताएपनि अन्ततः सोडारीलाई नै समर्थन गरेको छ।
सोडारीले बिहीबार नै शपथ लिने तयारी छ।