नेपालले कतारलाई दुईवटा हात्ती उपहार दिन लागेको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको भ्रमणका क्रममा नेपाल सरकारले चितवन राष्ट्रिय निकुञ्जका दुईवटा हात्तीहरू उपहार दिन खोजेको हो।
तर आवश्यक प्रकृयाहरू पुरा नभएका कारण अहिले नै हात्ती उपहार दिने सम्झौता हुने सम्भावना भने कम छ।
हात्ती दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस) को अनुसूचीमा सूचीकृत छ। दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार नियन्त्रण र नियमन गर्न तयार पारिएको अन्तर्राष्ट्रिय महासन्धिमा नेपालले हस्ताक्षर गरेको छ। त्यसैले साइटिसमा सूचीकृत वन्यजन्तु तथा वनस्पतिलाई एक देशबाट अर्को देशमा लैजान साइटिस सचिवालयको स्वीकृति चाहिन्छ।
वन तथा वातावरण मन्त्रालयका प्रवक्ता बद्रिराज ढुंगानाले नेपालबाट हात्तीहरू कतार पठाउनका लागि साइटिस सचिवालयले स्वीकृति दिइनसकेको बताए।
‘कतारबाट नेपालसँग हात्ती माग भएको पहिलेदेखि नै हो। नेपालका सरकार प्रमुखको दुईवटा भ्रमणका क्रममा कतारले हात्तीको माग गरेको थियो। तर हात्ती साइटिसको अनुसूचीमा सूचीकृत भएकाले अर्को देशमा पठाउने प्रकृया लामो छ,’ उनले भने, ‘अझै पनि हस्तान्तरण भएर त्यहाँसम्म पुग्न केही समय लाग्ने देखिएको छ।’
ढुंगानाकाअनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कतारको सम्बन्धित निकायसँग 'एमओयू' गर्ने भनेर ड्राफ्ट तयार पारेर परराष्ट्र मन्त्रालय पठाइसकिएको थियो। तर कतारको साइटिस व्यवस्थापन निकायले साइटिस सचिवालयबाट स्वीकृति लिइनसकेकाले तत्काल 'एमओयू' हुने संभावना नरहेको उनले बताए।
नेपालले पठाउन खोजको हात्तीहरूको पहिचान भने भइसकेको प्रवक्ता ढुंगानाले बताए। ‘पहिचान गर्नुअघि हात्ती लगेर राख्ने ठाउँको अवस्था कस्तो छ, अनुकूल छ कि छैन भनेर चितवन निकुञ्जका पशु चिकित्सकसहितको टोली त्यहाँ पुगेर अध्ययन गरेको थियो,’ उनले भने, ‘हात्तीलाई चितवनदेखि काठमाठौं हुँदै कतारसम्म पुर्याउन कन्टेनर तयार पार्नुपर्यो। जहाज पनि त्यसलाई हालेर लैजान मिल्ने हुनुपर्यो। सबै कुरा मिलेपछि पठाउने हो।’
कतार पठाउन पहिचान गरिएका हात्तीहरू नेपालमा नियमित आइरहने कतार एयरलाइन्सको जहाजमा नअटाउने भएकाले कसरी पठाउने भन्ने विषयमा पनि छलफल भइरहेको छ। ‘राजा आएको बेलामा जारी हुने प्रेस नोटमा हात्ती दिने कुरा समावेश हुनसक्छ। एमओयू हुने सम्भावना असाध्यै कम छ,’ ढुंगानाले भने।
नेपालले रूद्रकली र खगेन्द्रप्रसाद नामका हात्तीहरूलाई कतार पठाउने तयारी गरेको छ।
रूद्रकली साढे ५ वर्षको हात्ती हो। पूजाकलीले जन्माएको यो हात्तीको दरबन्दी निकुञ्जको कछुवानी पोष्टमा थियो। पूजाकलीको केही वर्ष पहिले मृत्यु भएको थियो। खगेन्द्र प्रसाद खगेन्द्रमल्ली पोष्टमा जन्मिएर अहिले हात्ती प्रजनन् केन्द्रमा हुर्किरहेको छ। ऊ कोशी कलीको साढे ४ वर्षे छावा हो।
हात्ती प्रजनन् केन्द्रमा रहेको विवरणअनुसार यी दुवै हात्तीको बाबु ‘रोनाल्डो’ हो। रोनाल्डो चितवन राष्ट्रिय निकुञ्जभित्र बस्ने जंगली हात्ती हो। साठीको दशक सुरूतिर चितवन निकुञ्जमा देखिएको यो हात्तीको रजगज अहिले झनै बढेको छ। निकुञ्जमा बढी देखापर्ने अन्य दुई भाले हात्ती ध्रुवे र गोविन्देभन्दा ठूलो र बलियो रोनाल्डो हात्ती प्रजनन् केन्द्र खोरसोरमा हरेक दिनजसो आइरहन्छ। रोनाल्डोलाई हेर्न धेरै पर्यटकहरू खोरसोर पुग्छन्।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले दुईवटा हात्ती कतारलाई दिन आवश्यक तयारी भएको बताए।
‘हामीलाई पत्र नै त आइसकेको छैन। तर कतारलाई दुईवटा हात्ती दिनेबारे जानकारी आएको छ। त्यहीअनुसार हात्तीहरू छनोट गरेका छौं,’ उनले भने, ‘आधिकारिक पत्र प्राप्त भएपछि पठाउने हो।’
चितवन राष्ट्रिय निकुञ्जको खोरसोरमा नेपाल सरकारको हात्ती प्रजनन् केन्द्र छ। यो केन्द्रले हात्तीहरूको प्रजनन् गर्ने, छावाहरूलाई हुर्काउने र तालिम दिने काम गर्छ। यहाँबाट तालिम प्राप्त गरेका हात्तीहरूलाई आवश्यकताअनुसार विभिन्न निकुञ्ज तथा पोष्टहरूमा खटाइन्छ।
केन्द्रका प्रमुख मनपुरन चौधरीले कतारलाई दिने भनिएका हात्तीहरूलाई आवश्यक पर्ने सबै तालिमहरू दिइएको बताए। ‘हात्तीहरूको नापजाँच गर्ने काम भइसकेको छ। कतारका राजदूत पनि हेर्न आउनुभएको थियो। कार्गोका मान्छे पनि हेर्न आउनुभयो,’ चौधरीले भने, ‘पठाउनु भनेपछि हामी पठाइहाल्छौं।’
हात्तीसँगै माउते, फनेत र पछुवा पनि पठाउने तयारी भएको छ।
निकुञ्जका वरिष्ठ पशु चिकित्सक विजयकुमार श्रेष्ठसहितको टोलीले केही महिनाअघि कतार पुगेर हात्ती राख्न खोजिएको चिडियाखानाको अवलोकन गरेको थियो। श्रेष्ठले चिडियाखाना हात्ती राख्नका लागि उपयुक्त देखिएको बताए।
‘चिडियाखानालाई वातानुकूल बनाइराख्न एसीको व्यवस्था गरिएको रहेछ। पौडी खेल्ने ठाउँसहित ठूलो क्षेत्रफलमा रहेकाले हात्तीलाई विचरण गर्न पनि मिल्ने खालको छ,’ उनले भने, ‘अन्य धेरै वन्यजन्तु पनि त्यहाँ राम्रोसँग रहिरहेका छन्। त्यसैले यहाँबाट पठाएको हात्तीको स्वास्थ्यका लागि चिन्ता मान्नुपर्ने अवस्था देखिएन।’
नेपालले विगतमा पनि विभिन्न देशहरूलाई वन्यजन्तु तथा अखेटोपहारहरू उपहार दिने गर्दथ्यो। तर हात्ती उपहार दिन लागेको भने पहिलो पटक हो।
यसअघि नेपालले विभिन्न देशलाई गरेर २६ वटा एक सिंगे गैंडा उपहार दिइसकेको छ। त्यस्तै १० वटा घडियाल गोही, ६० वटा घडियाल गोहीका अण्डा, ६० वटा मगर गोहीका अण्डा, एउटा ब्वाँसो र दुइटा चितुवा उपहार दिएको थियो।
नेपालले सबैभन्दा पहिले सन् १९८५ मा भारतको दुदुवा राष्ट्रिय निकुञ्जलाई चारवटा गैंडा उपहार दिएको थियो। त्यसपछि सन् १९८७ मा पहिलो पटक अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनलाई २ वटा र अमेरिकाको नेशनल जुलजिकल पार्कलाई २ वटा गैंडा उपहार पठायो।
सन् १९९० मा जर्मनीलाई एउटा, सिंगापुर र अमेरिकालाई २/२ वटा गैंडा उपहार दिइयो। सन् १९९३ मा बंगलादेशलाई २ र जर्मनीलाई एउटा, सन् १९९८ मा बेलायतलाई २ वटा, सन् २००२ मा जापानलाई २ वटा गैंडा उपहार दिइयो। सन् २००६ मा अष्ट्रियालाई २ वटा, सन् २०१८ मा चीनलाई दुई पटकमा गरेर चारवटा गैंडा उपहार दिइएको थियो।
नेपालले सन् १९९० मा जर्मनीलाई २ वटा घडियाल गोही उपहार दियो। सन् २००० मा फ्रान्सलाई ६ वटा र भुटानलाई २ वटा घडियाल गोही पठाएको थियो। सन् १९९४ र १९९५ मा जापानलाई ३०/३० वटा घडियाल र मगर गोहीका अण्डा पठाइएको थियो।
सन् १९९२ मा जापानलाई एउटा ब्वाँसो र सन् १९९८ मा साउदी अरेबियालाई २ वटा चितुवा उपहार पठाइएको थियो।
नेपालले अधिकांश वन्यजन्तु चिडियाखानामा राख्नका लागि उपहार दिएको पाइन्छ।
सन् १९८७ देखि २००२ सम्म विभिन्न देशहरूलाई पाटे बाघ, घडियाल गोही, काठे भालु, चितुवा, गौर, खर मजुर, जरायोको अखेटोपहार पठाएको तथ्यांक राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागसँग छ।
राणाकालमा नेपालका वन्यजन्तु तथा अखेटोपहारहरू विदेशीलाई उपहार दिनु सामान्य मानिन्थ्यो। राजा महेन्द्रको शासन कालसम्म पनि विभिन्न देशका प्रमुखहरूलाई नेपालका वनहरूमा सिकारमा सहभागी बनाउने चलन थियो। उनीहरूलाई अखेटोपहारहरू दिएर खुसी पार्ने गरिन्थ्यो।
नेपाल एकीकरणका क्रममा सिम्रौनगढलाई आफ्नो बनाउँदा राजा पृथ्वीनारायण शाहले तत्कालीन अंग्रेज शासकलाई प्रत्येक वर्ष ७ वटा हात्ती दिने सम्झौता गरेका इतिहास पनि भेटिन्छ। नेपालको राजदरबार मातहतको जाँचबुझ केन्द्र विभागले २०४२ सालमा तयार पारेको हात्ती व्यवस्थापन योजना तर्जुमा प्रतिवेदनकाअनुसार मकवानपुरको विजयले पर्सादेखि महोत्तरीसम्मको इलाका गोरखा राज्यमा गाभिए तापनि कम्पनी सरकारले तराईको भूभाग छोडेको थिएन। मालपोत कम्पनी सरकारले उठाइरहेका थिए। सीमानाको विवाद सुल्झाउन पृथ्वीनारायण शाहले मकवानपुरका दिवान सत्यधरका छोरा दीननाथ उपाध्यायलाई आफ्नो प्रतिनिधि दरभङ्गा पठाए। दीनानाथ र कम्पनी सरकारका बीच भएको वार्तापछि कम्पनी सरकाले तराईको भूभाग पृथ्वीनारायण शाहलाई दिन स्वीकार गर्यो। यसको बदलामा वर्षको ७ वटा हात्ती शाहले कम्पनी सरकारलाई बुझाउनुपर्ने भयो।
हरेक वर्ष इष्ट इन्डिया कम्पनीलाई हात्ती दिनुपर्ने भएपछि जंगली हात्तीलाई समातेर पालुवा बनाउनेक्रम बढेर गएको देखिन्छ।