राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको सम्मानमा मंगलबार साँझ रात्रिभोज आयोजना गरेका छन्।
सो अवसरमा विविध सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो।
रात्रिभोजमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति थियो। त्यस्तै प्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्रीहरू, उपप्रधानमन्त्री, मन्त्री, सांसद, उद्योगपति एवं विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको पनि सहभागिता थियो।
कतारका अमिर अल थानी राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा मंगलबारै अपराह्न त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए।
राष्ट्रपति पौडेलले विमानस्थलको अतिविशिष्ट कक्षमा उनको स्वागत गरेका थिए।
कतारका अमिर विमानस्थलबाट राष्ट्रपति भवन शीतल निवास पुगेका थिए।
शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरसहितको प्रतिनिधि मण्डलबीच द्विपक्षीय भेटवार्ता भएको थियो।
बुधबार दुई देशका प्रतिनिधि मण्डलस्तरीय भेटवार्ताको कार्यक्रम छ।