इलाम—२ को उपचुनावअन्तर्गत् जारी मत गणनामा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन्।
मतान्तर बढाउँदै लगेका नेम्वाङले फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ को गणना सकिँदा ७ हजार ३३ मत प्राप्त गरेका छन्।
उनलाई नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ५ हजार १ सय ९ मत ल्याएर पछ्याइरहेका छन्।
एमाले र कांग्रेसका उम्मेदवारबीचको मतान्तर एक हजार ९ सय २४ छ।
तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले तीन हजार ५ सय १३ मत प्राप्त गरेका छन्।
चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन योङहाङ लिम्बूले एक हजार १ सय २ मत पुर्याएका छन्। एकीकृत समाजवादीका उम्मेदवार जीतबहादुर राईले २ सय ३५ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लक्ष्मी गुरूङले ४३ मत ल्याएका छन्।
अहिलेसम्म १७ हजार ३७५ मत सदर भएको छ। त्यस्तै २१७ मत बदर भएको छ।
इलाम २ मा शनिबार उपनिर्वाचन भएको थियो। यहाँ एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेकामा ६९ हजार दुई सय ८७ जनाले शनिबार मतदान गरेका थिए।
२०७९ मा भएको प्रतिनिधि सभा चुनावमा इलाम २ मा एमाले उम्मेदवार सुवास नेम्वाङले ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए। त्यस बेला खड्का तत्कालीन सत्ता गठबन्धनबाट साझा उम्मेदवार थिए।