इलाम-२ मा आइतबार दिउँसोदेखि मतगणना जारी छ।
अहिलेसम्म २२ हजार हाराहारी मत गणना भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
मतगणनाको झण्डै २० घन्टा पूरा हुँदा २२ हजार हाराहारी मत गणना भएको इलाम २ मा सोमबार भने गणक टोली थप्ने तयारी भएको छ।
‘हिजोदेखि दुई ठाउँमा गणना भइरहेको छ’, सहायक निर्वाचन अधिकृत इन्द्र श्रेष्ठले भने, ‘अहिले दलहरूसँग सल्लाह गरेर थप एक ठाउँ थप्ने तयारी छ।’
श्रेष्ठका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय सकेसुम्म छिटो गणनाा सक्ने योजनामा छ।
‘अहिले पनि द्रूत गतिमै गणना भइरहेको छ’, उनले भने, ‘अझै एउटा टोली थप्नेबारे छलफल गरेर निर्णयमा पुग्छौं।’
१ लाख १५ हजार ८८९ जना कुल मतदाता भएको इलाम २ मा शनिबार भएको मतदानमा ६९ हजार २८७ मत खसेको थियो। त्यसमध्ये २२ हजार हाराहारी मत गणना भइसकेको छ। अझै पनि ४७ हजारभन्दा बढी मत गणना हुनै बाँकी छ।
‘दलहरु सहमत हुनुभयो र टोली थपियो भने आज राति १०–११ बजेसम्ममा गणना सकिन्छ भन्ने हाम्रो ठहर छ’, श्रेष्ठले भने, ‘अहिलेकै टोलीले मात्रै गणना गरिरहने हो भने आज रातैभरि लाग्नसक्छ।’
अहिलेसम्म फाकफोकथुम, चुलाचुली गाउँपालिका पूरै र माङसेबुङ गाउँपालिकाको वडा नम्बर १ को मत गणना गर्दा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले २६१८ मतले अग्रता लिएका छन्। नेम्वाङले ८८९८ मत ल्याएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ६२८० मत ल्याएका छन्। तेस्रो स्थानमा रहेका मुढा चुनाव चिह्न भएका डकेन्द्रसिंह थेगिमले ४६३४ मत ल्याएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा छ। रास्वपाका उम्मेदवार मिलन योङहाङ लिम्बूले १३०५ मत ल्याएका छन्। इलाम–२ मा १९ जना प्रतिस्पर्धी मैदानमा छन्। चार उम्मेदवारबाहेक अरूले नगण्य मत प्राप्त गरेका छन्।
एकीकृत समाजवादीका जीतबहादुर राईले अहिलेसम्म २४० मत प्राप्त गरेका छन्। जनमत पार्टीको प्रेमकुमार थाम्सुहाङले ५४ मत प्राप्त गरेका छन्।
इलाम–२ मा अहिलेसम्म २१ हजार ८१० सदर मत गणना भएको छ।
इलाम–२ मा शनिबार उपनिर्वाचन भएको थियो। यहाँ एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेकामा ६९ हजार २८७ जनाले शनिबार मतदान गरेका थिए।
२०७९ मा भएको प्रतिनिधि सभा चुनावमा इलाम २ मा एमाले उम्मेदवार सुवास नेम्वाङले ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए। त्यस बेला खड्का तत्कालीन सत्ता गठबन्धनबाट साझा उम्मेदवार थिए।
एमाले नेता सुवास नेम्वाङको निधन भएपछि वैशाख १५ गते इलाम २ मा उपनिर्वाचन भएको थियो।