नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम सरकारमा थप एक जना मन्त्री पठाएको छ।
नाउपाकी सांसद टीका थापा मंगलबार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री नियुक्त भएकी हुन्। उनलाई प्रदेश प्रमुख नजिर मियाँले शपथ गराएका छन्।
उनले पदभार ग्रहण गरिसकेकी छन्।
नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम संसदीय दल नेता दीर्घबहादुर सोडारी मुख्यमन्त्री बनेपछि नाउपाबाट २ जना मन्त्री बनेका थिए। सोडारीले वैशाख ६ गते मुख्यमन्त्रीको शपथ लिएका थिए।
नाउपाका सांसद कैलाश चौधरी भौतिक पूर्वाधार विकास मन्त्री बनेका थिए। मुख्यमन्त्री सोडारीको शपथका दिन मन्त्रालय नतोके मन्त्रीको शपथ नलिने भन्दै नाउपाका सांसदले बाहिरिने चेतावनी दिएका थिए। त्यसपछि चौधरीले शपथ लिए भने सांसद थापा बाहिरिएकी थिइन्।
गत चैत २२ गते नेपाली कांग्रेसका कमलबहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि प्रदेश प्रमुख मियाँले नयाँ सरकार गठनका लागि दलहरुलाई वैशाख २ गते बेलुका ५ बजेसम्म समय दिएका थिए।
यो अवधिमा नाउपाभित्र विवादका कारण संरक्षक रेशम चौधरी पक्षबाट लक्ष्मणकिशोर चौधरीले पाँच जना र अध्यक्ष रन्जिता श्रेष्ठ पक्षबाट कैलाश चाधैरीले दुई जना सांसदको साथ पाएर मुख्यमन्त्रीमा दाबी गरेका थिए।
एकै पार्टीबाट दुई जनाले मुख्यमन्त्री दाबी गरेपछि प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्तिमा समय लाग्ने बताएका थिए।
यही बीचमा एकीकृत समाजवादीले लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको थियो। पछि प्रदेश प्रमुख मियाँले वैशाख ६ गते बेलुका पाँच बजेसम्म सरकार गठनको लागि दाबी पेश गर्न फेरि समय दिएका थिए।
वैशाख ६ गते सोडारीले सत्ता गठबन्धनका तर्फबाट मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। नेकपा (एमाले), माओवादी केन्द्र, नागरिक उन्मुक्ति र एकजना स्वतन्त्र सांसदको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका थिए।
कांग्रेसको साथ पाएको नाउपाभित्र रेशम पक्षका सांसद लक्ष्मणकिशोरले प्रदेश प्रमुख मियाँले मुख्यमन्त्री नियुक्त गर्दा संविधान विपरीत काम गरेको भन्दै सर्वोच्चमा रिट पनि दिएका छन्।
उन्मुक्तिले पाउनै लागेका मुख्यमन्त्री पद आन्तरिक विवादका कारण गुमाएपछि उसको आलोचना भएको थियो।
अध्यक्ष श्रेष्ठ र संरक्षक चौधरीबीच संवाद पनि हुन सकेको थिएन।
पछिल्लो सातामा भने उनीहरुबीच सम्बन्ध सुधार भएको देखिन्छ। रेशमले सामाजिक सञ्जाल फेसबुकमा पार्टीको विवाद अब सकिएको र सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने भनेका थिए।
रेशमले सो कुरा सार्वजनिक गरेको तीन दिनपछि नाउपाले सांसद थापालाई मन्त्रीमा पठाएको छ। यहाँ माओवादीले भने अहिलेसम्म मन्त्रीको नाम दिएको छैन।
मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने तयारी गरिरहेका छन्।