२२ वर्षकी रोजी पुन मगर १८ महिनाका छोरासँग खेल्दै थिइन्। छोरा कहिले उनको कपाल तान्थे, कहिले पिठ्यूँमा चढ्थे।
रोजी छोराकै सुरमा ताल मिलाइरहेकी थिइन्।
दायाँ-बायाँ सारै भिड हुन्छ त्यसैले उनले छोरा नसुतुन्जेल आँखा झिमिक्क बनाउन पाउँदिनन्।
'आफ्नो कोठा होइन, सडकमा बस्नुपर्ने भएकाले बच्चाको अझै ध्यान दिनुपर्ने रहेछ,' उनले भनिन्।
उनी सडकमा बस्न थालेको बिहीबार (आज) १४ दिन भयो। दिनभर उनी सडकमै हुन्छिन् राति भने कहिलेकाहीँ बस्छिन्। बच्चा साथमा भएकाले उनलाई राति सडकमा बस्न डर लाग्छ।
हामी मंगलबार बिहान १० बजे जाँदा उनी सडकमै भेटिएकी थिइन्।
त्यो दिन उनी त्यही बसेकी रहेछिन्। शान्तिवाटिका पार्क नजिकैको गणेश मन्दिरको प्राङ्गणमा म्याट ओछ्याइएको छ। घामपानीबाट जोगिन त्रिपाल टाँगिएको छ। एक दुई वटा सिरक र केही सिरानी पनि छन् त्यहाँ।
रोजीमात्र होइन, चौबीसै घन्टा बस्ने ४/५ जना छन्। दिउँसो विभिन्न व्यक्तिहरू साथ दिन आए पनि साँझ आफ्नो घर फर्किन्छन्। उनीहरू भने रातसाँझ नभनी त्यहीँ बसेका छन्।
रूसी सेनामा भर्ना भएका आफन्तको खोजी तथा उद्धारका लागि सरकारले बेवास्ता गरेको भन्दै दबाब दिन बसेका समूहमा रोजी पनि मिसिएकी हुन्।
रोजीका श्रीमान भुवन पुन गत असोजमा रूस उडेका थिए। तर २७ दिनमा सम्पर्कविहीन भए।
श्रीमान रूस जान लागेको कुरा रोजीलाई थाहा थियो। तर आफूलाई त्यहाँ युद्ध भइरहेकोबारे जानकारी नभएको उनी बताउँछिन्।
'श्रीमानले त्यहाँ पुगेपछि मात्र युद्धको बारेमा मलाई बताउनुभएको थियो,' उनले भनिन्, '२०/२५ दिनमा उहाँलाई पनि युद्धमा लगेको थियो। त्यसपछि सम्पर्क हुन सकेको छैन।'
उनका अनुसार सम्पर्कविहीन भएको चार महिनापछि फागुन ७ गते श्रीमानका साथीहरूले भुवनको मृत्यु भएको खबर सुनाएका थिए। अहिलेसम्म सरकारले पुष्टि गरेको छैन।
'अन्तरमनले श्रीमान सकुशल हुनुहुन्छ भन्छ। जिउँदो भए सास चाहियो, नभए लास चाहियो भनेर बसेकी हुँ,' उनले भनिन्।
उनीजस्ता अरू पनि पीडितका परिवार अहिले सरकारसँग आफन्तको अवस्थाबारे बुझिदिन सरकारसँग आग्रह गरिरहेका छन्।
रूसी सेनामा गएका पीडितहरू 'रूसी सेनामा आबद्ध नेपालीको जीवन रक्षा अभियान' चलाएर एकजुट भएका हुन्।
उनीहरूले दुई/तीन महिनादेखि सरकारसँग आफन्तहरूको उद्धार गरिदिन आग्रह गर्दै आएका छन्। सरकारले यसमा कुनै चासो नदेखाएपछि सडकमा बस्न बाध्य भएको उनीहरू बताउँछन्।
सरकारको ध्यानाकर्षण गराउनका यस अभियानमा पीडितहरूलाई एकमुष्ट जोड्ने काम गरेकी कृतु भण्डारी र अन्य दुई जना पीडित वैशाख ६ गतेदेखि अनसन बसेका छन्।
उनीहरू सुरूआती दिनमा माइतीघरमा बसेका थिए। त्यहाँ प्रहरीले बस्न नदिने भनेपछि ७ दिन भृकुटीमण्डमा बसे। त्यहाँबाट पनि प्रहरीले हटाएपछि भने उनीहरू यतिबेला शान्तिवाटिका पार्क गणेश मन्दिरको छेउमा बसेका छन्।
हामीले अनसन बसेकाहरूसँग कुरा गरेका छौं-
३७ वर्षीया सिरानी घर्तीमगर अनसन बसेकी बुधबार १३ दिन भयो।
उनका श्रीमान माइतमान घर्तीमगर गत कात्तिकमा रूस गएका थिए।
'त्यहाँ पुगेपछि कुराकानी भइरहेको थियो तर १५/२० दिनमा सम्पर्कविहीन हुनुभयो,' उनले भनिन्।
त्यसको १ महिनापछि मात्रै श्रीमान सम्पर्कमा आएको सिरानीले बताइन्।
एक्कासि गायब भएका माइतमानलाई युद्धमा लगिएको रहेछ।
'१ महिनापछि कुरा हुँदा उहाँ आत्तिनुभएको थियो। जसरी भए पनि नेपाल झिकाउन भनिरहनुभएको थियो,' सिरानीले सम्झिइन्।
माइतमानलाई फेरि युद्धमा जानुपर्छ भन्ने पिर छ। अघिल्लोपटक भाग्यले बाँचेको फेरि जानुपरे फर्किन्नँ कि! भन्ने डर छ। श्रीमतीलाई हरेक दिन यही सुनाउँछन्।
'मैले चाहेर पनि फर्काउन सक्दिनँ। त्यसैले सरकारको सहयोग चाहियो,' सिरानी भन्छिन्, 'जहिले फोन गरेर छिट्टो उद्धार गर फेरि युद्धमा गए भने बाँच्छु-बाँच्दिनँ भनेर रूनुहुन्छ।'
माइतमानले बताएअनुसार अहिले जंगलमा राखेर उनीहरूलाई सैनिक तालिम दिइरहेको छ। आदेश आउनासाथ युद्धमा जानुपर्छ। श्रीमान अर्को युद्धमा जानुअघि नै सरकारले उनलाई स्वदेश फर्काइदेओस् भन्ने सिरानीको चाहना छ।
पूर्वी रूकुमको पुथा उत्तरगंगा गाउँपालिका-२ मा उनको घर हो। छोराछोरीलाई पढाउनका लागि अहिले उनका परिवार दाङमा बस्छन्।
रूस पुग्नुअघि माइतमान दुबईमा सुरक्षागार्डको काम गर्थे। त्यहाँबाटै रूस गएका रहेछन्।
सामाजिक सञ्जाल नचलाउने भएकाले रूसमा युद्ध भइरहेको भन्ने आफूलाई थाहा नभएको सिरानी बताउँछिन्।
'थाहा भएको भए पठाउँदिनँ थिएँ,' उनले भनिन्, 'समाचार मोबाइलमा देखिन्छ भन्ने कुरा भर्खर थाहा हुँदैछ।'
अहिले उनी रूसको बारेमा आउने हरेक समाचार छोराछोरीलाई हेर्न लगाउँछिन्।
सुर्खेत पञ्चपुर नगरपालिका-५ का ४९ वर्षीया किसन थापा अनसन बसेको १४ दिन भयो।
रूस गएका उनका २८ वर्षीय सालो लक्ष्मण विष्ट पाँच महिनादेखि सम्पर्कविहीन छन्।
नेपाल आर्मीको जागिर छोडेर लक्ष्मण तीन वर्षअघि दुबई पुलिसमा गएका थिए। उनी त्यहीँबाट रूस पुगेका थिए। तर पछिल्लो पाँच महिनायता किसनले आफ्नो सालोसँग कुरा गर्न पाएका छैनन्।
'गएको एक महिनासम्म सम्पर्कमा थियो, पाँच महिनादेखि बेपत्ता छन्,' किसनले भने, 'साथीहरूले मृत्यु भएको हल्ला गरिरहेका छन्। तर आधिकारिक पुष्टि भएको छैन। त्यसैले जीवित छन् कि भन्ने आश छ।'
यही समूहमा अनसनरत छिन् कृतु भण्डारी। रूसी सेनामा उनका आफन्त त छैनन् तर त्यहाँ रहेका नेपालीहरूलाई फिर्ता ल्याउने आन्दोलनमा चार पाँच/सात महिनाअघि जोडिएकी हुन्।
त्यसअघि खाडी मुलुकमा अलपत्र परेका नेपाली महिलाहरूलाई उद्धारका लागि पहल गर्दै आएको उनी बताउँछिन्। पाँच/सात महिनाअघि रूस गएर सेनामा भर्ती भएकाहरूका केही परिवारले उनलाई भेटेका थिए।
'अहिले एक हजारभन्दा बढी परिवार सम्पर्कमा हुनुहुन्छ,' उहाँहरूको सहयोगका लागि म पनि जोडिएकी हुँ,' उनले भनिन्।
रूसी सेनामा रहेका व्यक्तिका परिवार दुई/तीन महिनादेखि कहिले सडक, कहिले दूतावास अगाडि प्रदर्शन गर्दै आएका छन्। सडक प्रदर्शनका लागि उत्रिँदा पनि सरकारले चासो नदेखाएपछि अनसन बस्न बाध्य भएको उनीहरूको भनाइ छ।
अनसन बसेको ठाउँमा दैनिक २०/२५ जनाले आएर प्रदर्शन गरेर साथ दिएका छन्। यसरी साथ दिनेमा दैनिक १५/२० जना हुन्छन्। हरेक दिन फरकफरक मानिसहरू आउँछन्।
कन्सुलर सेवा विभागका महानिर्देशक प्रकाशमणि पौडेलका अनुसार बुधबारसम्म रूसी सेनामा आबद्ध भएका व्यक्तिहरूको उद्धारका लागि तीन सय ५ जनाको निवेदन परेको छ।
रूसि सेनमा गएका व्यक्तिहरूले सुरूआती चरणमै एकवर्षको सम्झौता गरेर काम सुरू गर्ने रहेछन्। रसियन सरकारको कानुन एकदम बलियो छ। उनीहरूले समयअवधि नसकिकिन कुनैपनि व्यक्तिलाई बीचमा नछोड्ने रहेछन्।
'केही महिनाअघिसम्म नेपालमा आफन्त बिते वा सिकिस्त बिरामी परेको पत्र पठाउँदा कसै-कसैलाई स्वदेश फिर्ता पठाइदिएका थिए, अब त्यो पनि एकदम कठिन बन्दै गएको देखिन्छ,' उनले भने।
त्यसैले समयअवधि नसिकएका व्यक्तिहरूलाई स्वदेश फर्काउनका लागि जटिल छ। मृत्यु भइसकेका व्यक्तिहरूलाई पनि ल्याउन चर्को शुल्क तिर्नुपर्ने देखिन्छ।
युद्धमा परेर छेदविछेद भएका, कुहिएको शव खोजि गरेर स्वदेश फर्काउन रसियन सरकारले चासो नदेखाएको उनको भनाइ छ।
'छेदविछेद भएका शवहरू ल्याउनुभन्दा उतै जलाएर खरानी ल्याउन सजिलो देखिन्छ। तर यसमा मृतकको परिवार राजी हुनुपर्छ,' उनले भने, 'शव ल्याउन र जीवित उद्दार गर्न दुवै कठिन देखिन्छ।'
सरकारले मृतकको परिवारलाई क्षतिपूर्ति दिलाउनका लागि भने पहल गरिरहेको महानिर्देशक पौडेलले जानकारी दिए।
सबै तस्बिरहरूः नवीनबाबु गुरूङ/सेतोपाटी