राप्रपाले पार्टीकी प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी प्रकरणको छानबिन गर्न सरकारलाई आग्रह गरेको छ।
पार्टीको बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा बस्नेतमाथि सरकारको जिम्मेवार निकायबाट निष्पक्ष छानबिनको माग गर्ने निर्णय भएको उल्लेख छ।
राप्रपा सांसद बस्नेतको कम्पनीबाट सहकारीको रकम अपचलन भएको खबर सञ्चारमाध्यममा सार्वजनिक भएको भन्दै राप्रपाले सो छानबिनमा सहयोग गर्न सांसद बस्नेतलाई पनि निर्देशन दिएको छ।
नवलपुर कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी लगायत संस्थाको रकम अपचलन आरोपमा बस्नेतसहित १४ जनाविरूद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको थियो।
सांसद बस्नेतले आफन्तहरूसँग मिलेर सहकारीको रकम बर्दियामा कृष्णसार रिसोर्ट खोल्न लगानी गरेको आरोप छ। नवलपुर र चितवनका विभिन्न सहकारीको करिब ३० करोड रूपैयाँ सांसद बस्नेतको संरक्षणमा बिनाधितो रिसोर्टमा लगानी गरेको आरोप छ।
राप्रपाले सहकारी प्रकरणमा संलग्न अन्य व्यक्तिहरूमाथि पनि स्वतन्त्र छानबिन गर्न सरकारलाई अनुरोध गरेको छ।