नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा जिल्ला अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन भएका छन्।
नेकपा एमाले पर्सा जिल्लाको नवौं अधिवेशनबाट शर्मा निर्विरोध चयन भएका हुन्। ।
नवौं अधिवेशनमा अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दाबी गरेका थिए।
तर अन्तिम समयमा आएर अध्यक्षका दुई प्रत्यासी जयप्रकाश थारू र हनिफ मियाँले उम्मेदवारी फिर्ता लिएसँगै शर्मा अध्यक्ष चयन भएका हुन्।
पाँच पदाधिकारीसहित १२७ सदस्यका लागि निर्वाचन हुन लागेको हो।
अध्यक्ष पदमा निर्विरोध भए पनि अन्य पदाधिकारी पदमा भने शुक्रबार निर्वाचन हुने कार्यतालिका छ।
एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव पदका लागि भने शुक्रबार मतदान हुने कार्यक्रम रहेको प्रमुख निर्वाचन अधिकृत भोजराज ढकालले बताए। उपाध्यक्ष पदमा लालबाबु शेख र मनोज गुप्ताको उम्मेदवारी परेको छ।
सचिव पदमा महेश दास र नवराज शर्माको उम्मेदवारी परेको छ।
पर्सा जिल्लामा १४ वटा पालिका छन् । तीमध्ये ११ पालिकाबाट जिल्ला सदस्यमा सर्वसम्मत चयन भएका छन् ।
वीरगञ्ज, पर्सौनी र पर्सागढी पालिकाबाट जिल्ला सदस्य पदमा अहिलेसम्म सहमति हुन सकेको छैन।
एमालेको नवौं जिल्ला अधिवेशन सोमबार उद्घाटन भएको थियो। अधिवेशनको मङ्गलबार बन्दसत्र सकिएसँगै निर्वाचन प्रक्रिया अघि बढेको थियो।